नयाँको छैन भर, चल्न पुरानै ब्रान्डको सहारा

लामो समयपछि लय समात्न खोजेको फिल्म उद्योगमा प्रतीक्षित बनेका प्राय: चलचित्र सिरिजका छन् । ‘प्रेम गीत-३, ए मेरो हजुर-४, चपली हाइट-३, म यस्तो गीत गाउँछु-२, परदेशी-२, लप्पन छप्पन-२’ दर्शकको प्रतिक्षामा छन् । पछिल्ला केही वर्षयता नेपाली फिल्म उद्योगमा सिरिजको बाढी नै आएको छ ।
 
उद्योगमा केही निर्माता/निर्देशकले चलचित्रको नाम ब्रान्डका रूपमा स्थापना गरिसकेका छन् । ‘नाइँ नभन्नु ल’ नाम लिएर चलचित्र बनाएका निर्देशक विकाशराज आचार्यको सिरिज यात्रा ५औं सम्म पुगेको छ । उनका सबै सिरिज बक्स अफिसमा हिट छन् ।

पहिलो सिरिजमै ब्लकबस्टर भएको चलचित्र ‘छक्का पन्जा’ चौथो सिरिजको तयारीमा निर्माता दीपकराज गिरी लागेका छन् । दीपकका ‘छक्का पन्जा’ सिरिजका ३ सिनेमा प्रदर्शन भैसकेका छन् । उनका तीनैवटा सिनेमाले राम्राे कमाइ गरे ।
 
‘ए मेरो हजुर’बनेको लामो समयपछि यो चलचित्रको पनि सिरिज सुरु भयो । पहिलो सिरिजमा अभिनय गरेकी झरना दोस्रो सिरिजमा निर्देशक भइन् । उनले ‘ए मेरो हजुर-२’मा सलिनमान बानियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अभिनय गराइन् । तेस्रो सिरिजबाट भने झरनाले आफ्नी छोरी सुहाना थापालाई फिल्म क्षेत्रमा ल्याइन् ।

सुहानाको जोडीकाे रूपमा अनमोल केसी देखिए । ‘ए मेरो हजुर-२’को भन्दा सबै कोणबाट ‘ए मेरो हजुर-३’को चर्चा धेरै भयो । यो सिरिजले बक्स अफिसमा राम्रै कलेक्सन गर्‍याे । ‘ए मेरो हजुर-४’ प्रदर्शनको तयारीमा छ । 

चलचित्र ‘कबड्डी’ले प्रदर्शनताका राम्रो चर्चा पायो । यसपछि निर्देशक रामबाबु गुरुङले  ‘पुरानो डुंगा’ र ‘साइँली’ बनाए । दुबै चलचित्र बक्स अफिसमा असफल भए । रामबाबु पुन ‘कबड्डी’ ब्रान्डकै सहारा लिन पुगे । ‘कबड्डी’को चौथो सिरिजमा पुगेपछि उनले यो सिरिजलाई अन्तिम भनेर घोषणा गरेका छन् । ‘कबड्डीका तीनवटै फिल्म हिट छन् ।

सिक्वेल र सिरिजकै सहारामा चलेका अन्य चलचित्रमा ‘वीर विक्रम’, ‘जात्रा’ र ‘होस्टल’पनि पर्छन् । नामलाई ब्राण्ड बनाएर चलचित्र बनाइरहेका कतिपय मेकर्सहरूले बेलाबेला ट्र्याक चेन्ज गर्ने प्रयास त गरेकै छन् । तर, अर्को नामबाट असफल भएपछि पुरानै नामलाई ब्राण्ड बनाएर चलचित्र बनाउँदै आइरहेका छन् । 

प्रेम गीतपछि ‘मेरी मामु’नामक चलचित्र निर्माण गरेका सन्तोष सेनलाई यो फिल्मले मुनाफा दिएन । ‘मेरी मामु’को असफलतापछि सेन पनि अरू निर्देशकजस्तै ‘प्रेमगीत’कै ब्रान्ड’मा फर्किए । ‘प्रेमगीत’ र ‘प्रेमगीत-२’बाट राम्रै पैसा कमाएका सेन ‘प्रेमगीत-३’को प्रदर्शनको तयारीमा छन् ।
 
चलचित्रको एउटा नाम चलेपछि निर्माता/निर्देशकलाई पछिल्ला चलचित्रको प्रचार गर्न सजिलो भएको छ । चलेको फिल्मको सिरिज बनाउँदा दर्शकले नाम सजिलै नोटिस गर्ने भएपछि धेरैले नामको ब्राण्ड नै स्थापित गरेका छन् । 



सिरिज निर्माण गर्दा अघिल्ला सिरिजभन्दा पछिल्ला बन्ने सिरिज अझै दमदार बन्नु पर्ने हो । दर्शकले पनि सोही अपेक्षा गरेका हुन्छन् । तर,अपेक्षा गरेअनुसार फिल्म बन्न नसकेकाे दर्शकहरूकाे आराेप छ ।

हिट चलचित्र ‘दपर्ण छाया’को सिक्वेलमार्फत् निर्देशक तुलसी घिमिरे फिल्ममा ब्याक हुन खोजे । ‘दर्पण छाया-२’ बनाए । नयाँ कलाकार लिएर सिक्वेल बनाएका घिमिरेलाई दर्शकले पत्याएनन् । फिल्म चल्न सकेन । ‘आँधी तुफान’ नचले पनि मौनता श्रेष्ठले ‘आँधी तुफान-२’ बनाइन । आफ्ना फिल्म हेर्न दर्शकको शून्य उपस्थिति हुँदा पनि निर्देशक जयकिसन बस्नेतले ‘धुम-२’ बनाए । 



केही फिल्मलाई छोडेर हेर्ने हो भने सिरिज कमजोर बन्दै गएका छन् । त्यसैले होला सिरिजमा विश्वास गर्दै आएका निर्देशक/निर्माताहरूले लामो सिरिज यात्रालाई अन्तिम भन्न थालेका छन् ।

सबै चलचित्रका सिरिज हिट पनि भएका छैनन् । कति सिरिज र सिक्वेल त बनेको, हलमा आएको, गएको पनि दर्शकले थाहा पाउँदैनन् । तैपनि निर्माता/निर्देशकहरूले नयाँ ब्राण्ड स्थापित गर्न नसकेपछि पुरानै ब्रान्डको सहारा लिइरहेका छन् ।  

  • प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार ८:२१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया