एमालेसँग सहकार्य गर्न राप्रपालाई ईश्वर पोखरेलको आग्रह

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकार र सत्तारुढ पाँच दलीय गठबन्धनले मुलुकको राष्ट्रिय स्वाभिमानलाई लत्याएको आरोप लगाएका छन् ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली नागरिकको हत्या हुँदासम्म सरकारले चुइँक्क बोल्न नसकेको आरोप लगाए । राष्ट्रियताको मामिलामा वर्तमान सरकारले निर्लज्जताबाहेक अरु केही देखाउन नसकेको उनको दाबी छ । 

बुधबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकताको महाधिवेशनमा बोल्दै उनले राष्ट्र, राष्ट्रियता, समृद्धि र विकासको अभियानमा सबै राजनीतिक दललाई एकताबद्ध हुन पनि आह्वान गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले जुनसुकै विचारधारामा उभिएको भए पनि राजनीतिक दलहरुले राष्ट्रलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने बताए । 

‘वर्तमान सरकार र सत्तारुढ दलहरुले संविधानको पालना गर्ने कुराको मतलव राख्नुपर्दैन । कानुनको बर्खिलापमा गए हुन्छ । जारी भएका विकासका योजनाहरुलाई समाप्त पार्ने कुरा गरे हुन्छ । राष्ट्रिय स्वाभिमान नामको चिजलाई लत्याए हुन्छ,’ उनले भने, ‘यसखालको स्थिति हामीले देखिराखेका छौँ । म यहाँहरुलाई यो महाधिवेशन सफल होस् भनेर शुभकामना दिइरहँदा एउटा निवेदन मैले गर्नै पर्दछ कि हामी राजनीतिक विचारमा जुनसुकै ठाउँमा उभिएको हौँ । एउटा कुरामा हामी सबैको ध्यान जान जरुरी छ । देशभन्दा ठूलो अरु केही हुन सक्दैन । देश हाम्रो लागि सर्वोपरि हो ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको समृद्धि, विकास र स्वाभिमानको रक्षाका लागि आफ्नो पार्टीसँग सहकार्य गरेर अघि बढ्न पनि राप्रपाका नेताहरुलाई आग्रह गरे । उनले आफ्नो पार्टीले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न प्रयास गरिरहेको दाबीसमेत गरे । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १७:४२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया