सभामुख स्वदेश फर्किएलगत्तै न्यायपालिकाको समस्या टुंगो लगाउँछौँ : प्रचण्ड

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अदालतको अवस्था गम्भीर रहेको बताएका छन् । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बुधबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीले दिएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले अदालतको अवस्था गम्भीर रहेको बताएका हुन् । 

उनले नेपालको न्यायालयको कुरा अन्तर्राष्ट्रिय चासोको विषय भएकोले कार्यपालिकाबाट यसको हल हुनुपर्ने बताए । अध्यक्ष दाहालले यो समस्या न्यायपालिकाको मात्रै नभएर समग्र राज्यप्रणालीसँग सम्बन्धित भएकाले समस्या समाधान हुन अब समय नलाग्ने बताए । 

उनले न्यायपालिकाको समस्यालाई राजनीतिक दलले सम्बोधन गर्न सके न्यायपालिकाको गुणात्मक सुधारको प्रक्रिया यही विन्दुबाट सुरु हुने बताउँदै यो विन्दु न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसंगतिको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढंगले जानेगरी अघि बढ्ने बताए । 

अध्यक्ष दाहालले न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी अघि बढ्छ भन्ने कुरा सारा विश्वले हेरिरहेको भन्दै धैर्यताको विन्दुभन्दा टाढा जान नसक्ने प्रस्ट पारे । उनले न्यायपालिकाको समस्या समाधानको कुरा मात्रै नभई यो आन्दोलन ठूलो विसंगति अन्त्य हुनेतिर नेपाल जाने विन्दु हुनसक्ने बताए । 

अध्यक्ष दाहालले भने, ‘अब अहिले धेरै कुरा आए, मैले अहिले सोचिराखेको कार्यपालिकामा हिजो समस्या भयो र हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि लिएर पूर्वन्यायाधीशहरु, कानुन व्यवसायीहरु, पूर्वप्रधानन्यायधीशहरुसँग हामीले झन्डै झन्डै गुहार माग्दै हिँडेको जस्तो स्थिति थियो, हिजो कार्यपालिकामा समस्या देखा पर्दा, हामीलाई त्यहाँबाट ठूलो सहयोग प्राप्त पनि भयो । त्यसले जनमत निर्माणमा पनि अदालतको निर्णयलाई प्रभावित पार्ने हकसम्म पनि सकारात्मक अर्थमा महत्वपूर्ण भूमिका खेलेको अस्ति भर्खरै हो । त्यसकारण म यहाँहरु सबैलाई के भन्न चाहन्छु भने हामीले बिर्सियौँ कि भन्ने नठानियोस् ।’

राजनीतिक दलले न्यायक्षेत्रले लगाएको गुनको पैँचो तिर्नुपर्ने उल्लेख गर्दै दाहालले भने, ‘कार्यपालिकाले तपाईंहरुले जुन गुन लगाउनुभएको छ, त्यसको ऋण हामीले तिर्नुपर्छ ।’ राजनीतिक दलहरु कानमा तेल हालेर बसेका हुन् कि भन्ने लाग्नु स्वाभाविक रहेको उल्लेख गर्दै उनले भने, ‘तपाईंहरुले जति बेलादेखि उठाएर आन्दोलित हुनुभयो, त्यतिबेलादेखि नै गठबन्धनभित्र यो छलफल भएको छ । यो अहिले मात्रै रामचन्द्रजीको अध्यक्षतामा बसेको बैठकमा मात्रै छलफल भएको छ, त्योभन्दा पहिला नभएको पनि होइन ।’ 



अध्यक्ष दाहालले अहिले सभामुख बाहिर गएको र सभामुख स्वदेश फर्किएलगत्तै बैठक बसेर न्यायपालिकाको समस्या समाधान गर्ने बताए । 



  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार १७:५४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया