मन्त्रीको गुनासो – राष्ट्रसेवकले राष्ट्रै बुझेनन्
‘मनचिन्ते सोचले ग्रसित भएर थिचिँदा थिचिँदा काम गर्न नसक्ने भएकालार्इ हात जोडेर बिदा गरिन्छ’

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले खटाएको ठाउँमा जान नखोज्ने राष्ट्रसेवक कर्मचारीको प्रवृत्तिले समस्या निम्त्याएको बताएका छन् । कर्मचारीले नेपाल नै नबुझेको उनको गुनासो छ ।

ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको ३३औँ आधारभूत प्रशासन प्रशिक्षण सुभारम्भ समारोहको उद्घाटन गर्दै मन्त्री पण्डितले कर्मचारीतन्त्रमा नेपाल भनेको काठमाडौं मात्रै बुझ्ने प्रवृत्ति रहेको बताए ।

‘धेरै राष्ट्रसेवकले नेपाल बुझेनन् । किनभने, नेपाल के बुझे भने काठमाडौं हो, म जहाँ छु त्यही नै नेपाल हो भन्ने बुझे,’ मन्त्री पण्डितले गुनासो पोखे ।

 उनले अगाडि भने,  ‘प्रदेश नम्बर एकमा केही समयअघि एकजना सचिवलाई पठाइएको थियो । बिहान प्लेनमा जानुभो, हाजिर गर्नुभो र भरे प्लेनमै फर्किनुभो । अनि मलाई आएर भन्नुभो– म तीन घण्टा काम गरेर आएँ, अब सरुवा मिलाइदिनुपर्‍यो ।’यस्ता राष्ट्रसेवक देख्दा आफूलाई घृणा लाग्ने मन्त्री पण्डितको कथन छ ।

कर्म कता छ, त्यतै जाने मात्र कर्मचारी हुने मन्त्री पण्डितको बझाइ छ । कर्मचारीले काम गर्नभन्दा विदेश घुम्न मात्र खोज्ने गरेको र विदेशमा सिकेको ज्ञान नेपाल आएपछि कमै मात्र प्रयोग गर्ने गरेको उनले बताए ।

सरकारले कर्मचारीको वृत्तिविकास नरोकिने गरी समायोजनको तयारी गरेको भन्दै मन्त्री पण्डितले जानेको र सक्ने काम आफैँ गर्न र नपन्छाउन कर्मचारीहरूलाई आग्रह गरे ।



कर्मचारीहरूले हाजिरसमेत नगर्ने गरेको उल्लेख गर्दै उनले कर्मचारी अभाव स्वयं कर्मचारीले सिर्जना गरेको आरोप लगाए । 

सरकार भौगोलिक विकटतालाई हेरेर कर्मचारी समायोजनको तयारीमा रहेको मन्त्री पण्डितले बताए । तैपनि, मनोवृत्ति बिग्रेका कर्मचारी काठमाडौंजत्तिकै सेवा र सुविधा भएको हेटौँडामा पनि जान नमानेकोमा भने उनी चिन्तित देखिन्थे ।



मनचिन्ते सोचले ग्रसित भएर काम गर्न नसकेका कर्मचारीलाई बिदा गर्न सरकार तयार रहेको पनि मन्त्री पण्डितले उल्लेख गरे ।  ‘मनचिन्ते सोचले ग्रसित भएर थिचिँदा थिचिँदा काम गर्न नसक्ने भएकालार्इ हात जोडेर बिदा गरिन्छ,’ उनले भने ।

  • प्रकाशित मिति : मंसिर ३, २०७५ साेमबार १६:५८:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया