संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन अझै आवश्यक : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफूहरु लागिपरेको बताएकी छिन् । 

नेकपा माओवादी केन्द्रको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी माओवादीकै प्रयासबाट संविधान बनेकाले त्यसको कार्यान्वयनमा पनि माओवादी नै लागिपर्ने बताए ।  

मन्त्री श्रेष्ठले महिला, दलित सुकुमवासी, मुक्त हलिया, कमैया र कमलरीको समस्या समाधान गरेर तल्लो तहमा रहेका नागरिकलाई अधिकार सम्पन्न बनाउनु नै आफ्नो पार्टीको उद्देश्य रहेकाले आफूले मन्त्रालय सम्हालेपछि उनीहरुका पक्षमा काम सुरु गरिसकेको पनि बताए । 
 
मन्त्री श्रेष्ठले जनता अधिकारसम्पन्न भएको मन नपराउनेले संविधान र संघीयतामाथि हमला गरेर संविधानलाई नै मृत्यु शय्यामा पुर्याउने गरी प्रतिनिधिसभा विघटन गरेको भन्दै माओवादी केन्द्रको नेतृत्वमा पाँच दल र नागरिकको साथबाट संविधान जोगाउन सकिएको भएपनि चुनौती अझै रहेकाले त्यसतर्फ सबै सचेत बन्नुपर्ने बताए । 
  
संविधान मास्ने प्रतिगामी तत्त्वहरु अझै जीवितै रहेकाले संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनको अझै आवश्यकता रहेको पनि मन्त्री श्रेष्ठले बताए । 

मन्त्री श्रेष्ठले यस महिनाभित्र सप्तरी र नवलपरासीमा तथा पुस महिनाभित्रमा अधिकाश ठाउँमा लालपुर्जा वितरणको काम सम्पन्न गरिसक्ने गरी आफूले काम सुरु गरिसकेको बताइन् । 

मन्त्री श्रेष्ठले संविधानमा व्यवस्था भएको पैतृक सम्पत्तिमा महिलाको हक सुनिश्चित गर्न अंशबन्डा गर्दा महिलालाई अनिवार्य उपस्थित गराउनुपर्ने व्यवस्था कार्यान्वयन गर्न देशभरका मालपोत कार्यालयमा व्यवस्था गरिसकिएको पनि जानकारी दिइन् ।  

उक्त कार्यक्रममा नेकपा एमाले र नेपाली कांग्रेस परित्याग गरी आएका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै मन्त्री श्रेष्ठले पार्टीले जनपक्षीय काम गरिरहेकै कारण माओवादी केन्द्रप्रति जनताको आकर्षण बढिरहेको पनि बताइन् । 





  • प्रकाशित मिति : मंसिर १५, २०७८ बुधबार २०:३८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया