नेपाली कांग्रेसको प्रदेश–२ उपसभापति पदका लागि प्रफुल्लराज घिमिरेले उम्मेदवारी घोषणा गरेका छन् ।
बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उपसभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । घिमिरेले विमलेन्द्र निधिको समूहबाट उपसभापति पदमा उम्मेदवारी दिने बताए ।
उनले आफू २०३५ सालदेखि नेपाल विद्यार्थी संघबाट कांग्रेसमा आफ्नो राजनीतिक यात्राको सुरुवात गरेको बताए । घिमिरेले पछिल्लो ४३ वर्षदेखि आफू राजनीतिमा लागेको र पटकपटक जेल यातना भोगेको पनि स्मरण गराए ।
उनी जनकपुरधामस्थित राराब क्याम्पसको स्ववियु उपसभापति, तत्कालिन जिल्ला विकास समितिको इलाका नं. १३ संयोजक, कांग्रेस जनकपुर नगर समितिको सदस्य सचिव भइसकेका छन् । साथै, घिमिरेले तरुण दलको जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।
घिमिरेले संगठनभित्रको विकृति विसंगतिलाई हटाउन र कांग्रेसलाई समावेशिताको सिद्धान्तको आधारमा विधिविधानमा मात्र सीमित नगरेर व्यवहारमा लागू गराउन अहम भूमिका निर्वाह गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।