छात्राले साइकल पाएनन्, तर ढुवानी खर्चका नाममा ३-३ सय असुलियो

धनुषाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकले विद्यार्थीसँग अवैध रूपमा रकम असुलेको पाइएको छ ।

जिल्लाको मिथिला विहारी नगरपालिका वडा नम्बर–३ मिथिलेश्वर मौवाहीस्थित श्री मिथिलेश्वर माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थीसँग प्रधानाध्यापक लालबाबु यादवले अवैध रूपमा रकम असुलेका हुन् ।

प्रदेश २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत सामुदायिक विद्यालयमा निःशुल्क रूपमा साइकल पाउनुपर्नेमा सो विद्यालयका प्रधानाध्यापक यादवले साइकल वितरण नै नगरी ७ महिनाअघि ५३ जना छात्राको अभिभावकसँग प्रतिव्यक्ति ३ सय रुपैयाँ असुलेका छन् ।

विद्यालयले त्यसबापत आफूहरूलाई कुनै रसिद नदिएको कक्षा ९ मा अध्ययनरत छात्रा प्रिति कुमारी दासले बताइन् ।

उनले भनिन्, ‘प्रधानाध्यापक यादवले साइकलबापत छात्रासँग ३ सय रुपैयाँ लिएको ७ महिना भइसक्यो । तर, अहिलेसम्म हामीलाई साइकल दिनुभएको छैन ।’



त्यस्तै, सोही कक्षामा अध्ययनरत सुहाना खातुनका अनुसार उनी कक्षा ८ मा पढिरहेकै बेला प्रधानाध्यापक यादवले साइकल दिने भन्दै प्रतिविद्यार्थी ३ सय रुपैयाँ लिएका थिए । 'हामी अहिले कक्षा ९ मा आइसक्दासमेत साइकल पाएका छैनौँ’ उनले भनिन् ।

विद्यालयद्वारा विद्यार्थीलाई दिने गरिएको दिवा खाजामा पनि व्यापक अनियमितता देखिएको विद्यार्थीको गुनासो छ । कक्षा ३ मा अध्ययनरत विद्यार्थीले आफूहरूलाई विद्यालयले दिवा खाजामा बासी खिचडी दिने गरेको बताएका छन् । आफूहरूले सो खिचडी खाँदा वान्तासमते भएको विद्यार्थीको गुनासो छ ।



कक्षा ३ मा अध्ययनरत छात्र हामिद राइनले शिक्षकशिक्षिका आफैँ ताजा खाजा पकाएर खानेगरे पनि विद्यार्थीलाई भने बासी खाजा खुवाइरहेको बताए । ‘३ घण्टी पढाएर नै विद्यालयमा छुट्टी भइहाल्छ,’ उनले भने, 'विद्यालयमा पढाइ पनि राम्ररी हुँदैन ।'

विद्यालयका प्रधानाध्यापक यादवले विद्यालयमा समय–समयमा आफ्नो मनोमानी गर्दै आएको स्थानीय संजय ठाकुरको आरोप छ । उनले प्रधानाध्यापक यादवले विद्यालयमा पठनपाठन नगराई राजनीति गर्ने अखडा बनाएको र विद्यार्थीको भविष्यसँग खोलवाड गर्ने प्रवृत्ति उनमा हावी भएको आरोप लगाए ।

विद्यालयलाई राजनीतिको अखडा बनाइ शिक्षाको स्तर धरासायी बनाएका उनले विगत ५ वर्षदेखि स्कुलको हरहिसाबसमेत हालसम्म विभिन्न बहाना र विभिन्न राजनीतिक संरक्षणका कारण पारदर्शी नगरेको संजयको आरोप छ ।

गाउँका भद्रभलाद्मीले विगत ५ वर्षदेखि हरहिसाब माग्दा उनले पटकपटक समय मात्र दिने गरेको र दबाब बढाएपछि गत असोज ११ गते लिखित सम्झौताअनुसार कात्तिक २३ गते सम्पूर्ण हरहिसाब सार्वजनिक गर्ने प्रतिबद्धता जनाए पनि कात्तिक ५ गते वार्षिक प्रतिवेदन मात्र प्रस्तुत गरेको ठाकुरले बताए ।

त्यसपश्चात उनको विरोध गर्दा उनले दुई दिनभित्र हरहिसाब सार्वजनिक गर्ने बताए पनि पछि एक महिनासम्म बिरामी बिदा लिएर घर बसेको संजयले बताए । बिरामी बिदा लिएर घर बसेका प्रधानाध्यापक यादव कात्तिक महिनाभर गायब भएको उनको गुनासो छ ।

उनको क्रियाकलापदेखि रुष्ट बनेका केही शिक्षकलाई उनका समर्थक शिक्षकहरूले अभिभावकलाई धाक धम्की र दबाबसमेत दिएको बताइएको छ । विद्यालयमा करिव १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् ।

यस सम्बन्धमा प्रधानाध्यापक यादवले मुख्यमन्त्री कार्यालयबाट विद्यालयका लागि अहिलेसम्म साइकल उपलब्ध नगराइएको बताए । उनले विद्यालयलाई अन्य कुनै आम्दानीको स्रोत नरहेकोले आपसी सहमतिकै आधारमा छात्राको अभिभावकसँग साइकल ढुवानी खर्चको नाममा प्रतिविद्यार्थी ३ सय रुपैयाँ लिएको स्वीकार गरेका छन् । बासी खाजाको बारेमा आफूलाई कुनै जानकारी नरहेको भन्दै उनी पन्छिन खोजेका छन् ।

प्रदेश सरकारले खरिद गरेको साइकलमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले गत असोज १३ गते मुख्यमन्त्री कार्यालयमा छापासमेत गरेको थियो । ‌अख्तियारको टोलीले साइकल खरिदको फाइल नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १४:३०:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया