'अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ'

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार सदा प्रतिबद्ध रहेको बताएका छन् ।

अपांगता भएका व्यक्तिहरूको ३० औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको समान पहुँच स्थापित गर्न सरकारले काम गर्दै आएको उल्लेख गरेका छन् । 

अपांगतामैत्री संरचना, अपांगता समावेशी नीति कानुन, पहुँचयुक्त सूचना प्रविधि, विशेष सामाजिक सुरक्षा, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता, राजनीतिक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन् ।

३ डिसेम्बरका दिन मनाइने यस दिवसको अन्तर्राष्ट्रिय नारा ‘लिडर एन्ड पार्टिसिपेसन अफ पर्सन विथ डिसाबिलिटिज टुवार्ड एन इन्क्लुसिभ एक्सेसिबल एन्ड सस्टेनेबल पोस्ट कोभिड १९ वल्र्ड’ छ । नेपालमा ‘हाम्रो प्राथमिकताको आधार, अपांगता भएका व्यक्तिको अधिकार’ नाराका साथ यो दिवस मनाउन लागिएको छ ।

कोभिड – १९ र त्यसपछि सिर्जित समस्याका कारण अपांगता भएका व्यक्तिहरुको  दैनिक जीवन अत्यन्तै कठिनपूर्ण रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यस्तो परिस्थितिमा स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता आधारभूत विषयमा पहुँच बढाउन जरुरी रहेको बताए ।

सन्देशमा उल्लेख छ, ‘अपांगता भएका  व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि २००६, नेपालको संविधान र अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४  मा उल्लेखित अधिकार कार्यान्वयनका लागि प्रदेशस्तरमा बन्ने नीति, ऐन, नियम, कार्यक्रम तथा योजनामा अपांगता क्षेत्रको सहभागिताका गण्डकी सरकार प्रतिबद्ध छ ।’



यस प्रदेशमा अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि क्रमिक रूपमा काम भइरहेको मुख्यमन्त्रीको भनाइ छ । अपांगताको सवाल कुनै खास मन्त्रालय वा कार्यालयको मात्र नभई विकासको  एक प्रमुख र साझा सवालका रूपमा स्वीकार गरी उनीहरूलाई विकासको मूलप्रवाहमा समावेश गराउन पहुँचयुक्त वातावरणको निर्माण गर्नु पर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिएका छन् । गण्डकी प्रदेशमा अपांगता अधिकारसम्बन्धी नीतिको मस्यौदा भएर जारी हुने अन्तिम चरणमा रहेको उनले उल्लेख गरे ।



  • प्रकाशित मिति : मंसिर १७, २०७८ शुक्रबार १४:३९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया