चीनले गोप्य रूपमा हाइपरसोनिक मिसाइलको परीक्षण गरेपछि पछिल्ला साताहरूमा अमेरिकाको चिन्ता ह्वात्तै बढेको छ । त्यसो त चीनले हाफूले हाइपरसोनिक मिसाइल परीक्षण नगरेको दाबी गर्दै आएको छ । तर पश्चिमा राष्ट्र यसलाई मान्न तयार छैनन् ।
पश्चिमा राष्ट्रको दाबीअनुसार रुसपछि चीनले हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरेको हो। हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिकालाई चीन र रुसले उछिनेका छन् । यसैले अमेरिकाको चिन्ता बढाएको हो ।
के हो हाइपरसोनिक मिसाइल ?
हाइपरसोनिक मिसाइल विकास हुनुअघि दुई मिसाइल थिए- क्रुज र ब्यालेस्टिक । क्रुज मिसाइल पृथ्वीको सतहबाट नजिकको दूरीमा प्रहार गरिन्छ । ब्यालेस्टिक मिसाइल भने वायुमण्डलबाट बाहिर हुँदै हजारौं किलोमिटर टाढासम्म प्रहार गर्न सकिन्छ ।
तेस्रो प्रकारको मिसाइल हो- हाइपरसोनिक ।
एउटा मिसाइललाई लक्षित स्थानमा निशाना लगाउन र दुस्मनले थाहा नपाउने गरी हावामा आफ्नो गति नियन्त्रण गर्न जरुरी हुन्छ । आधुनिक हाइपरसोनिक मिसाइल यस्तो गर्न सक्षम छ ।
म्यसाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ता डाक्टर लारा गेग्रो भन्छन्, ‘एरोडायनामिक फोर्सको प्रयोाग गरेर हाइपरसोनिक मिसाइले आफ्नो बाटो बदल्न सक्छ । यसको आकार खास तरिकाले डिजाइन गरिएको हुन्छ ताकि वायुमण्डलमा एकदमै तीव्र गतिमा जाँदा पनि तल-माथि र दायाँबाँया गर्न सकोस् ।’
अमेरिकी चिन्ता
अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले बुधबार हाइपरसोनिक मिसाइलपछि चीन लाग्दा विश्वमा तनाव बढेको टिप्पणी गरेका छन् । उनले चीनबाट हुनसक्ने जस्तोसुकै सम्भावित खतराको सामना गर्न अमेरिका तयार रहेको समेत बताए ।
दक्षिण कोरियासँगको सुरक्षा बैठकमा सहभागी हुन सियोल पुगेका अस्टिनले चीन र उत्तर कोरियाका कारण उत्पन्न तनावले विश्वलाई चिन्तित बनाएको दाबी गरे । चीन र उत्तर कोरिया दुवै धेरै शक्तिशाली हतियार बनाउने होडबाजीमा लागेको आरोप अमेरिकाको छ । उत्तर कोरियाले बारम्बार मिसाइल परिक्षण गरिरहेको छ ।
पछिल्लो समय चीनले गरेको मिसाइल परीक्षणले सारा विश्वलाई नै चकित पारिदिएको छ । रकेटले विश्वलाई एक फन्को मारेर लक्ष्यलाई निशाना बनाउन सफल बन्यो । यही परिक्षणबाट अमेरिका चिन्तित छ ।
‘चीनले जुन सैन्य क्षमता विकास गरिरहेको छ त्यसलाई लिएर हामी चिन्तित छौं । किनकि यस क्षेत्रमा तनाव उत्पन्न गर्नेछ,’ अस्टिनले भने ।
चीनले सैन्य क्षमता विस्तार गरेका कारण आफूहरूले पनि नयाँ हतियारको विकास गर्नु परेको तर्क उनको छ । ‘हामी आफ्नो र हाम्रा सहयोगीको रक्षाको लागि सैन्य क्षमता बढाउने कार्यलाई निरन्तरता दिन्छौं र चीनबाट हुनसक्ने जुनसुकै किसिमको खतराको सामना गर्न तयार रहन्छौं’, उनले भनेका छन् ।
अमेरिका पनि बनाइरहेको छ हाइपरसोनिक मिसाइल
अमेरिकाले पनि हाइपरसोनिक मिसाइल विकास गरिसकेको छ । चीन र रुसले जस्तो सफलता हात पार्न भने सकेको छैन । तर उसको प्रयास जारी छ । गत महिना अमेरिकी सेनाको जोइन्ट चिफ अफ स्टाफ जनरल मार्क मिलेले यसको पुष्टि गरेका थिए ।
उनले अमेरिकाले कस्तो हाइपरसोनिक मिसाइल बनाइरहेको छ भन्ने बारे पूर्ण जानकारी नदिए पनि दुस्मनले थाहा पाउन नसक्ने खालको मिसाइलको विकास भइरहेको संकेत गरेका थिए।
उनले चीनले जस्तो शक्तिशाली हाइपरसोनिक मिसाइलको परीक्षण अमेरिकाले हालसम्म गर्न नसकेको भने स्वीकारेका थिए ।
रुसले सोमबार मात्र हाइपरसोनिक क्रुज मिसाइलको परीक्षण गरेको थियो । यसको क्षमता ४०० किलोमिटर रहेको रुसले जनाएको छ । जिरकान सिरिजको यो मिसाइलले आवाजको गतिभन्दा नौगुना बढी गतिमा लक्ष्यमा प्रहार गर्ने क्षमता राख्छ ।
जानकारहरूका अनुसार अमेरिका यसकारण बढी चिन्तित छ कि हतियारको होडबाजीमा आफू चीन र रुसभन्दा पछि पर्न नपरोस् ।
उत्तर कोरियासँग कूटनीतिक वार्ता गर्न तयार
अमेरिकी रक्षामन्त्री अस्टिनले निरन्तर मिसाइल परीक्षण गरिरहेको उत्तर कोरियासँग कूटनीतिक वार्तामार्फत् समस्या समाधान गर्न तयार रहेको बताएका छन् । उनका अनुसार उत्तर कोरियालाई निशस्त्रीकरणतर्फ अघि बढाउन कूटनीतिमा वार्ता गर्न अमेरिका तयार रहेको छ ।
उत्तर कोरियाले मिसाइल निर्माण गर्दा क्षेत्रीय सुरक्षामा अस्थिरता आउने दाबी अमेरिकाको छ । तर अमेरिकाले बारम्बार चेतावनी र प्रतिबन्ध लगाउँदा पनि उत्तर कोरियाले मिसाइल परीक्षण गर्न भने छोडेको छैन ।
दक्षिण कोरियाका रक्षामन्त्री सु वुकले समेत मिसाइल परीक्षण रोक्न उत्तर कोरियासँग आफूहरू वार्ता गर्न तयार रहेको बताएका छन् । कोरिया प्रयाद्विपमा स्थायी शान्तिको लागि उत्तर कोरिया-दक्षिण कोरिया र उत्तर कोरिया-अमेरिकाबीच भएका प्रतिबद्धतालाई बुझ्न जरुरी रहेको उनले औंल्याएका छन् ।
हाइपरसोनिक हतियारको होडबाजीमा अन्य देश पनि
चीन, रुस र अमेरिका मात्र होइन, हाइपरसोनिक मिसाइल निर्माणको होडबाजीमा विश्वका अन्य राष्ट्र पनि छन् । फ्रान्स, भारत, जापान र अस्ट्रेलियाले पनि हाइपरसोनिक मिसाइल विकास गर्न काम गरिरहेका छन् ।
तर हाइपरसोनिक मिसाइल निर्माण गर्ने सबैभन्दा आधुनिक प्रविधि भने चीन, रुस र अमेरिकासँग रहेको छ ।
‘अहिले विश्वका शक्ति राष्ट्र सैन्य प्रविधिका मामिलामा अन्यभन्दा अगाडि जाने होडबाजीमा छन्,’ युनिभर्सिटी अफ हैम्बर्गको इन्स्टिच्युट फर पिस रिसर्च एण्ड सेक्युरिटी पोलिसीकी अनुसन्धानकर्ता डाक्टर मरीना फवारोले भनिन् ।
चीनले आफूलाई प्रविधिको क्षेत्रमा अमेरिकाको बराबरीमा रहेको पुष्टि गरिसकेको उनको बुझाइ छ।
हतियारको प्रतिस्पर्धा यस्तो हुन्छ एउटाले नयाँ हतियार बनाउने बित्तिकै अर्कोले त्यस्तै वा त्योभन्दा अझ शक्तिशाली बनाउने प्रयास गर्छ । अमेरिका हाइपरसोनिक मिसाइल निर्माणपछि लाग्नु प्रमुख कारण पनि यही हो ।
रुस र चीनले हाइपरसोनिक प्रविधि विकास गर्नुको कारण छ । उनीहरूलाई चिन्ता छ- यदि युद्ध भैहालेमा अमेरिकी रक्षा प्रणालीले परम्परागत मिसाइल आक्रमणलाई असफल बनाइदिने छ । यसैकारण उनीहरू अमेरिकाभन्दा अघि निस्कन चाहेका छन् ।
कूटनीति, तनाव र हतियार
परमाणु आक्रमणको खतरालाई कम गर्न शीतयुद्धको बेला अमेरिका र रुसबीच कयौं सम्झौता भएका थिए । ती सम्झौतामध्ये धेरै समाप्त भइसकेका छन् भने अन्तिम सम्झौताको म्याद सन् २०२६ मा सकिँदैछ । चीनसँग भने अमेरिकाको यसप्रकारको कुनै सम्झौता भएको छैन ।
स्टेनफोर्ड युनिभर्सिटीको सेन्टर फर इन्टरनेसनल सेक्युरिटी एण्ड कोअप्रेसनकी अनुसन्धानकर्ता डाक्टर क्यारुन ट्रेसीका अनुसार हाइपरसोनिक मिसाइलले शक्ति राष्ट्रबीच थप तनाव सृजना गरेको छ ।
‘हामीसँग प्रमाणहरू छन् जसले शक्तिराष्ट्रहरू हतियारको होडबाजीमा लागेको स्पष्ट देखाउँछ र उनीहरूबीच यसले भविष्यमा तनाव बढाउन सक्छ । हाइपरसोनिक मिसाइलको कारणले मात्र यो तनाव भने आउने छैन,’ ट्रेसीले भनिन् ।
वर्तमान अवस्थामा भने नयाँ मिसाइल प्रविधिले अमेरिका र चीनलाई युद्धतर्फ भन्दा तनाव बढाउने तर्फ अघि बढाएको छ । तर यो अवस्थामा फेरिन सक्छ ।
‘यदि अर्को देशको सीमामा लगेर हाइपरसोनिक मिसाइलसहितको सेना तैनाथ गरियो भने तनाव बढ्न सक्छ । यो भनेको आक्रमणको लागि धम्की दिएजस्तो हो तर आक्रमण नै भने होइन,’ उनले भनिन् ।
(बिबिसीबाट साभार)
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।