बागमतीमा भागबन्डा मिलाउन जम्बो क्याबिनेट

बागमती प्रदेश सरकारले जम्बो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । प्रदेश सरकारमा सहभागी भएको वाम लोकतान्त्रिक गठबन्धनका नेताहरूमा मन्त्री बन्ने महत्वाकांक्षा बढेसँगै मन्त्रालय फुटाएर प्रदेश सरकारले जम्बो टोली तयार गर्न लागेको हो ।

हाल रहेको ८ मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा पुर्‍याउन लागिएको छ ।  मंसिर १५ गतेको मन्त्रिपरिषद्को निणर्यअनुसार मन्त्रालय थप गरी राजपत्रमा सूचनासमेत प्रकाशन गरिएको छ ।  

हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाएको छ । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई गठबन्धन भित्रका दलहरुलाई भागबन्डा मिलाउन मन्त्रालय थप गरिएको हो ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा बागमती प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस सहभागी छ । 

पाण्डे नेतृत्वको प्रदेश सरकारको आन्तरिक ममिला तथा कानुनमन्त्रीमा कृष्ण खनाल, आर्थिक ममिला तथा योजनामन्त्रीमा शालिकराम जम्कट्टेल र स्वास्थ्यमन्त्रीमा निमा लामा, सामाजिक विकासमन्त्रीमा कुमारी मुक्तान छिन् । 



हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय रहेका थिए । यसअघि अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित ८ मन्त्रालय बनाएको थियो ।



  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १०:५४:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया