नेपाली सांगीतिक क्षेत्रमा रामकृष्ण ढकाललाई चिनाउन धेरै शब्द खर्चिनु आवश्यक छैन । सानैदेखि गायनमा लागेका ढकालका दर्जनाैं कालजयी गीत नै उनका परिचय हुन् । उनै गायक ढकालको यस्तो छ जीवनशैली...
आफूले सुन्दै, हेर्दै, पढ्दै आएको मानिसको जीवनशैली ठ्याक्क मिलेको भए अरू पनि इन्स्पाएर हुन्थे होला । मेरो जीवनशैली त्यसरी ठ्याक्कै मिलेको छैन । कामको प्रकृति अनुसार मेरो जीवनशैली परिवर्तन भैरहेको हुन्छ ।
धेरै त काम विशेषले राति अबेरसम्म बाहिरै बस्नुपर्छ । काममा ननिस्किएको दिन अर्कै कुरा हो । काममा गएको दिन चाँडै हुँदा पनि अक्सर ११ साढे ११ बज्छ सुत्नलाई । राति ढिलै सुत्दा पनि बिहान ७ देखि साढे ७ बजेसम्म उठिसकेको हुन्छु ।
बिहान एक गिलास मन तातो पानी खाएपछि कहिलेकाहीँ हट लेमन खान्छु । बिहानै कफी खानु राम्रो होइन भन्छन् । तैपनि धेरैजसो कफी खान्छु । कोल्ड ड्रिङ्स मन पराउँदिनँ । साथीभाइसँगको हरेक भेटमा कफी खान्छु । मेरो शरीरमा कफीको मात्रा अलि धेरै होला । दिनमा कम्तीमा पनि १० कप कफी खाइन्छ होला ।
बाहिर दूध हालेको चिया खाँदिन । कहिलेकाहीँ आफ्नै किचनमा बनाएर खान्छु । कफीमा जस्तो धेरै रुचि छैन दूध चियामा । बिहान कफी र ब्रेकफास्ट खाएपछि जिम जान्छु । बिहानको समयमा नभ्याउँदा बेलुका पनि जाने गरेको छु । अहिले भर्खर अमेरिकाबाट सांगीतिक कार्यक्रम सकेर फर्किएकाले सबै कुरा नियमित लयमा फर्किन सकेको छैन । त्यसैले अहिले घरमै अभ्यास गर्छु ।
अण्डा प्राय: नछुट्ने खानेकुरामा पर्छ । फलफूलमा केरा मेरो किचनमा प्राय: छुट्दैन । स्याउ खानु स्वास्थ्यका हिसाबले राम्रो भन्छन्, मलाई भने त्यत्ति मन पर्दैन । खानामा नेपाली खाना मन पराउँछु । मासु धेरै खान सक्दिनँ तर, नछुटोस् भन्ने लाग्छ । धेरै दिनमा खाँदा पनि मासु २-४ पिस खाएपछि पुग्छ । खाना थोरै खान्छु, तर मिठो खानुपर्छ ।
हिजोआज मेरो समय किचनमा पनि बितिरहेको हुन्छ । मैले सबैभन्दा मिठो बनाउने खसीको मासु हो । गोलभेडाको अचार, भुटेको आलु र चिकेन पनि आफूले पकाएको मन पर्छ मलाई । स्वाद मान्छेअनुसार फरक हुन्छ होला । ग्रुपमा बसेर खान पनि मन पर्छ ।
केही समय विभिन्न खाले समाचार हेरेर बिताउँछु । समाचारकै लागि भनेर टेलिभिजन, रेडियो खोल्नुपर्ने समय छैन । धेरै कुरा फेसबुकमै आइरहेका हुन्छन् । तीनै समाचारलाई डेप्थमा जान्न मन लाग्यो भने अनलाइन पोर्टलहरूमा खोजेर पढ्छु । पहिलेबाटै किताब धेरै पढ्ने बानी लागेन । तर, आफूलाई मन पर्ने लेखकका किताब किनेर पढ्छु । आफू कलाकार भएर होला कलाकारकै किताब अलि बढी पढेको छु । पढेको मध्ये हरि दाइको ‘चिना हराएको मान्छे’ र मदन दाइको ‘महको म’ मन परेका पुस्तक हुन् ।
मोबाइलमा अलि धेरै समय बितिरहेको हुन्छ । हिजोआज आफूले गाउनुपर्ने गीत पनि मोबाइलमै आइरहेको हुन्छ । अरूले गाएका, भिडियो बनाएका गीत पनि प्राय: मोबाइलमा नै हेर्ने भएकाले पनि मोबाइलमा अलि धेरै समय व्यतित हुन्छ ।
दिउँसोको समयमा प्राय: मिटिङ परिरहेको हुन्छ । पहिलाजस्तो दिनमै धेरै संख्यामा गाउने गीत हुँदैनन् । केही मात्रामा रेकर्ड हुने गीत पनि प्राय: दिउँसोको समयमै रेकर्ड भइरहेका हुन्छन् । साथीभाइसँग भेट्न, कफी खान, उनीहरूसँग गफ गर्न रमाइलो लाग्छ । म प्राय: मन मिल्ने साथीहरूसँग भेटिरहको हुन्छु । मैले भेटिरहने साथीमा डिजे राजु र राजेश राई दाइ हुन् । उनीहरूसँग भेट भएको बेलामा बाहिर गएर खानभन्दा पनि आफ्नै किचनमा नेपाली खाना बनाएर खान मन पर्छ ।
एक समय थियो- मलाई क्रिज लाएको पाइन्ट खुब मन पर्दथ्याे । डिङ्गो बुट पनि धेरै लगाएँ । बिस्तारै उमेर र समयअनुसार रोजाइ पनि फरक हुँदो रहेछ । एक समय फर्मल ड्रेस मन पर्दथ्याे । केही समय अघिसम्म जिन्स लगाउँथे । अहिले मलाई इनफर्मल ड्रेस मन पर्छ । जाडोको बेस्ट लुगा हुडी हो मेरो । स्पोर्ट्स सुज लगाउँछु । कार्यक्रममा जाँदा कार्यक्रमको नेचर अनुसारको पहिरन गरिन्छ त्यो अर्कै पाटो भयो । कोट लगाउँदा बानी नपरेका दिदीबहिनीलाई सारी भारी भएजस्तै हुन्छ । घरबाट निस्कँदा मोबाइल र पर्स छुट्दैन ।
नियमित ड्रिङ्क्स गर्ने बानी छैन । ड्रिङ्क्स गर्दै नगर्ने पनि होइन । घुम्न असाध्यै मन पर्छ । सांगीतिक कार्यक्रमको सिलसिलामा देश तथा विदेशका थुप्रै ठाउँ पुगेको छु । विश्वका धेरै देश घुमेको छु । जहाँ पुगे पनि आफ्नै देशको प्राकृतिक सौन्दर्यले मन हुरुक्क बनाउँछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।