कांग्रेसको आन्तरिक निर्वाचन खर्चिलो र भड्किलो

सुदूरपश्चिम कांग्रेस प्रदेश अधिवेशनले धनगढीको माहोल तातेको छ । सहमतिमा हुने भनिएको प्रदेश कांग्रेस कार्यसमितिको निर्वाचन अन्तिममा शनिबार निर्वाचन भयो । शनिबार एक दिन उम्मेदवाहरुले मतदानकै क्रममा प्रचारप्रचारलाई निरन्तरता दिए । निर्वाचन भएको धनगढीको निर्माण व्यवसायी संघको भवन वरपरको गल्ली दिनभर बन्द नै रह्यो । शनिबार साँझ सम्पन्न भएको मतदान ९ बजेपछि मात्र मत गणना हुने जनाइएको छ ।

निर्वाचनमा को उम्मेदवार हुने भन्ने टुंगो शुक्रबार साँझ मात्र लागेपछि उम्मेदवारहरुले एक दिन मात्र प्रचारप्रचार गर्ने समय पाए । त्यही एक दिन पनि मतदान भइरहेको समयमै । मतदान भइरहको वरपरको क्षेत्र यस्तो लाग्थ्यो कि कतै यहाँ आम निर्वाचन त भइरहेको छैन ।

काग्रेसको आन्तरिक निर्वाचनमा भएको तडकभड देखेर सबैलाई अच्चमित बनाएको छ । उम्मेदवारी दर्ता शुल्क नै बढी उठाएको भन्दै चर्चा भइरहेको वेला प्रचारप्रचार गर्ने शैली झन् खर्चिला देखिएका छन् । पार्टीको आस्थाभन्दा पनि पैसाको राजनीति भएको भन्दै कांग्रेसका कार्यकर्ता चिन्तित छन् । ‘अब राजनीति गर्नका लागि सामान्य व्यक्तिले आँट गर्न सक्दैनन्’, मतदानका लागि आएका एक प्रतिनिधि भन्दै थिए, ‘विचारको राजनीतिको अब अन्त्य भइसक्यो । पैसाको राजनीति सुरु भएको छ ।’ उनले कांग्रेसमा मात्र नभएर अन्य एमाले, माओवादीमा पनि यो प्रवृत्ति देखिएको बताए । 

कांग्रेसको प्रचार गर्ने शैली यस्तो थियो कि मानौँ उनीहरु विपक्षी दलसँग निर्वाचन लड्दै छन् । झण्डै ५ वर्षअघि स्थानीय, प्रदेश र संघीय निर्वाचनमा विपक्षीसँग लड्दा जुन ऊर्जा कांग्रेसले बोकेको थियो, त्यो भन्दा थप ऊर्जा आफ्नै पार्टीका नेता–कार्यकर्तालाई हराउन र जिताउनमा कांग्रेसी कार्यकर्ताले समय खर्चेकामा पुराना पुस्ताका कांग्रेसका नेता चिन्तित छन् । 

कञ्चनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित महाधिवेशन प्रतिनिधि टीकाराम बैज पार्टीका आन्तरिक निर्वाचन सामान्य व्यक्ति राजनीतिमा आउन सक्ने अवस्था नभएको बताउँछन् । ‘मेरै निर्वाचन क्षेत्रमा पैसा नहुँदा केही साथी प्रतिनिधिमा नआउने स्थिति भएपछि हामीले सबै मिलर ल्याउने अवस्था आयो,’ बैजले भने । ‘त्यसले गर्दा आस्था र विचारको राजनीति गर्नेहरुलाई गाह्रो भएको छ । पार्टी नेतृत्वले सोच्ने वेला भएको छ ।’ 

२०३३ सालदेखि निरन्तर कांग्रेसको क्रियाशील सदस्य रहेका उनले यसअघि आन्तरिक अधिवेशन कहिल्यै यस्तो खर्चिलो नभएको बताए । ‘पहिला साथीहरु एक–अर्कोप्रति सहानभूति दिने गर्थे, अहिले वडादेखि नै प्यानल खडा भएका छन्,’ उनले भने, ‘११ हजार मनोनयनमै तिर्नुपरेको अवस्था छ । कहाँ बाट आउँछ पैसा ?’ उनले यसरी निर्वाचनमा हुने खर्चले देशमा झनै भ्रष्ट्राचार बढाउने बताए ।



कांग्रेसमा अब पैसा नहुनेले निर्वाचनमा भाग लिन सक्ने अवस्था नभएको उनको बुझाइ छ । आफूले अहिलेसम्म आन्तरिक निर्वाचनमा पोस्टरसमेत नटाँसेको उनी सुनाउँछन् । पार्टी नेता, कार्यकर्तामा अनुशासनका कमी भएकामा उनलाई चिन्ता छ । 

सुदूरपश्चिम अधिवेशन उद्घाटन कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य एवं कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले आन्तरिक प्रतिस्पर्धामा कसैको पनि हार–जित नहुने बताएका थिए । उनले कम्युनिस्टलाई पराजित गरेपछि मात्र कांग्रेसको जित हुने बताए ।  ‘हाम्रो यो आन्तरिक प्रतिस्पर्धा हो, कसैको हार र जितको रूपमा लिने होइन, जित्ने भनेको प्रतिस्पर्धीलाई हो, आउने चुनावमा कम्युनिस्टहरूलाई पराजित गर्ने हो, कांग्रेसले त्यतिबेला जित्नेछ,’ उनले भने । 



सांगठनिक प्रक्रियाका लागि नेतृत्व चयन गर्नुपर्ने भए पनि यसलाई बुझाउन नसक्दा समस्या आएको उनको बुझाइ थियो । मन्त्री बडूले जतिसुकै आदर्शको कुरा गरे पनि व्यवहारमा पैसाको खोलो बग्ने गरेको छ । 

सुदूरपश्चिम प्रदेश सभा सांसद समेत रहेका कांग्रेस नेता भरत खड्का ठूलो पार्टी भएकाले धेरैको आशा पदमा हुनु स्वाभाविक भएको बताउँछन् । तर, आन्तरिक नेतृत्व चयनलाई पेचिलो हुने गरी व्यवहार प्रदर्शन गर्न नहुने उनको सुझाब छ । विपक्षीसँग लड्नका लागि आन्तरिक निर्वाचनले थप बलियो बनाउने गरी गतिविधि गर्नुपर्ने उनको राय छ । 

५ वर्षपछि भएको वडादेखि केन्द्रमा भइरहेको अहिलेको आन्तरिक निर्वाचनले नजिकै आएको स्थानीय तहको निर्वाचामा असर पैदा गर्ने हो कि भन्ने चिन्ता कांग्रेसका पुराना नेतामा छ ।

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार १८:४९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया