के भीम रावललाई स्थायी कमिटीमा ल्याउलान् ओलीले ?

नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी भीम रावलले अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भए । अध्यक्षमा पराजित भएका रावल केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । तर, उनले केन्द्रीय सदस्यको सपथ लिएनन्, केन्द्रीय सदस्यमा आफू निर्वाचित भए पनि आफूले केन्द्रीय सदस्यको सपथ नलिने त्यसअघि नै बताएका थिए ।

केही दिनअघि फरकधारसँग कुराकानी गर्दै रावलले अहिले आफूले महाधिवेशनको समीक्षा गरिरहेको र अब के गर्ने भन्ने विषयमा यो समीक्षा सकिएपछि मात्र मुड बनाउने बताएका थिए ।

एकातिर रावल महाधिवेशनको समीक्षा गरिरहेका छन् भने अर्कोतिर ओलीले पार्टीको भावी रणनीति बनाइरहेका छन् । अब केही दिनमा नै बस्ने यो महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी, पार्टीको पोलिटब्यूरो र विभिन्न आयोगहरुलाई पूरा पनि गर्दैछन् । यहीबीच अहिले एमाले वृत्तमा प्रश्न उठेको छ– के ओलीले भीम रावललाई स्थायी कमिटीमा ल्याउलान् ?

हामीले यही विषयमा नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटीमा निर्वाचित केही नेताहरुलाई सोधेका छौँ । उनीहरुले यस विषयमा अहिले आफूहरुले केही भन्न नसक्ने निष्कर्षमा रहेका छन् । ‘सबैभन्दा पहिले यो अध्यक्ष ओलीको निर्णयमा भर पर्ने कुरा हो,’ तीमध्ये एक नेताले भने, ‘अर्को कुरा रावल आफैंले पनि यसअघि केन्द्रीय सदस्यको सपथ लिनु भएन, उहाँले अब पनि मलाई मनोनित नगर्नु भन्न सक्ने सम्भावना त्यति नै छ ।’

एमाले महाधिवेशनबाट ३ सय १ जना केन्द्रीय सदस्य निर्वाचित भएर आएका छन् । अब अध्यक्ष ओली र यो केन्द्रीय कमिटीले ३० जना केन्द्रीय कमिटीमा मनोनयन गर्ने छ ।
रावललाई स्थायी कमिटीमा ल्याउने हो भने ओलीले यी तीस जनामा उनलाई मनोनित गर्नु पर्ने हुन्छ ।

‘तर, आफूसँग अध्यक्षमा पराजित भएका र केन्द्रीय सदस्यको सपथ पनि नलिएकाले रावललाई ओलीले मनोनयन गर्न सक्ने सम्भावना कम छ,’ एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘सुदूरपश्चिमको राजनीतिको केन्द्रबाट रावललाई साइड लगाउन पनि ओलीले उनलाई अगाडि नल्याउने सम्भावना बढी छ ।’



एमालेमा १० बुँदे पक्षधर तथा रावलनिकट अर्का एक नेता चाहिँ ओलीले मनोनित गर्न चाहे पनि रावल यसका लागि तयार नहुने सम्भावना बढी भएको तर्क गर्छन् ।

‘चितवनमा जुन तरिकाले महाधिवेशन गरिएको थियो, त्यो तरिकामा रावलले अध्यक्षमा उम्मेदवारी दिनु नै उनको क्रान्तिकारी कदम हो,’ ती नेताले भने, ‘अब उनलाई फेरि पदमा आउन मन नहोला । उनी कार्यकारी पदबाट बाहिर बसेर नै आफ्नो राजनीतिलाई अगाडि बढाउने मुडमा भएजस्तो लाग्छ ।’



अर्कोतिर नेकपा हुँदादेखि नै ओलीको चर्को आलोचना गर्दै आएका रावललाई पार्टीको राजनीतिबाट टाढा बनाउन चाहन्छन्, ओली । उनले रावललाई फेरि स्थायी कमिटीमा ल्याउँदा आफू अनुकूल निर्णय गर्न गाह्रो हुनसक्ने अनुमान गरिसकेका छन् । अनि सधैं आफ्नो विरोधमा रमाउने रावललाई सुदूरपश्चिमको राजनीतिबाट पनि टाढा बनाउन चाहन्छन् ओली ।

त्यसैले पनि रावललाई स्थायी कमिटी सदस्यमा ओलीले ल्याउने सम्भावना कम छ ।

  • प्रकाशित मिति : मंसिर १८, २०७८ शनिबार २०:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया