कमल थापाले आफू हार्नुको दोष किन दिए पूर्वराजा ज्ञानेन्द्रलाई?

राप्रपाको पहिलो एकता महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएर चार वर्ष नेतृत्व सम्हाल्ने कमल थापाको धोको थियो । तीनवटा राप्रपाबीच पार्टी एकता गराएर थापा कार्यकारी भूमिका निर्वाह गर्दै आएका थिए । 

तीन दशकदेखि नेतृत्वमा रहँदै आएका थापाकै कारण पार्टी कमजोर बन्दै गयो । राजतन्त्र फालेर गणतन्त्र ल्याउँदै सरकार बनाउँदै आएका कम्युनिष्ट–कांग्रेससँग उनको राम्रै सहकार्य पनि बन्यो । एकातिर राजतन्त्र र हिन्दु राष्ट्रको वकालत गर्दै आएका थापा अर्कोतिर भने जुनसुकै सरकार आएपनि आफूलाई भाग खोज्दै आए । जसको विरोध स्वयं राप्रपाभित्रैबाट हुन थाल्यो । राप्रपा २०५९ सालयता कमल थापाकै वरिपरि घुम्यो । 

थापाकै कारण राप्रपा २०७४ सालको निर्वाचनमा एक सिटमा सीमित हुन पुग्यो । २०७० मा समानुपातिकतर्फ २४ सिट सिट जितेको राप्रपा एक सिटमा खुम्चिनुलाई थापाकै कमजोरीको रूपमा लिइयो । उक्त कुरा स्वयं थापाले नै एकता महाधिवेशनको उद्घाटनसत्रमा स्वीकार गरेका थिए । 

पार्टीलाई गुटबन्दीमा चलाएको, हिन्दु राष्ट्र र राजतन्त्रको वकालत मात्र गर्ने तर काम नगरेको जस्ता आरोप उनीमाथि लाग्दै आएका छन् । थापा नेतृत्वप्रति पार्टीभित्रकै युवा पुस्ता आक्रोशित बन्यो । जसको कारण आफ्नो नेतृत्वको कार्यकारीका महामन्त्री अध्यक्षका लागि उठ्न बाध्य भए । 

निवर्तमान महामन्त्री राजेन्द्र लिङ्देनले अब राप्रपा आफूले नेतृत्व गर्नुपर्ने अडानमा रहे । त्यसका लागि उनले आधार र कारण प्रष्टसमेत पारे । युवा पुस्ताले आफूप्रति देखिएको आकर्षण, नेतृत्वबाट देखिको वितृष्णा जस्ता कारणले पार्टी नेता तथा कार्यकर्ता पनि नेतृत्व परिवर्तनको दिशामा अगाडि बढ्न पुग्यो । 

लामो समयदेखि हिन्दु राष्ट्र र राजतन्त्रको पक्षमा बोल्दै आएको भन्दै थापा आफू चुनाव जित्नेमा ढुक्क थिए । तर, जब पूर्वराजा ज्ञानेन्द्र शाहबाट आफ्नो पक्षमा ‘ग्रीन सिग्नल’ नदेखिएपछि उनी हच्किए । 



महाधिवेशनको पूर्वसन्ध्यामा थापा पूर्वराजा कहाँ पुगेका थिए । जहाँ उनले आफूलाई सहयोग गर्न आग्रह गरे । तर, पूर्वराजा उनको नेतृत्वप्रति सन्तुष्ट देखिएनन् । बरु ज्ञानेन्द्रको शुभेच्छा अर्का उम्मेद्वार लिङ्देनलाई रह्यो । 

पूर्वराजाको शुभेच्छा लिङ्देनप्रति रहेको कुरा थापाले पनि थाहा पाइसकेका थिए ।  शाहबाट आफूलाई सहयोग नरहेको थाहा पाइसकेका थापाले त्यसबारे चुनावअघि नै सुनाउँथे । उनले सञ्चारकर्मीसँगै कुरा गर्दै भनेका थिए, ‘दरबारको चलखेल नभए मेरो जित सुनिश्चित छ ।’



चुनावअघि नै थापा पक्षको आँकलन थियो, ‘दरबारको चलखेल भयो भने २०० देखि ५०० मत तलमाथि हुनसक्छ ।’ महाधिवेशनपछि लिङ्देनसँग थापा २२७ मतान्तरले पराजित भए ।

आफू पराजित भएसँगै थापाले ज्ञानेन्द्रप्रति सार्वजनिक रूपमै आक्रोश व्यक्त गरेका छन् ।

‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु । मैले राहत र उन्मुक्ति पाएको छु । सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’ 

जबकि उनी नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र बनाउने दाबीसहित चुनावी मैदानमा होमिएका थिए । आफ्नो नाम र हिन्दु राष्ट्रको नाम जपेर आफ्नो स्वार्थपूर्ति गर्न लागेको भन्दै निर्मल निवास पहिलादेखि नै थापाप्रति रुष्ट थियो । त्यही भएर त पूर्वराजाले थापालाई पत्याएनन् । र, राप्रपाको नेतृत्व लिङ्देनको हातमा सुम्पिएका छन् । यसमा पूर्वराजाको पनि साथ र सहयोग मिलेको थियो ।  

झण्डै दुई दशकदेखि राप्रपाको नेतृत्वको सम्हाल्दै आएका थापासामु अब दुई विकल्प छन् । एउटा लिङ्देनलाई आफ्नो अध्यक्ष मानेर अघि बढ्ने अर्को आफ्नै नेतृत्वमा नयाँ पार्टी खोल्ने । जुन केही दिनभित्रै प्रष्ट हुने देखिन्छ । 

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १२:३०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया