को हुन् सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिका विजयी बलायर ?

सुदूरपश्चिम प्रदेश कांग्रेस​ सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । बलायर ४ सय ८ मत अन्तरले विजयी भएका हुन् ।

पूर्वमन्त्रीसमेत रहेका उनले कूल खसेको १ हजार ३ मध्ये ६ सय ८८ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले २ सय ८० मत मात्र प्राप्त गरेका छन् । बलायर संस्थापन र मिश्र संस्थापनइतर पक्षका हुन् ।

२०२२ साल भदौ ४ गते लाटामाडौ ६ वैरकोट डोटीमा जन्मिएका ५६ वर्षीय बलायर बीपी कोइरालाबाट प्रभावित भएर विद्यार्थीकालदेखि राजनीतिमा लागेका हुन् ।

विसं २००८ सालमा डोटीस्थित पहिलेको लाटामाण्डौ र अहिलेको शिखर नगरपालिका–८ मा बाबु स्व. बामबहादुर बलायर र आमा डम्मरीदेवीको कोखबाट जन्मेका बलायरले प्राथमिक शिक्षा गाउँकै लाटामाण्डौ प्राथमिक विद्यालयबाट हाँसिल गरेका थिए ।

डोटीको सीताराम उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका उनले सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट आइएसी गरेपछि उच्च शिक्षा हाँसिल गर्न काठमाडौँ गए । उनी उतैबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेका थिए ।

विसं २०३३ सालदेखि राजनीतिक यात्रा सुरु गरेका बलायर २०३६ सालमा सक्रिय रूपमा अगाडि लागेका हुन् । ४ वर्ष बन्दी जीवन बिताएका बलायर ०४६ सालको जनआन्दोलनताका निकै चर्चित विद्यार्थी नेता हुन् ।



२०४९ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा लडेका थिए । तर, निर्वाचनमा पराजित भए । त्यतिबेला उनी त्रिभुवन विश्वविद्यालयमा नेविसंघको अध्यक्ष थिए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका नेविसंघ नेता बलायरलाई नेविसंघ अध्यक्ष बन्ने सुदूरपश्चिमका दुई नेताले मिडियाबाजी गरेर विद्यार्थी राजनीति नै समाप्त पार्ने प्रयास गरेका तत्कालीन अवस्थामा आरोप थियो । विगतमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई हराउन अन्तर्घात गरेको भन्दै पार्टी कार्यालयमा बलायरले गिरिजाको गाडीको छतमा चढेर नाराबाजी गरेका थिए ।



अन्तर्घात गरेर किसुनजीलाई हराएको भन्दै बलायर, रामहरी खतिवडा लगायतका युवाहरूले त्यसबेला बानेश्वरमा गिरिजाको तस्वीरमा कालोमोसो दलेका थिए । त्रिभुवन विश्वविद्यालयमा अध्ययनका क्रममा र २०५१ सालमा काठमाडौंमा भएको उपनिर्वाचनमा बलायर खेलेको भूमिका निकै चर्चामा थियो ।

एनपी साउद नेतृत्वको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मात्र भए पनि नेविसंघका चर्चित नेताकै रूपमा बलायरलाई लिएको थियो । बलायरले गणितमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । भारत, चीन, अमेरिका, थाइल्याण्ड, कतार, हङकङ, पेरु लगायतका देशहरू भ्रमण गरिसकेका छन् ।

कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन पक्षका तर्फबाट सभापतिमा पाँच जना आकांक्षी थिए । पाँचै जनाले उम्मेदवारी घोषणा पनि गरिसकेका थिए । त्यतिबेलासम्म सभापतिको दौडमा थिएनन्, वीरबहादुर बलायर । यद्यपि उनी धनगढीमै थिए । र, सबैका घोषणालाई नेपथ्यमा बसेर हेरिरहेका थिए ।

परिस्थिति यस्तो बन्यो कि, उम्मेदवारी घोषणा गर्नेहरू सबैलाई पाखा लगाएर संस्थापन पक्षले आफ्नो सभापतिको उम्मेदवार घोषणा गरिदियो, बलायरलाई । संस्थापनका दुई नेता रमेश लेखक र एनपी साउद जिल्लामा कहिल्यै एक भएनन्, कहिल्यै सँगै हिँडेनन् । तर बलायरलाई भने दुवै नेता साझा उम्मेदवार बनाउन बाध्य भए । उनीहरू एक ठाउँमा आउने परिस्थिति भने बालुवाटारको निर्देशनबाट सम्भव भएको थियो ।

लडाकु स्वभावका बलायर २०४६ सालमा गणेशमान सिंहको चाक्सीबारीस्थित निवासमा जन आन्दोलनको घोषणा हुँदै गर्दा त्यो घोषणासभाको सुरक्षा संयोजक थिए । पार्टीका नेताहरूको सुरक्षा र जनआन्दोलनमा युवाहरूलाई परिचालनमा बलायरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ ।

उनी विराटनगरमा आयोजित नेविसंघको महाधिवेशनमा अध्यक्षको दावेदार थिए । तर, अध्यक्ष बनाइए, गोविन्द भट्टराई  । प्रजातन्त्र पुनर्स्थापना र लोकतन्त्रका लागि अविचलित भएर लडेका बलायर प्रदीप देउवाभन्दा अघिल्लो कार्यकालमा डोटी कांग्रेसका सभापति पद समालेका थिए ।

बलायरले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा डोटी क्षेत्र नम्बर १ बाट हार व्यहोर्नु पर्यो । २०७० सालको संविधानसभाको निर्वाचनमा कांग्रेसले उनलाई पुनः टिकट दियो । र, उनले चुनाव जिते । त्यसपछि उनले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको जिम्मेवारी पाए ।

बलायर १३ औँ महाधिवेशनमा भने केन्द्रीय सदस्यमा निर्वाचित भए । सन्त नेता कृष्णप्रसाद भट्टराईसँग नजिक रहेर काम गरेका बलायर कांग्रेस विभाजनपछि देउवाको पक्षमा उभिए । उनी त्यसयता सधैँ देउवानिकट रहेको बताइन्छ । साथै उनी देउवापत्नी आरजुको पनि विश्वास पात्रका रूपमा चिनिन्छन् ।

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार १३:२७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया