\
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित सिंहदरबारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई निर्देशन दिएको हो ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्ने तर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन् ।
'ओमिक्रोनबाट बच्न र आम मानिसमा भय हुन नदिन शतर्कता अपनाउनु पर्छ भन्ने कुराको चेतना दिनुपर्छ । यो आइहाल्यो भने त हामीलाई गाह्रो हुन्छ, त्यसको पूर्वतयारीको लागि मन्त्रालय लाग्नुस्' उनले भनिन् 'नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ । त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुईवटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ'
सभापति घर्तीले कोरोनाको खोपलाई जनतासमक्ष चाँडोभन्दा चाँडो पुर्याउन पनि मन्त्रालयलाई निर्देशन दिइन् । उनले ज्येष्ठ नागरिकलाई स्वास्थ्य मन्त्रालयले घरघरै गएर खोप लगाउने व्यवस्था गर्न पनि निर्देशन दिइन् ।
सभापति घर्तीका अनुसार समितिले हरेक, वडा, गाउँपालिका र नगरपालिकामा कोरोना खोप लगाउने समय नतोकी जुनकुनै समयमा पनि खोप लगाउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । उनले कोरोनाको नयाँ भेरियन्टबाट बच्नको लागि अक्सिजन र भेन्टिलेटरको अवस्था बुझी आवश्यकताअनुसार जुटाउन र प्रयोग भइसकेकालाई व्यवस्थित गर्न पनि निर्देशन दिइन् ।
उनले भनिन्, 'अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ । नेपालको समस्या के छ भने एकपटक प्रयोग गरेपछि भताभूङ्ग बनाउने गरेको छ । त्यसलाई व्यवस्थित गनुपर्छ ।’
सभापति घर्तीले अहिले राजनीतिक मुद्दाभन्दा पनि कोरोनाको नयाँ भेरियन्टबाट जनताको ज्यानको सुरक्षातर्फ लाग्न पनि निर्देशन दिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।