ओमिक्रोन भेरियन्टबाट जोगिन के गर्दै छ सरकार ?

कोरोना भाइरस (कोभिड १९) को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा प्रवेश गर्ने खतरा बढिरहेको छ । छिमेकी राष्ट्र भारतका विभिन्न प्रदेशमा अहिलेसम्म पाँच जना व्यक्तिहरूमा ओमिक्रोन भेरियन्टबाट संक्रमण भएको पुष्टि भएपछि नेपालमा पनि यसको खतराको आंकलन गरिएको हो ।

अहिलेसम्म ३० भन्दा धेरै देशमा यो नयाँ प्रकारको संक्रमण फैलिसकेको छ । तीमध्ये धेरै देशले यात्रामा प्रतिबन्ध लागू गर्दै यसको सम्भावित प्रकोपबाट सुरक्षित रहने प्रयास थालेका छन् । कतिपय देशमा यसबाट बच्नका लागि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिन सुरु गरेका छन् ।

दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको यो भेरिएन्ट नेपालमा पनि भित्रिने भन्दै चिन्ता व्यक्त गरिएको छ । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले  पनि जनतालाई यो भेरियन्टबाट सुरक्षित बनाउनका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । 

'नेपालमा ओमिक्रोनको खतरा सबैभन्दा धेरै भारतबाट नै छ । त्यसैले भारतबाट आउने मानिस सबैलाई खोप लगाएको कार्ड र आउने बेला पीसीआर यी दुइटा कुरामा मन्त्रालयले ध्यान दिनुपर्छ । अक्सिजन, भेन्टिलेटरको अवस्था के छ, त्यो बुझ्नुपर्छ । नेपालको समस्या के छ भने एकपटक प्रयोग गरेपछि भताभूंग बनाउने गरेको छ । त्यसलाई व्यवस्थित गर्नुपर्छ’ उनले भनिन् ।

विगतलाई हेर्दा पनि खुला सीमानाका कारण नेपाल र भारतमा कोरोना भाइरस संक्रमणको लहर सँगसँगै जस्तो सुरु भएको देखिन्छ । यता, पहिलो तथा दोस्रो लहरमा जसरी कोरोनाको नयाँ भेरियन्ट नफैलियोस भनेर नेपाल सरकार कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी थालेका छन् ।

स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाको ‌ओमिक्रोन भेरियन्टको संक्रमिण भित्रिन नदिन उच्च सतर्कता अपनाएको जनाएको छ । जसका लागि नेपाल-भारत सीमानाकाबाट भित्रिने व्यक्तिको परीक्षणलाई बढाएको मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले नेपालमा कोभिडको ‌ओमिक्रोन भेरियन्ट नभित्रियोस् भन्ने हेतुले विदेशबाट आएका व्यक्तिलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरिएको बताए ।



‘हवाई मार्गबाट आएकालाई परीक्षण र क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । खुला सिमाना भएका कारण जोखिम उच्च छ । अहिले स्थल मार्ग हुँदै नेपाल प्रवेश गर्नेहरूबाट संक्रमण भित्रिन नदिन सीमानाकामा परीक्षणको व्यवस्था मिलाइएको छ,' उनले भने ।

नेपाल र भारतबीच खुल्ला नाका रहेकोले नयाँ भेरियन्टको संक्रमण नेपाल भित्रिने खतरा रहेको उनले स्वीकारे । त्यसैले मन्त्रालयका तर्फबाट निगरानी बढाइरहेको पनि उनले जानकारी दिए ।



स्वास्थ्य मन्त्रालयको तयारी

स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्नेबाट ओमिक्रोन भाइरसको जोखिम बढ्न सक्ने आकलन गरेर सावधानी अपनाउन थालेको जनाएको छ । नेपाल र भारतबीच खुला सीमानाका भएकाले नेपालमा पनि यो भेरियन्ट भित्रिन सक्ने जोखिमलाई मध्यनजर गर्दै अहिले सीमानाकामा कडाइका साथ परीक्षण सुरु गरेको मन्त्रालयको भनाइ छ ।

ओमिक्रोन भेरियन्टको संक्रमण नेपालभित्र प्रवेश गर्ने नदिने पहिलो प्रयास मन्त्रालयको हुने, यदि भित्रिए कम जोखिममा नियन्त्रण गर्ने विषयमा विभिन्न निकायसँग छलफल र समन्वय भइरहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए ।

उनका अनुसार हालसम्म लगभग १० वटा देशलाई प्रतिबन्ध लगाएको छ । विशेषतः स्थल मार्गबाट नेपाल भित्रिने सम्भावना बढी भएकाले निगरानी कडा गरिएको उनको भनाइ छ । आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्ने/गराउने, जनचेतना बढाउने कार्य स्वास्थ्य मन्त्रालयले गरिरहेको उनको भनाइ छ ।

उनले कोरोनाविरुद्धको खोप अभियानलाई पनि तीव्रता दिएको बताए । उनले पूर्वाधारका साथै स्वास्थ्यकर्मी थप गर्ने प्रक्रिया अगाडि बढाएको सुनाए । ‘खोप जति छिटो लगायो उति छिटो रोग प्रतिरोधात्मक क्षमता बढ्ने र जोखिम नियन्त्रणमा सहज हुनेछ’ अधिकारीले भने, ‘सरकारले अस्पतालमा पूर्वाधार थप्ने, स्वास्थ्यकर्मी थप्ने कामहरू पनि अघि बढाएको छ । सीमामा व्यवस्थापन गरिएको छ ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आवश्यक कीटहरू पनि थपिएको सहप्रवक्ता अधिकारीको भनाइ छ । ‘स्थानीय तहसँग पनि समन्वय थालेका छौँ । विशेषतः नाकामा रहेका ठाउँहरूमा निगरानी बढाएका छौँ’ उनले भने ।

सीसीएमसीको तयारी

सीसीएमसीको पक्षबाट भने हालसम्म राष्ट्रव्यापी रूपमा ठोस कदम नचलिएको सीसीएमसी प्रवक्ता सुनिता नेपाल बताउँछिन् । ‘सम्बन्धित पक्ष तथा प्रदेशहरूले गत मंसिर १३ गतेको सरकारको आदेशअनुसार आफ्नो तयारी थालेको छन्’ सीसीएमसी प्रवक्ता नेपालले भनिन् ।

उनका अनुसार राष्ट्रव्यापी रूपमा ठोस कदम नचालिएको भए तापनि स्थानीय तहदेखि जिल्लास्थित स्वास्थ्य कार्यालयहरूले आफ्ना तर्फबाट तयारी गरिरहेका छन् । सरकारले मंसिर १३ गते सबैलाई सचेत हुन र पूर्व तयारी अपनाउन आग्रह गरेको  थियो ।            

‘स्वास्थ्य मन्त्रालयले दिनहुँ बिफ्रिङ गरिरहेको छ । त्यस्तै, सीसीएमसीले पनि हरेक ठाउँमा मनिटरिङ गरिरहेको छ’ प्रवक्ता नेपालले भनिन् ।

  • प्रकाशित मिति : मंसिर १९, २०७८ आइतबार २०:४१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया