ल्यापटक तथा नोटबुक आयातमा दुई गुना वृद्धि, चार महिनामा भित्रियो करिब साढे ५ अर्बको ल्यापटप

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा विभिन्न देशबाट नेपालमा ५ अर्ब ३७ करोड ३८ लाख ६० हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक भित्रिएको छ ।

भन्सार विभागका अनुसार २०७८ साउन देखि कात्तिक महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको हो । 

उक्त मूल्यमा ९५ हजार ७५९ वटा ल्यापटप नेपाल भित्रिएको विभागले जानकारी दिएको छ ।
 
गत आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा विभिन्न देशबाट नेपालले २ अर्ब ८ करोड ४१ लाख ९ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक आयात गरेको थियो । अघिल्लो वर्षको तुलनामा यसवर्ष नेपाललमा दुई गुनाभन्दा बढी ल्यापटप तथा नोटबुक भित्रिएको हाे ।
 
गत आर्थिक वर्षको सुरुवाती चार महिनामा ३७ हजार ६०८ थान ल्यापटप तथा नोटबुक नेपालले आयात गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ । 

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा सबैभन्दा बढी ल्यापटप चीनबाट भित्रिएको छ। सो अवधिमा चीनबाट ५ अर्ब ९ करोड ४१ हजार रुपैयाँको ९१ हजार २७३ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएकाे विभागले जनाएकाे छ ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन, भदौ, असोज र कात्तिकमा मलेसियाबाट १५ करोड ७३ लाख ४६ हजार रुपैयाँ ल्यापटप तथा नोटबुक नेपाल आएको छ ।

चीन र मलेसियाको अलवा अस्ट्रेलिया, बहराइन, क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कुवेत, मेक्सिको, म्यानमार, नेदरल्याण्ड्स, फिलिपिन्स, कतार, सिंगापुर, स्पेन, स्वाजील्याण्ड, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, बेलायत, अमेरिका र भियतनामबाट ल्यापटप तथा नोटबुक आउने गरेको छ । 



विभागकाे अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट ७ अर्ब ७७ करोड २३ लाख ५८ हजार रुपैयाँको १ लाख ३९ हजार ४४७ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका थिए । 



  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १३:३३:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया