चीनबाट एमबीबीएस पढेर आएका विद्यार्थीहरू माइतीघरमा विरोध प्रदर्शनमा उत्रिएका छन् । कोरोना महामारीका कारण इन्टर्नशिपको माग गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
सन् २०१५ र २०१६ ब्याचका विद्यार्थीहरूले कोरोना महामारीकाबीच अनलाइन माध्यमबाट सैद्धान्तिक पढाई पूरा गरेका थिए । तर, नेपाल मेडिकल काउन्सिलले अनलाइन मार्फत पढेको मान्य नहुने निर्णय गरेको थियो ।
एकातिर भौतिक रूपमा पढ्न नपाएका र अर्कोतिर कोरोना महामारीका कारण पढ्न सम्बन्धित देश जान नपाएका उनीहरू काउन्सिल र स्वास्थ्य मन्त्रालयको विरुद्ध आन्दोलन गर्दै आएका छन् ।
उनीहरूले नेपालमै इन्टर्नशिप गर्न पाउनुपर्ने र अनलाइन मार्फत पढेको पढाइलाई मान्यता दिनुपर्ने माग राख्दै आएका छन् । तर, सरकारले भने सम्बन्धित देशमै गएर इन्टर्नशिप गर्ने वातावरण मिलाउन पहल गर्ने बताएको छ ।
केही दिनअघि उनीहरूले नेपाल मेडिकल काउन्सिल परिसरमा समेत धर्ना दिएका थिए । विश्वभर नै अनलाइन कक्षालाई मान्यता दिइएको अवस्थामा मेडिकल काउन्सिलले भने उक्त पढाई मान्य नहुने निर्णय गरेको भन्दै उनीहरू आक्रोशित बनेका हुन् ।
विगत ८ महिनादेखि नेपालमै इन्टनशिप गर्न पाउनुपर्ने भन्दै सरोकारवाला निकाय धाएका थिए । तर, आफ्नो मागको कुनै सुनुवाइ नभएपछि बाध्य भएर माइतीघर मण्डपमा आउनुपरेको विद्यार्थीहरूको भनाइ छ ।
माइतीघरमा एमबीबीएसका विद्यार्थीको आन्दोलन :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।