फिल्मी शैलीको बडुवाल हत्या प्रकरण, यसरी बनेको थियो हत्याको योजना

कैलालीको लम्कीका २३ बर्षीय भुपेन्द्र बडुवाल हत्यामा एक अपराधिक गिरोह संलग्न रहेको पाईएको छ । कैलाली र काठमाण्डौंमा रहेर अपराधमा सक्रिय समुहले उनको हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । 

फिल्मी शैलीमा गरिएको वडुवाल हत्यामा संलग्नहरु  कैलालीको लम्की, चिसापानी र टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा वन पैदावारको ठेक्कापट्टामा आफ्नो बर्चस्व कायम गर्न विभिन्न अपराधिक क्रियाकलाप गर्दै आएकाहरु भएको खुलेको हो । प्रहरीका अनुसार हत्यामा संलग्नहरु अधिकांश प्लस टू मा अध्ययनरत रहेका छन् ।

बडुवाल हत्या घटनामा संलग्नहरुको सुरुमा एउटा मात्र समुह रहेको थियो । समुहमा मनमुटाव बढ्दै गएपछि दुई भागमा विभाजन भएको प्रहरीले जनाएको छ । एक समुहको नेतृत्व नविन रावल र अर्कोको जयन्द्र शाहले गर्दै आएका थिए । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार रावल र शाह एकै समुहमा हुँदा निकै मिल्थे । विस्तारै आपसमा वैमनस्यता उत्पन्न भएपछि दुई समूहका युवाहरूबीच पटक–पटक झगडा हुने गरेको थियो ।

आपसी मतभेदका क्रममा २०७८ भदौमा काडमाडौं कालीमाटीमा जयन्द्र शाहको समुहले नविन रावल समुहका हिमाल शाहीलाई पेटमा खुकुरी प्रहार गर्ने प्रयास गरेका थिए । त्सपछि अर्को युवा कपिल श्रेष्ठले जयन्द्र समुहको तर्फबाट रावल समुहमाथि आक्रमण गर्ने योजना बनाए । योजना अनुसार कार्तिक १७ गते काठमाण्डौंबाट मोटरसाईकल यात्रा गरी कैलालीको लम्की पुगेका थिए । कार्तिक २० गते लम्की  पुगेका श्रेष्ठले दुई÷तीन दिन देखि नविन रावलमाथि आक्रमण गर्ने अवसर खोजेका थिए ।

‘२०७८ भदौमा काठमाडौंको कालीमाटी क्षेत्रमा जयन्द्र शाहको समूहले नविन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गरी मार्ने प्रयास गरेको थियो,’ एसपी अधिकारी भन्छन्, ‘त्यो घटनापछि कपिल श्रेष्ठले जयन्द्र समूहको तर्फबाट नविन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाए । नविन रावललाई आक्रमण गर्ने योजना बनाउँदै कपिल श्रेष्ठ कार्तिक २० गते काठमाडौंबाट लम्की पुगेका थिए ।’



कार्तिक २३ गते नविन रावल समेतको समूह लम्कीमा आयोजित फुटबल खेल हेर्न आएको थाहा पाएपछि कपिलले आफ्नो समूहका युवालाई जानकारी गराए । लम्की खेल मैदानमै आक्रमण गर्न खोजेको भए पनि त्यो सफल हुन सकेन । नविन रावलले आफूमाथि आक्रमणको योजना रहेको जानकारी मदन शाही मार्फत पाए । रावल आफ्नो समूहका आर्यान, हिमाल, हेमन्त, मदन, चिरञ्जीबी, रोशन, निशान्त, धिरज, रोहित र सोहनलाई साथ लिएर टीकापुर हिडें । 



एसपी अधिकारीका अनुसार रावल समूहको योजना जयन्द्र समूहको जुनसुकै व्यक्ति फेला पारे पनि आक्रमण गर्ने थियो । 

‘टीकापुर क्षेत्रमा लुकी बसेका कपिल श्रेष्ठ एक्लिएपछि लम्कीमा रहेका मिल्ने साथी भूपेन्द्र बडुवाललाई फोन गरेर बोलाएका रहेछन्,’ एसपी अधिकारीले धनगढीमा सोमबार भएको पत्रकार सम्मेलनमा भने, ‘भूपेन्द्र कपिललाई लैजान टीकापुर गए । त्यहाँ नविन रावलको समूह जयन्द्र समूहका व्यक्तिलाई आक्रमण गर्न हातहतियारसहित बसेको थियो । सो क्रममा भूपेन्द्र फेला परेपछि उनीमाथि आक्रमण भएको खुलेको छ ।’  

एसपी अधिकारीका अनुसार झण्डै २ किलोमिटरसम्म लखेटेर सिद्धार्थ होटल नजिक रहेको आफन्त कौशी विष्टको आँगनमा भूपेन्द्रमाथि आक्रमण भएको थियो ।  आर्यन देवकोटा, चिरञ्जीबी शाही, रोशन शाही र रोहित आले समेतले उनको पेट र छातीमा २ पटक, पिठ्युँमा ३ पटक र टाउकोको पछाडि एक पटक धारिलो हतियार प्रहार गरेको खुलेको छ । 

आक्रमणपछि नविन रावल समूह कैलालीकै अर्को क्षेत्र जोशीपुर पुग्यो । त्यहाँ एकजनाले अपराध स्वीकार्ने र अरु फरार हुने योजना बनेको एसपी अधिकारीले बताए । ‘सोही योजना अनुसार आर्यन देवकोटा बौनिया बजारमै रहेको र नविन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही र चिरञ्जीबी शाही लगायत लोकजंगले बनाएको योजना अनुरुप स्थानीय बौनिया बजारभन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लुकेका रहेछन्,’ एसपी अधिकारीले भने, ‘कार्तिक २५ गते धनगढीको जुगेडाहुँदै उनीहरु भारत गएको पनि अनुसन्धानबाट खुलेको छ ।’ 

बडुवालको हत्या अगाडि नै रावल र शाह समूहका सदस्यहरूका विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलाली, मातहत इकाई र काठमाडौँमा समेत ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको भेटिएको छ । ‘ती मुद्धामा कोही धरौटीमा छुटेका थिए भने कोही अहिलेसम्म पनि फरार छन्,’ एसपी अधिकारीले भने । 

१२ जना पक्राउ, ९ फरार

प्रहरीका अनुसार २३ वर्षीय भूपेन्द्र बडुवालको हत्यामा २१ जनाको संलग्नता भएको पाईएको छ । हत्या अभियोगमा १२ जना पक्राउ परेका छन् भने ९ जना अझै फरार छन् ।

एसपी विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरूमा लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दिपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय निशान्त मल्ल छन् ।

यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रवीण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले, टीकापुरकै २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजँग शाहीलाई पनि सार्वजनिक गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बडुवालको हत्यामा संलग्न भएका र हत्या गर्न सघाउने अन्य ९ जना अझै फरार छन् । प्रहरी उपरीक्षक अधिकारीका अनुसार लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनुज भन्ने चिरञ्जिवीजंग शाही, २६ वर्षकै हिमाल शाही, जानकी गाउँपालिका–६ बस्ने वर्ष २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ बस्ने २७ वर्षीय विकास शेरचन, लम्कीचुहा–४ बस्ने २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर नगरपालिका–६ बस्ने अन्दाजी ३५ वर्षीय अशोक रावल, लम्कीचुहा नगरपालिका–३ बस्ने २५ वर्षीय लोकजंग शाही र बर्दियाको गरुवा गाउँपालिकाका २२ वर्षीय हेमन्त शाही फरार छन् ।

उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । उनीहरु मध्ये रावल सहितका केही युवाको हत्यामा संलग्न रहेको र केहीले घटनामा सघाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । गत कात्तिक २३ गते धारिलो हतियार प्रहार गरेर बडुवालको हत्या गरिएको थियो ।

अभियुक्त विरुद्ध मुद्दा

भूपेन्द्र बडुवाल हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीले २१ जना अभियुक्त विरुद्ध जिल्ला अदालत कैलालीमा मुद्दा दायर गरेको छ । बडुवाल हत्या प्रकरणमा संलग्न, योजनाकार र मतियार गरी २१ जना विरुद्ध मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले बताए । 

हत्यामा संलग्न लम्की चुहा नगरपालिकाका नविन रावल, दीपेन्द्र शाही भनिने धिरज, मदन शाही, विकास खड्का, विकास श्रेष्ठ, आर्यन देवकोटा, निशान्त मल्ल, टीकापुरका प्रविन रिमाल, बर्दिया घर भइ टीकापुर बस्ने रोहित आले, सोहन शाह, बर्दगोरियाका लोकेन्द्र कुँवर, बर्दियाका सविनजंग शाही, चिरञ्जीवी शाही हिमाल शाही, रोशन शाही, अशोक रावल र हेमन्त शाही गरी १५ जनालाई जन्मकैदको सजाय माग गरी अदालतमा मुद्दा दर्ता गरेको प्रहरीले जनाएको छ । ती १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७ (२) बमोजिम जिवित रहेसम्म जन्मकैदको सजाय मागदाबी गरिएको छ ।  

त्यस्तैगरी प्रहरी अनुसन्धानबाट हत्याका मुख्य योजनाकार भनिएका लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (१) बमोजिम दफा १७७ (२) कसुरमा जन्मकैद सजायको माग अदालतमा गरिएको छ । हत्यामा मतियार भएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) क बमोजिम कसुर गरे सरह दफा ३६ को (१) र (२) कसुरमा जन्मकैदको सजाय माग गरिएको छ । 

  • प्रकाशित मिति : मंसिर २०, २०७८ साेमबार १६:२३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया