विवाहपञ्चमी महोत्सवमा पनि कुरूप सीतारामको स्वयम्वरस्थल रंगभूमि मैदान

साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवको पाँचौँ दिन आज भगवान् श्री राम र माता जानकीको मटकोर विधि सम्पन्न भइसकेको छ । भोलि बुधबार यहाँस्थित रंगभूमि मैदानमा स्वयम्वर विधि मनाइनेछ भने जानकी मन्दिरको प्रांगणमा विवाहोत्सव विधिको आयोजना गरिने भएको छ ।

विवाहपञ्चमीमा एकातर्फ जानकी मन्दिरलाई दुलही झैँ श्रृंगारिएको छ भने अर्कोतर्फ विवाहको प्रत्यक्ष साक्षी रहेको रंगभूमि मैदान महोत्सवका बेलासमेत उपेक्षित बनेको छ । रंगभूमि मैदान माता सीताको स्वयम्वरसँग सम्बन्धित मुख्य थलो हो ।

यही मैदानमा विवाहपञ्चमी महोत्सवमा प्रत्येक वर्ष माता सीता र भगवान् रामको विवाहअन्तर्गत स्वयम्वर कार्यक्रम सम्पन्न गरिन्छ । जानकी मन्दिर तथा राम मन्दिरको डोलासहित जनकपुरधामका मठमन्दिरका डोलाहरू यही मैदानमा स्वयम्वरका दिन पुग्ने गर्छन् ।

नगरक्षेत्रमा भारतलगायतका देशहरूबाट हजारौँको संख्यामा आउने श्रद्धालुभक्तजनहरूसमेत रंगभूमि मैदानमै वास बस्छन् । तर, धार्मिक तथा सांस्कृतिक महत्त्वको यो मैदान अहिले पनि कुरूप नै देखिन्छ । मैदानको चारैतर्फ फोहोरै फोहोरको डंगुर थुप्रिएको छ भने आधा भाग हिलाम्मे अवस्थामा छ ।

जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहलगायत अन्य केही निकायका प्रतिनिधिहरूले केही दिनअघि मैदानको सरसफाइको नाममा हातमा झाडु लिएर विभिन्न पोजका तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । तर, वास्तविकता भने बेग्लै देखिन्छ ।



रंगभूमि मैदानलाई न सरसफाइ गरिएको छ, न त श्रद्धालुहरूको वास तथा शौचका लागि शौचालयको व्यवस्था नै गरेको देखिन्छ । रंगभूमि मैदानमा श्रद्धालुहरूको वासका लागि भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले एउटा पण्डाल मात्रै ठड्याएको देखिन्छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका निर्देशक बलराम ठाकुरले रंगभूमि मैदान कसको क्षेत्राधिकारमा पर्ने विषयमा स्पष्ट नरहेकोले त्यसतर्फ आफूहरूले चासो नलिएको बताए । यद्यपि, विवाहपञ्चमी महोत्सवको समय रहेकाले त्यहाँ बृहत्तरले खानेपानीको व्यवस्था गरेको जानकारी दिए । ठाकुरले बृहत्तरसँग बजेटको अभाव रहेकोले पनि चाहे जति गर्न नसकेको स्वीकार गरे ।



उनले भने, ‘नेपाल सरकारबाट वर्षभर चाडवाडको समयमा खर्च गर्नका लागि हामीलाई जम्मा १ लाख रुपैयाँ छुट्याइएको छ, त्यसमा पनि विवाहपञ्चमीमा खर्च गर्नका लागि २५ हजार रुपैयाँ मात्रै छ, त्यसले के हुन्छ । हामीले गर्न चाहे पनि जनकपुरधाम उपमहानगरपालिकाले पटक पटक हस्तक्षेप गर्दै आइरहेको छ ।’

यता, उपमहानगरका उपप्रमुख रीता मिश्रले रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व उपमहानगरको रहे पनि यसको रेखदेख मुख्य रूपमा बृहत्तरले नै गर्दै आएको बताइन् । उनले संघ सरकार र प्रदेश सरकार यस मैदानप्रति अनुदार भएकै कारण रंगभूमि मैदानको दुर्दशा भएको आरोप लगाइन् । 

एक अर्कालाई दोषारोपणमै विभिन्न निकायहरू व्यस्त भएका कारण रंगभूमि मैदानको यो अवस्था आएको स्थानीयको भनाइ छ ।

सो मैदान व्यवस्थित हुँदा स्थानीय युवाहरू त्यहाँ पुगेर बिहान बेलुका खेलकुदको अभ्यास गर्ने गर्थे । तर, अहिले आएर मैदानमा जताततै फोहोर, घाँस, खाल्डाखुल्डी भएकाले खेलको अभ्यास गर्न नसकिरहेको जनकपुरधामका क्रिकेट खेलाडी गुड्डु पाण्डेले बताए ।

कुनै समय जनकपुरधामको बीच भागमा पर्ने यो मैदानले पूरै नगरको शोभा बढाउने गर्थ्यो । विभिन्न धार्मिक प्रयोजनदेखि खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न बाह्रबिघा मैदानले जनकपुरधामलाई सघाउँदै आइरहेको छ । तर, आज सो मैदान आफैँ आफ्नो अस्तित्व खोजिरहेको छ । धार्मिक र सांस्कृतिक महत्त्व बोकेको जनकपुरधामस्थित रंगभूमि मैदान संरक्षणको अभावमा कुरूप बनेको छ ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १५:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया