शेयर बजारलाई लगाम लगाउने नीति अँगाल्दा बजारमा निरन्तर गिरावट : पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पोखरेल

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले शेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजारमा निरन्तर गिरावट आएको बताएकी छन् । 

सोमबार नेपाल न्युज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले शेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर शेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताइन् । 

उनले शेयर बजार नियामक निकायहरुले शेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको आरोप उनले लगाइन् ।

‘सरकारका शेयर बजार नियामक निकायहरुले पुँजीबजारलाई लगाम लगाउने हिसाबले अगाडि बढेका छन्। शेयर बजार एउटा गतिमा दौडिरहेको अवस्थामा नियामक निकायहरुले बजारलाई प्रभावित गर्ने गरी नयाँ नीति ल्याउँदा लगानीकर्तामा निराशा छाएको छ,’ उनले भनिन् ।

शेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा शेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको शेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले बताइन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा एउटा लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा एउटा बैंकबाट ४ करोड र तीन वटाबाट १२ करोडको सिमा तोकेका कारण पनि शेयर बजारमा निराशा छाएको उनले बताइन् । 



‘शेयर बजार सेन्सेटिभ मार्केट भएकाले घटबढ भइरहनुपर्छ । तर नियामक निकायले बनाउने नीतिले शेयर बजार घट्ने र बढ्ने हुनुहुँदैन । नियामक निकायले शेयर बजारमा भएको विकृति विसङ्गतिलाई रोक्नुपर्छ । तर शेयर बजारलाई रोक्नु हुदैन। अहिले बजारमा तरलताको समस्या छ । यो समस्या सरकारले ल्याएको बजेट खर्च नगरेर राज्यको ढुकुटीमा थन्केर बसेकाले पनि सिर्जना भएको हो,’ पोखरेलले भनिन् । 

पछिल्लो तीन महिनाको अवधिमा शेयर लगानीकर्ताको २० पतिशत नोक्सानी भएको दाबी उनले गरिन् । यहि अवस्था तीन वर्षसम्म रहेमा लगानीकर्ताको शेयर बजारमा १० प्रतिशत लगानी पनि नरहने उनले बताइन् ।



अध्यक्ष पोखरेलले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता शेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फर्किएकाले बजार गिरावट आएको जनाइन् । 

उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको जानकारी दिइन् । अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुदै गएको बताइन् ।

  • प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार १६:३७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया