logo-img

गाेविन्द पाैडेलका तीन कविता

१. बुद्धका पाइतालाको धुलो 

बुद्धका हत्केलामा फुलेको गुराँस 
जबजब तिमी रंगहीन देख्‍न थाल्छौ 
रगतका थोपाहरूको एउटा पोखरी बन्छ !
उनका नयनहरूको किरण 
मधुरो हुँदै जाँदा 
अन्धकारको कोलाहल बढ्दै जान्छ 
उनको ढुकढुकीको कम्पन कमजाेर भए 
तिम्रो मुटु पाषाण बन्छ ।

उनको पाइतालाको धुलो झर्न थाल्दा 
सिन्दूर ठानेर लगाइने माटो
गौरव र महिमाबिनाको  इतिहास बन्छ।

कठोरताका काँडाहरू तिखारिँदै जान्छन् 
जिजीविषाका कामनाहरूले सल्काएको आगो 
तिम्रो सपनाको पहाड टेक्दै हुर्कँदै जाँदा 
युद्धको विभीषिका बढ्दै जान्छ !

बुद्धका सप्तरंगी  अर्तीको सार 
तिम्रा लागि चक्कुको प्रहार भएपछि 
जीवनको भरिलो बगैंचामा
एक उदास साँझ  टुप्लुक्क आइबस्छ ! 

बुद्धका पाइतालाको धुलो 
जबजब तिमी झार्दै जान्छौ 
एउटा मधुरो संगीत पातलिँदै जान्छ
मान्छेको जिजीविषा अत्तालिँदै जान्छ !



२. यी  बिराना घामजूनहरू      

यी खैरा रङका जुल्फीहरू
पहेंला नांगा देहहरू
यो निरस सहर 
यो बेनाम भीड 
यी अट्टालिका र इमारतभित्रको 
कैदी मुस्कान र एक मुठी सास 
निर्दोष र निम्छराहरूको रगतको टाटो दलेर 
चम्किएको भाग्य र समृद्धि 
चिसा र बाफिला रातहरूको  
निर्जीव रङ र रमिताले 
अनिदा आँखाहरूमा जाम परेका 
अत्यासिला र पखेटा नभएका सपनाहरूको 
आकार र रंगविहीन अधमरा विपनाहरूको
कुटिल चालभित्र परेका बन्दी चरीबरीका
 मुटु निचोरिएर निस्केका लार्भाका आँसु पखाल्न
म कुनै मसिहा र पैगम्बरको प्रतीक्षा गर्दिनँ
म कुनै  अवतार र  अल्लाहको आशा पनि गर्दिनँ।



यी चार किल्लाहरू 
नीला आँखाभित्रका वीभत्स इतिहास
जसलाई गौरव र गाथाका नामहरूमा 
वीरता र पुरुषार्थका नामहरूमा
दुनियाँलाई पढाइन्छ कि ठगिन्छ ? 

आज म झल्याँस्स बिउँझेँ 
यी न्याना र चम्किला भनिएका 
आफ्ना र प्यारा भनिएका 
यी घाम र जून 
तारा र सिताराहरू 
चिसा र बिराना लागे
यी नांगा देहहरू दुर्गन्धित लागे । 

यी रेशमी जुल्फी र गगनचुम्बी महलहरू 
रगत अनि पसिनामा नुहाइरहेको देखेँ
यो कङ्कृटको जंगल 
पाषाण मुटुहरूको निर्जीव ढुकढुकी 
मैले आफूलाई थाम्न सकिनँ
झ्यालबाट छिरेको यो किरण 
किन किन बर्फिलो प्रतीत हुन्छ 
किन किन झुसिलो प्रतीत हुन्छ ?

घर सम्झेर रुन मन लाग्यो
मेरो गाउँको सुन्तलाबारीमा पनि 
करेसा र अम्रिसोघारीमा पनि 
न्यानो घाम लाग्दो हो 
पाखा भरिभरी लालीगुराँस फुल्दो हो
यी खैरा आँखाहरूले  बन्द गरेका गोरेटाहरू
कुल्चिएर मेटिदिएका जीवनका रेखाहरू
पहिचानका  आकृतिहरू
हराएका रीति र थितिहरू बटुल्ने
बाटाका धर्साहरू 
आज म खोजिरहेछु
नीला आँखाभित्रका जालाहरू पन्छाएर
म मेरो  बाटो खोजिरहेछु
म मेरो माटो खोजिरहेछु।​

३. पिताको सम्झनामा

दिएर आफ्नो भर्भराउँदो बैंस
रहर र सपनाहरू 
एक पिता 
थापिदिन्छन् आफ्नै छाती 
राख्छन् मुटु ढुंगामाथि ।

भिजाउँछन् माटो र दौरा 
पसिना र रगतले 
सजाउँछ्न् सपना र सन्तुष्टि 
सन्ततिका आँखाहरूमा ।

फुलाउँछन् कपालका हरेक केस्राहरू 
टेकिहिँड्छन् इतिहासका गोरेटा, चक्रेटा 
र धर्साहरू 
मुस्काउँछन् थकानका सुस्केरा  र 
अप्ठ्याराहरू
बाल्छन् मसालका पुल्ठाहरू 
अनि
टाल्छन् जिन्दगीभर अभावका खाल्टाहरू । 

बनाउँछन् उज्यालो र सुकिलो आँगन 
अनि 
झुलाउँछन् झुला र गोरुका महलाहरू
ती धमिला दृष्टि र मुटुका प्यारा सृष्टिहरूमा 
टोलाउँछन् आँखा 
एकोहोरिन्छ्न् सोच र सपनाहरू ! 

मेरा यी एकजोडी शून्य आँखा 
दूरको क्षितिज नियाल्दै 
उनको कमिज टटोल्दै 
खोजिरहन्छ्न् उनलाई 
यो बिरानो धरती 
हजार खोला तरेर 
हजार पहाड नाघेर 
उनको रापिलो अँगालो 
खोज्छ यो चिसो छाती ।

म तन्‍नेरिन्छु 
उनी मुस्काउँछन् 
उनका सेताम्मे गालाका फाँटहरूमा ! 

 

  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया