चीनलाई रोक्न अब अमेरिकालाई पनि मुस्किल, किन?

सन् २००१ मा दुईवटा यस्ता घटना भए जसले विश्वलाई हल्लाइदियो । दुईमध्ये पहिलो घटना थियो– ‘सेप्टेम्बर ११’ । अर्थात् इस्लामिक कट्टरपन्थी समूह अलकायदाले अमेरिकामा आक्रमण गरेको दिन । 

उक्त दिन अमेरिकाको वर्ल्ड ट्रेड सेन्टर र पेन्टागनमा अलकायदाले एकसाथ जहाज लगेर ठोकेको थियो । उक्त घटनामा कयौंको ज्यान गयो, कयौं घाइते भए । सबैभन्दा शक्तिशाली र सुरक्षित राष्ट्रमाथि भएको यो आक्रमणका कारण विश्व हल्लिएको थियो । 

दोस्रो घटना थियो– सेप्टेम्बर ११ को ठिक तीन महिनापछि ११ डिसेम्बर, जसले २१ औं शताब्दीमा विश्वका सबै देशलाई प्रभाव पार्नेवाला थियो । त्यो घटना थियो–  विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रवेश । 

डब्लुटिओमा चीनको प्रवेशले अमेरिका, युरोप र एसियाका धेरैजसो देशको खेल नै बदलियो । चीनको आगमनसँगै विश्व व्यापारमा नयाँ तौरतरिकाले प्रवेश पाए । विश्व व्यापारमा राज गरिरहेका देशहरूलाई डर पैदा भयो– कतै चीनले उछिन्ने त होइन । 

डब्लुटिओमा चीनको प्रवेश– यसको आर्थिक र भूराजनीतिक महत्व बढी थियो । त्यसैले आम सर्वसाधारणले यसलाई बढी ध्यान दिएनन् । विश्वमा जुन आर्थिक संकट देखियो त्यसमा पनि यसबाट सिर्जना भएको असन्तुलन एक कारण थियो ।
 
अन्य देशको तुलनामा चीनमा श्रमको मूल्य सस्तो पर्छ । यसैकारण विश्वमा उत्पादनसँग जोडिएका कम्पनीहरू चीनमा सरे । जी–७ राष्ट्रले त यसको खुलेर विरोध गरे । तर केही लागेन । उल्टो जी–७ राष्ट्रमा घरेलु असन्तुष्टि बढ्यो । 

अमेरिकी प्रयास विफल 



पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भनेका थिए, ‘लोकतन्त्रको सबैभन्दा ठोस मूल्य मान्यतामध्ये एक आर्थिक स्वतन्त्रतालाई चीनमा प्रवेश गराउँदा विश्वमै सबैभन्दा बढी जनसंख्या भएको देश (चीन) राजनीतिक स्वतन्त्रताको मार्गमा अघि बढ्नेछ ।’ चीनलाई डब्लुटिओमा प्रवेश दिँदा धेरै आलोचना भएपछि क्लिन्टनले यस्तो जवाफ दिएका थिए । 

उनले थप स्पष्ट पारेका थिए, ‘जब मानिसहरूलाई सपना देख्ने मात्र होइन सपना पूरा गर्ने पनि स्वतन्त्रता हुन्छ तब उनीहरू आफ्नो कुरा सुनाउन थाल्नेछन् ।’ तर अमेरिकी यो नीति विफल भयो । चीन आफ्नो शैलीमा तीव्र रूपमा अघि बढ्यो जहाँ लोकतान्त्रिक मूल्यमान्यतालाई कुनै स्थान थिएन । 



अहिले चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश हो । उसको लक्ष्य पहिलो बन्नु हो, जसतर्फ चीन अग्रसर छ । चीनलाई डब्लुटिओमा सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए अमेरिकी व्यापार प्रतिनिधि चार्लीन बारशेफ्स्कीले । उनले हालै वाशिङ्टन इन्टरनेसनल ट्रेड एसोसिएसनको कार्यक्रममा चीनको आर्थिक मोडल पश्चिमी विचारभन्दा फरक भएको टिप्पणी गरेका थिए । 

‘तपाईँ राजनीतिक नियन्त्रणमा एक इनोभेटिभ समाज बनाउन सक्नुहुन्न,’ उनले चीनलाई लक्षित गर्दै भनेका थिए । चार्लीनले आफ्नो भनाइलाई थप स्पष्ट पारे, ‘मेरो भनाइको अर्थ यो होइन की चीनको नविन क्षमताका कारण उसको आर्थिक अवस्था मजबुद भएको हो । मैल भन्न चाहेको यो हो– पश्चिमी देशले जुन प्रणालीलाई असंगत मानेका थिए, खासमा त्यो असंगत प्रणाली थिएन ।’ 

चीनको चौतर्फी प्रगति  

सन् २००० भन्दा अगाडि विश्वमा चीनले आफ्नो दुईथरी पहिचान बनाएको थियो । पहिलो, प्लास्टिकका विभिन्न सामान बनाउने र दोस्रो सस्तो सामानको उत्पादनकर्ता । चीनले बनाइरहेका वस्तु विश्वलाई आवश्यक त थियो तर यसले विश्वलाई बदल्न भने सक्दैनथ्यो । र, उसले यसकै बलमा शक्ति राष्ट्रलाई हराउन सक्दैनथ्यो । 

विश्व कारोबार सूचीमा चीन माथि उक्लदै गर्दा विश्व बजारमा एउटा ठूलो परिवर्तन आएको छ । काम गर्न इच्छुक चिनियाँ जनता, सुपर हाइटेक फ्याक्ट्री, चीन सरकार र पश्चिमी बहुराष्ट्रीय कम्पनीबीच खास सम्बन्ध बन्दा यस्तो शक्तिशाली गठबन्धन बन्यो जसले संसारको मुहार नै फेरिदियो । 

त्यसपछि चीन विस्तारै विश्वको सबैभन्दा ठूला कम्पनीको आपूर्ती चेनको हिस्सा बन्न थाल्यो । चीनसँग सस्तो मजदुरको सेना नै थियो जसले पश्चिमी उच्च जीवनस्तरको लागि आवश्यक हरेक सामान बनाइरहेका थिए । अर्थशास्त्रीले यसलाई ‘आपूर्ती झट्का’ को रूपमा व्याख्या गरे । यसको प्रभाव सबैलाई चकित पार्ने खालको थियो । यसको असर आज पनि संसार भर देखिइरहेको छ ।

विश्व अर्थ व्यवस्थामा चीन सहभागी हुँदा धेरै ठूला उपलब्धि हासिल भएका छन् । उसले सबैभन्दा ठूलो उपलब्धि ठूलो जनसंख्यालाई गरिबीबाट बाहिर निकालेको छ । चीन डब्लुटिओमा सहभागी हुनुअघि उसको ५० करोड जनसंख्या गरिबीको रेखामुनि थियो । आज यो संख्या शून्यमा झरेको छ । यो बीचको चीनको अर्थ व्यवस्था १२ गुना बढेको छ । चीनको विदशी मुद्रा भण्डार १६ गुना बढेर २.३ ट्रिलियन (२३ खर्ब) अमेरिकी डलर पुगेको छ ।

सन् २००० मा चीन उत्पादन आयातमा विश्वको सातौं नम्बरमा रहेको थियो । त्यसपछि छिट्टै चीन १ नम्बरमा पुग्यो । चीनमा अहिले आर्थिक प्रगतिदर प्रतिवर्ष ८ प्रतिशत छ । एकसमय उसको आर्थिक प्रगतिदर १४ प्रतिशतसम्म पुगेको थियो । 

कन्टेनर जहाज विश्व व्यापारको एक मानक हो । डब्लुटिओमा सहभागी भएलगत्तै चीनको कन्टेनरको संख्या ४ करोडबाट बढेर ८ करोड पुगेको छ । सन् २०११ मा डब्लुटिओमा सहभागी भएको एक दशक पूरा हुँदा चीनको आउने–जाने  कन्टेनरको संख्या तीन गुना बढेर १२ करोड ९० लाख पुगेको थियो । 

पछिल्लो वर्ष चीनको कन्टेनरको संख्या २४.५ करोड पुगेको थियो । चीन फर्कने आधा कन्टेनर खाली हुने गर्छन् भने चीनबाट जाँदा सबै कन्टनेर भरिएर जाने गर्छन् । 

पूर्वाधारमा पनि परिवर्तन 

चीनको हाइवे (राजमार्ग) नेटवर्क पनि तीव्र गतिमा बढिरहेको छ । सन् १९९७ मा चीनमा राजमार्गको लम्बाइ ४ हजार ७०० किलोमिटर थियो । यो सन् २०२० सम्म आइपुग्दा बढेर १ लाख ६१ हजार किलोमिटर पुगेको छ । 

चीनसँग अहिले विश्वमा सबैभन्दा लामो राजमार्ग नेटवर्क छ । उसका दुई लाखभन्दा बढी जनसंख्या भएका ९९ प्रतिशत सहर राजमार्गसँग जोडिएका छन् । राजमार्गको  विकाससँगै चीनलाई उत्पादन बढाउन मेटल, इन्धन, खनिजको आवश्यकता पर्यो । चीनमा तीव्र गतिमा बढिरहेको अटोमोबाइल र इलेक्ट्रिकल एप्लायन्स इन्डस्ट्रीमाको लागि स्टिल आवश्यक थियो । 

वर्ष २००५ मा चीन पहिलोपटक स्टीलको निर्यातकर्ता बनेको थियो । अहिले ऊ विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता बनिसकेको छ । सन् १९९० को दशकमा चीन प्रत्येक वर्ष दश करोड टन स्टिल उत्पादन गथ्र्यो । डब्लुटिओको सदस्य बनेपछि चीनले सन् २०१२ सम्म आइपुग्दा ७० करोड टन स्टिल उत्पादन गर्न थाल्यो । सन् २०२० मा चीनले एक सय करोडभन्दा बढी स्टिल उत्पादन गरेको थियो । 

विश्वमा  अहिले जति स्टिल उत्दापन हुन्छ त्यसको ५७ प्रतिशत हिस्सा चीनको मात्र छ । सन् २००१ मा विश्वभर जति स्टिल उत्पादन हुन्थ्यो त्यति अहिले चीन एक्लैले गर्न थालेको छ । सेरेमिक टाइल तथा उद्योगमा काम आउने कयौं उत्पादनमा पनि चीनले यसरी नै उत्पादन क्षमता र निर्यात बढाएको छ । 

विद्युतिय सामग्री, कपडा, खेलौना र फर्निचरका क्षेत्रमा पनि चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हो । चीनले विश्वलाई उत्पादनको मूल्य घटाउन बाध्य बनाएको छ । चीन डब्लुटिओमा सहभागी बनेपछि अर्थशास्त्रीले उत्पादनको मूल्यमा चकित पार्ने गरी गिरावट आएको तथ्याङ्क पेस गरेका थिए । 

सन् २००० देखि २००५ सम्मको अवधिमा चीनले कपडाको निर्यात दुई गुना बढाएको थियो । त्यतिबेला विश्व कारोबारमा चीनको हिस्सा पाँचौंबाट तेस्रो नम्बरमा आयो । सन् २००५ पछि कपडा क्षेत्रमा उत्पादन कोटा हटाइयो । त्यसपछि चीनको हिस्सा झन् बढ्यो । 

पछिल्ला वर्षहरूमा चीनमा उत्पादित कपडा महँगो भएपछि बंगलादेश र भियतनाममा कपडाको उत्पादन बढेको छ । विश्व बजारमा कपडा उत्पादनमा चीनको हिस्सा अहिले ३२ प्रतिशत रहेको छ । 

‘चीनलाई सहभागी गराउनु गल्ती थिएन’

चीनलाई डब्लुटिओमा सहभागी गराउन महत्वपूर्ण भूमिका खेल्ने मन्त्री लोङ्ग योङ्ग्टुले बितेका वर्षको अनुभवका आधारमा भनेका छन्, ‘चीनलाई डब्लुटिओमा सहभागी गराउनु अमेरिका र पश्चिी देशको ऐतिहासिक भूल थियो भन्ने म मान्दिनँ । म यो मान्छु की यसले दिने फाइदा कहिले तल कहिले माथि भइरहन्छ । पूर्ण तस्बिर के हो भने जब चीनले आफ्नो विकास गरिरहेको थियो तब विश्वले पनि ठूलो निर्यात बजार पाएको थियो ।’ 

सम्पत्तिको बाँडफाँड बराबर नभए सरकारले घरेलु नीतिमार्फत ठिक पार्नुपर्ने उनको भनाइ छ । तर यस्तो गर्न सहज नहुने उनको बुझाइ छ । ‘हुनसक्छ कसैलाई आरोप लगाउन सहज हुन्छ । तर मलाई यो लाग्दैन की कसैलाई आरोप लगाउँदैमा समस्या समाधान हुन्छ । त्यसो हो भने चीनको अनुपस्थितिमा अमेरिकाको उत्पादन उद्योग मेक्सिको पुग्छन् त?,’ योङ्ग्टुले भने । 

उनले आफ्नो कुरा अझ सरल रूपमा बुझाउन चिनियाँ एक गिलास उत्पादन उद्योगको उदाहरण दिए जसले अमेरिकामा उद्योग खोल्न निकै संघर्ष गर्यो । उनी थप्छन्, ‘उसलाई त्यहाँ कर्मचारी खोज्न नै मुस्किल पर्यो । ती उद्योगीले मलाई भने– अमेरिकी कामदारको पेट त मेरो पेटभन्दा पनि ठूलो छ ।’ 

कुरा घुमेर फेरी त्यहीँ आइपुग्छ । चीनले डब्लुटिओमा प्रवेश गरेर ठूलो सफलता हात पारेको छ । अझै पनि बाइडेन प्रशासन पूर्ववर्ती प्रशासनले लगाएको प्रतिबन्धको नीति बदल्ने मुडमा देखिँदैन । बरु थप्दै लगेको छ । 

सुरुमा चीनलाई पश्चिमी देशको ‘वर्कशप’को रूपमा हेरिएको थियो । तर चीनले डब्लुटिओको उपयोग त्योभन्दा पनि माथि उठेर महत्वपूर्ण उपलब्धि हासिल गर्न गर्यो । चीनले विश्वभर उद्योग कलकारखाना विस्तार गरेको छ, जसको पछाडि चीन सरकार उभिएको छ । अमेरिकाले कूटनीतिक र आर्थिक रूपमा चीनलाई रोक्ने प्रयास गरिरहेको छ । यसैको लागि अमेरिका एसिया र युरोपमा गठबन्धन बनाइरहेको छ । 

‘चीन केही समययता एकदमै अलग बाटोमा हिँडिरहेको छ । यसको अर्थ के हो? राष्ट्र केन्द्रित आर्थिक मोडललाई मजबुद बनाउन उसले ठूलो मात्रमा सहुलियत दिइरहेको छ । चीन एक महाशक्तिको रूपमा उदाइरहेको छ र नयाँ नेता बनिरहेको छ । यसलाई चीनले चौथो औद्योगिक क्रान्ती भनेको छ,’ अमेरिकी पूर्वव्यापार प्रतिनिधि बारशेफ्स्की भन्छन् । 

२० वर्षअघि गरिएको एउटा निर्णयले विश्वलाई अहिले यसरी बदलेको छ जसमा धेरैले त्यतिबेला चासो नै दिएका थिएनन् । चीनलाई भने यो निकै ठूलो सफलता हो । पश्चिमी देशहरूको भूराजनीतिक रणनीति फेल भइसकेको छ । यदि आर्थिक दृष्टिकोणबाट भन्ने हो भने २० वर्ष अघिको निर्णयले पश्चिमी देश पुरानो चीन जस्तो बन्दै गएका छन् । –बिबीसी
 

  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ८:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया