श्रमको सम्मान र साहित्यका लागि ‘बुटपालिस’

नेपाली साहित्यको इतिहास करिब दुई सय वर्षको मात्र छ । तत्कालीन नेपालमा साहित्य लेखिनु चानचुने कुरा थिएन । राणाकालमा खुलेरै हरेक विषयमा साहित्य सिर्जना गर्न बन्देज थियो । सुब्बा कृष्णलाल अधिकारीले ‘मकैको खेती’ लेखेकै कारण जेल पर्नु पर्यो । बन्दी अवस्थामै उनको ज्यान गयो ।

हुन त राणाकालमा साहित्य नलेखिएको भने होइन, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण सम यही समयमा जन्मिए र साहित्यिक लेखनमा चर्चित पनि भए । तर उनीहरू विशुद्ध साहित्यिक लेखनमा मात्र सक्रिय रहे ।  

२००७ सालमा राणाशासन समाप्त भएपछि लेखक–साहित्यकार अलिक खुला भए । उनीहरू समाजको हितका लागि साहित्य रचना गर्न थाले । तर, २०१७ सालमा महेन्द्रले पञ्चायती शासनव्यवस्था लागू गरेपछि लेखन–प्रकाशनमा अंकुश लाग्यो । लेखक–साहित्यकारले रचना प्रकाशनका लागि प्रशासनबाट ‘सेन्सर’ गराउनुपर्थ्यो । 

२०२० को दशकपछि प्रशासनको यो बन्देजबाट लेखक–कवि बिस्तारै जुर्मुराउन थाले । लेखक–कवि संगठित हुन थाले । आफ्ना विचार लेखनमार्फत सर्वसाधारणसम्म पुर्याउन अनेका समूह तथा साहित्यिक जमात गठन हुन थाले ।

०००

२०२६ सालमा शैलेन्द्र साकार, कविताराम, रमेश श्रेष्ठ र प्रकाश प्रेमी मिलेर ‘अस्वीकृत जमात’ गठन गरे । समूहमा रहन थालेपछि विभिन्न विषयमा थाहा पाउँदै गए । कलकत्ताको ‘भुकी पिँढी’ अभियानमा लागेको क्रान्तिकारी समूहसँग उनीहरूले भेट गरे । समूहले उनीहरूबाट केही कुरा बुझे, सिके । उनीहरूको विचारबाट प्रभावित भए । 



यही क्रममा मोहन घिमिरे र ध्रुव सापकोटासँग उनीहरूको भेट भयो । ‘अस्वीकृत जमात’को विचारमा सत्य कुराको खोजी नहुने हो भने कविता लेख्नु हुँदैनथ्यो । कुनै पनि पेसा सानोठूलो हुँदैन भन्ने थियो उनीहरूमा । उनीहरूलाई लाग्थ्यो– साहित्यमा सबैको कथा आउनुपर्छ । समाजको कथा आउनुपर्छ । भुइँमान्छेको कथा आउनुपर्छ ।

मुलुकमा पञ्चायती शासनव्यवस्था थियो । पञ्चायतले पत्रपत्रिका निकाल्न बन्द गरेको थियो । जति पनि पत्रपत्रिका निस्कन्थे, ती सबै सरकारी निकायबाट प्रकाशन हुन्थे । ती पत्रपत्रिकामा खुला विचार राख्न पाइँदैनथ्यो । नयाँ विचारलाई ठाउँ दिँदैनथे सम्पादक/प्रकाशकले । लेखकहरूका रचना/विचारमा कैंची लाग्थ्यो । 



यही क्रममा सो समूहले ‘मन्त्र’ नामक साहित्यिक पत्रिका निकाल्न सुरु गर्यो । प्रशासनले लेखनमा प्रतिबन्ध लगाएको समयमा उनीहरूले स्वतन्त्रताको खोजी गरे । लेखन प्रकृति र आकाशमा उड्नेजस्तो कल्पनामा मात्र केन्द्रित हुनु हुँदैन भन्ने ठाने । लेखनमा भुइँमान्छेका कुरा आउनुपर्छ भन्ने उनीहरूको मूल ध्येय रह्यो । त्यसका लागि केही गर्ने सुर कसे । 

पत्रिका निकाल्न आर्थिक अभाव थियो । पत्रिका प्रकाशनका लागि आर्थिक स्रोत कसरी जुटाउने भन्ने सल्लाह भयो । कविताराम, शैलेन्द्र, मोहन र ध्रुवले मिलेर एउटा निर्णय गरे । उनीहरूले जुत्ता पालिस गर्ने निर्णय गरे । प्रशासनलाई दबाब दिनुका साथै आर्थिक स्रोत पनि जुट्ने उनीहरूमा आत्मविश्वास पलायो । अनि आन्दोलनको नाम राखे– ‘बुटपालिस आन्दोलन’ ।

आन्दोलनको कुरा निकाल्दा हत्तोसाही गर्नेको कमी थिएन । धेरैले उनीहरूलाई ‘डिमोटिभेट’समेत गरे । शैलेन्द्र सम्झिन्छन्, ‘किशोर नेपाल आएर केही गर्न सक्दैनौ भनेको अहिले पनि सम्झिरहेको छु ।’

युवाजोस थियो उनीहरूमा । दृढसंकल्पका साथ लागिसकेका थिए उनीहरू । कसैको कुराले उनीहरू पछि हट्न सक्ने अवस्थामा थिएनन् । धोबीखोलास्थित शैलेन्द्रको भाडाको कोठामा रातभर बसेर उनीहरूले आन्दोलनका लागि ब्यानरमा नारा लेखे । नारा थियो– ‘युवा लेखनको सहयोगार्थ बुटपालिस अभियानलाई सहयोग गरौं ।’

आन्दोलनको चर्चा व्यापक भइसकेको थियो । ब्यानर लेख्दै गर्दा नारायण ढकाल, भाउपन्थी, काशीनाथ तमोटलगायत पनि आइपुगे । बिहान ७ बजे न्युरोड पीपलबोट पुगेर त्यहाँ जुत्ता पालिस गरेर बसेका काल्चे सार्कीसँग उनीहरूले पालिसका सामान भाडामा लिए । जुत्ता पालिस गर्ने तरिका सिके । एक दिनको भाडा पचास रुपैयाँ दिएर उनीहरू पालिस गर्न बसे ।

भित्तामा ब्यानर झुन्ड्याइयो । जुत्ता पालिस गर्नु कुनै नौलो कुरा भएन । तर, उनीहरू कोट–पेन्ट लगाएर जुत्ता पालिस गर्न बसेका थिए । एकैछिनमा मान्छेको हूल जम्मा भयो । प्रहरी आएर के गरेको भनी बुझ्न थाले । सबैलाई अनौठो लाग्यो । शैलेन्द्र भन्छन्, ‘कसैले त चलचित्रको सुटिङ होला पनि भने ।’

समाजमा भइरहेको विभेदविरुद्धमा आवाज उठाउनका लागि नै उनीहरूले यो कदम चालेका थिए । लेखक नारायण ढकाल भन्छन्, ‘हामीले सत्तालाई सांकेतिक रूपमा दबाब दिएका थियौं ।’ 

जुत्ता पालिस गराएबापत पैसा यत्ति नै दिने भन्ने थिएन । सहयोगका लागि जसले जति पनि दिन सक्थ्यो । 

आन्दोलनमा अनेक मान्छे आए । विचारमा विविधता भएका मान्छेको उपस्थिति आन्दोलनमा भयो ।

त्यहाँ उपस्थित हुनेमध्येका एक थिए नाट्यसम्राट बालकृष्ण सम । उनले जुत्ता फुकालेर शैलेन्द्रलाई पालिस गर्न दिए । पालिस गरेपछि सहयोगस्वरूप शैलेन्द्रको हातमा एक रूपैयाँको पाँचवटा नोट राखिदिए ।

उनीहरूले त्यो दिनभर बुटपालिस गरे । साँझ परेपछि खाजा खान भनेर असन गए । बाटामा मनु ब्राजाकी र कुमुद देवकोटा भेटिए । खाजा खाएर ब्यानर लिन भनी फर्किएर आउँदा त्यहाँ केही थिएन । 

फर्किएर आउँदा केही मान्छे उनीहरूलाई कुरेर बसेका रहेछन् । भेट हुनेबित्तिकै उनीहरूलाई कुट्न थालेछन् । शैलेन्द्र भन्छन्, ‘कुट्न थालेपछि हामीले पनि उनीहरूलाई कुट्यौं । खासमा उनीहरू सरकारी सुरक्षाकर्मी रहेछन् । हामीले त्यो कुरा थाहै पाएनौं ।’

लेखनलाई स्वतन्त्रता र हरेक श्रमलाई सम्मान दिनुपर्छ भन्ने मात्र उनीहरूको माग थिएन । उनीहरूले लेखनमा मान्छेको कुरा पनि लेखिनुपर्छ भन्ने माग गरेका थिए । शैलेन्द्र भन्छन्, ‘त्यो समयमा राजा–महाराजाको गुनगान, भगवान् र राक्षसका विषयलाई मात्र लेख्ने गरेका थिए । हामीले मान्छेको कथा पनि लेखिनुपर्छ भन्ने माग राखेका थियौं ।’

लेखनमा हरेक पेसा, समुदाय र स्तरका कुरा लेखिनुपर्छ भन्ने माग गरेका थिए । साहित्यजगत्मा नयाँ कुरा थियो त्यो । भुइँमान्छेलाई लिएर कमै मात्र साहित्य सिर्जना गरिन्थे ।

विरोध र विद्रोहको भाषाबाट बहुदल माग गर्न पनि आन्दोलन गरेको बताउँछन् शैलेन्द्र । पञ्चायती शासनको समयमा खुलेर यी विषयमा बोल्दा राज्यबाट सजाय हुन्थ्यो । त्यसैले उनीहरूले सांकेतिक रूपमा यस्ता मुद्दा उठाएको बताउँछन् उनी । भन्छन्, ‘पछि छत्तीस सालमा हामीले खुलेरै बहुदलको समर्थनमा आवाज उठाएका थियौं ।’

पीपलबोटमा गरेको आन्दोलन एक दिनभन्दा बढी चलेन । तर, आन्दोलनलाई ‘फलोअप’ गर्दै पछि पनि केही आन्दोलन भए । त्यसको भोलिपल्ट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिए । त्यहाँ तत्कालीन राजा वीरेन्द्रका भाइ धीरेन्द्र आएर जुत्ता पालिस गराएका थिए । २०७४ सालमा पनि कांग्रेसका कार्यकताले पार्टीभित्रको भ्रष्टाचारका विरुद्धमा ‘बुटपालिस आन्दोलन’को सिको गर्दै बानेश्वरमा यस्तै प्रकृतिको आन्दोलन गरेका थिए ।

‘अस्वीकृत जमात’ले गरेको त्यो आन्दोलनको निकै चर्चा भयो । स्वदेशी तथा भारतीय पत्रपत्रिकामा आन्दोलनको विषयलाई लेखियो पनि ।

आन्दोलन गरेकै कारण उनीहरूको जागिरमा भने असर गर्यो । त्रिभुवन विश्वविद्यालयमा कार्यरत शैलेन्द्रको केही वर्षसम्म प्रमोसन भएन । पछि कृषि विकास बैंकमा आएपछि पनि उनको बढुवा रोकियो । बैंकमा भोक–हडताल गरेपछि मात्र उनको बढुवा भयो । शैलेन्द्रलाई जस्तै अन्यलाई पनि जागिरमा ‘ब्ल्याक लिस्ट’मा राखियो ।

त्यो समयमा उनीहरूको उद्देश्य पूर्ण रूपमा प्राप्त त भएन, तर पनि उनीहरू विभिन्न माध्यमबाट आफूले गर्न सक्ने गरिरहे । 

समयसँगै देशमा परिवर्तन आयो । नेपाली साहित्यमा विविधता आयो । समाज र भुइँमान्छेका कथा पनि लेखिन थाले । साहित्यकार आकाशमा मात्र उडेनन्, जमिनका कुरा पनि लेख्न थाले ।

अहिले समय झन् बदलिएको छ । त्यसबेलाको जस्तो लेख्नका लागि अहिले कुनै डर छैन । त्यतिखेर केही लेख्नु परे हजारपल्ट सोचविचार गर्नुपथ्र्यो । कुन बेला शासकको तारो बन्नु पथ्र्याे कसैलाई हेक्का हुँदैनथ्यो । फरक विचार राख्नेलाई निकै डर थियो । नारायण भन्छन्, ‘लेखनलाई स्वतन्त्र बताउन हामीले आवाज उठायौं ।’

लेखनमा हिजो सत्तासँग डराउनुपर्नेजस्तो अवस्था अहिले छैन । अहिले खुला रूपमा आफ्नो विचार प्रस्तुत गर्न लेखकलाई छुट छ । तर, लेखनमा लागेका सर्जकलाई स्थापित गर्ने पक्षमा अहिलेको समाज नलागेकोमा ढकाल गुनासो गर्छन् । 

सामाजिक रूपमा भने लगत्तै केही परिवर्तन देखिएन । त्यो युगमा सामाजिक तथा राजनीतिक रूपमा पनि उठाएका मुद्दा पूरा हुने वातावरण नभएको बताउँछन् शैलेन्द्र । उनी भन्छन्, ‘हामीले गरेको आन्दोलनले पछि राजनीतक रूपमा भएका आन्दोलनमा केही प्रभाव पारेजस्तो लाग्छ ।’

आन्दोलन गर्नुको उद्देश्य अहिलेको अवस्थामा केही मात्रामा पूरा हुँदै गएको बताउँछन् शैलेन्द्र । साहित्यबाट समाज परिवर्तन गर्न निकै समय लाग्ने अनुभव उनी सुनाउँछन् । भन्छन्, ‘हामी कलमको बाटो हिँड्यौं । त्यसैले परिवर्तन निकै सुस्त भइरहेको छ ।’ अहिले पनि नेपाली समाजबाट विभेदकारी सोच पूर्णरूपमा बाहिरिन नसकेको उनको बुझाइ छ ।

वर्तमान नेपाली साहित्यमा लागेकाहरू त्यो बेला उठाएका विषयमा संवेदनशील रहेको शैलेन्द्र बताउँछन् । उनीहरूले उठाएको मुद्दा इतिहासको पानामा मात्र रहेन । उनीहरूपछिका पुस्ताले ती विषय समाते । ती मुद्दालाई पुनर्जीवन दिइरहेको भन्न सकिने उनको बुझाइ छ ।

तत्कालीन समयको साहित्यको नयाँ मार्गका लागि उनीहरूले आन्दोलन गरे । सबै संगठित भएर मात्र उनीहरूको आन्दोलन सम्भव भएको थियो । तर, अहिलेको साहित्यमा कवि तथा लेखक संगठित नभएको शैलेन्द्र बताउँछन् । ‘अहिले धेरै कुरा बाँडियो,’ आफ्नो समयमा बहुदल मात्र भएको सम्झना गर्दै उनी भन्छन्, ‘बाँडिएकाहरूमा सामूहिकता छैन, संगठित शक्ति छैन ।’

अहिलेका लेखक/साहित्यकार विभिन्न राजनीतिक दलमा विभाजित भएको बताउँछन् नारायण ढकाल । उनी भन्छन्, ‘लेखकहरू पार्टीको पछिपछि केही पाउने आशामा हिँडेका छन् ।’ सामूहिकताको अभावमा अहिलेको साहित्य चलिरहेको उनको धारण छ । 

त्यो बेला संख्यामा लेखक तथा साहित्यकार थोरै भए पनि सामूहिकता र एकताले बाँधिएका थिए । जसकारण उनीहरूले आवाज उठाउन सफल भए । तर, अहिलेको समयमा संख्यामा ठूलो तर सबै जना विभाजित भएको अवस्था रहेको ढकाल बताउँछन् । ‘हामीले आन्दोलन गर्दाको समयमा सामूहिकता थियो, एकता थियो ।’ उनी भन्छन्, ‘सहकार्य भएकाले धेरै कुरा सम्भव थियो । तर, अहिले सबैजना विभिन्न पक्षबाट बाँडिएका छन् । नैतिक पतन भएका लेखक–साहित्यकारको झुण्डको संख्या धेरै छ ।’
 

  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार ८:४३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया