एमाले केन्द्रीय कमिटीको मनोनयन र जिम्मेवारीप्रति रावलको असन्तुष्टि

नेकपा (एमाले)का नेता डा. भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनयन, पोलिटब्युरो तथा स्थायी कमिटी गठन र कार्यविभाजनप्रति असन्तुष्टि जनाएका छन् । उनले केन्द्रीय कमिटीले गरेका ‘विनामापदण्ड’को निर्णयले पार्टीमा गुटबन्दी बढेको भन्दै कडा आपत्ति व्यक्त गरेका छन् ।

सोमबार अछाम साँफेबगर नगरपालिका–१४ पातलकोटमा रहेको कालिका माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रमा नेता रावलले एमालेमा भर्खरै भएको मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीलाई बढावा दिएको देखिएको उल्लेख गरे ।

‘देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुट स्वार्थ प्रेरित भएको छ’, उनले भने ‘पार्टी अध्यक्षबाट भएका गुटबन्दी बढावा दिने निर्णय तत्काल सच्याइनु पर्छ ।’

नेता रावलले अध्यक्ष ओलीले विगतमा पार्टीमा असन्तुष्ट पक्षलाई १० बुँदे सहमतिमार्फत समेट्ने क्रममा कसैलाई पक्षपात गर्दिनँ भने पनि त्यस्तो भएको देखिएको बताए । देश र पार्टी हितविरुद्ध हुने निर्णयको आफूले खबरदारी गर्दै आएको उनको भनाइ छ ।

नेता रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पास गर्ने षड्यन्त्र पूरा हुन नदिने दावी गरे । उनले सत्तारुढ दलका नेताहरू पद जोगाउनको लागि राजनीतिक अस्थिरता भएको बेलामा संसदबाट अनुमोदन गर्ने षडयन्त्रमा लागेको धारणा व्यक्त गरे । एमसीसीलाई पास गरेर नेपाललाई उपनिवेश बनाउने षड्यन्त्र भइरहेको भन्दै देशभक्त नेपालीले त्यसको विरोध गर्नुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १८:१९:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया