कांग्रेस महाधिवेशन
देउवाले पहिलो चरणमा जित्न सकेनन्, कस्तो आउला दोस्रो चरणमा नतिजा?

नेपाली कांग्रेसको १४ औँ सभापति पदका लागि भएको पहिलो चरणको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले जित्न सकेनन् । उनले पटकपटक भनेका थिए, ‘पहिलो चरणमै निर्वाचन जित्नुपर्छ ।’ तर, विधानअनुसार प्राप्त गर्नुपर्ने ५१ प्रतिशत मत प्राप्त गर्न देउवा असफल भए ।

अब दोस्रो चरणको निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले आजै निर्वाचन गर्ने जनाएको छ । देउवा दोस्रोपटक सभापति हुन चुनावी मैदानमा उत्रिएका हुन् । प्रधानमन्त्री हुँदै पार्टीको सभापति हुन फेरि चाहेका उनलाई निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइराला र प्रतिद्वन्द्वीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले राेक्न सफल भएका छन् । 

दोस्रो चरणको निर्वाचनमा देउवालाई हारको डर छ । उनले यसअघि भनिसकेका पनि छन्, ‘पहिलो चरणमा जित निकाल्न नसके दोस्रो चरणमा अफ्ठ्यारो पर्न सक्छ ।’

आइतबार काठमाडौंको कमलपोखरीमा पनि उनीसँग चुनावी गठबन्धन गरेका पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै पत्रकार सम्मेलन गरेर देउवाले सभापतिमा पराजित भए प्रधानमन्त्रीबाट हटाउँछन् र सत्तारुढ गठबन्धन पनि टुट्ने बताएका थिए । 

देउवाको बुझाई के हो भने दोस्रो चरणमा शेखर, प्रकाशमान र विमलेन्द्र एक ठाउँमा उभिन्छन् । त्यसो हुँदा सभापति हुन रोकिन्छु र शेखर सभापति हुन्छन् । 

हुन पनि यी तीन जना एक ठाउँमा उभिँदा पहिलो चरणमा प्राप्त मत सर्लक्कै दोस्रो चरणमा खसेको अवस्थामा शेखर सभापति हुने सम्भावना छ । अझ कल्याणको पनि मत थपिए शेखरलाई सहज हुने छाँट छ । 



सोमबार मतदानपछि प्रकाशमान र विमलेन्द्रले दोस्रो चरणमा निर्वाचन जाँदा देउवालाई सभापति हुनबाट रोक्ने बताइसकेका छन् । यस आधारमा उनीहरूको समर्थन शेखरलाई हुने सम्भावना अधिक देखिन्छ । 

फेरि, यी दुवै नेता पालैपालो देउवाबाट अलग भएका हुन् । १३ औं महाधिवेशन अघि सिंहले देउवालाई छाडेका थिए । १४ औँ महाधिवेशनमा आइपुग्दा निधिले छाडेका छन् । 



निधिले संस्थापन पक्षबाट यसपटक सभापति हुन चाहेका थिए । देउवाले मानेनन् । त्यसपछि निधि अलग भएका हुन् । सिंहले भने देउवाको कार्यशैलीलाई लिएर असन्तुष्टि जनाएका थिए । त्यसपछि देउवालाई छाडेर अलग भए । तर, यी दुवै नेता देउवाले २०५९ मा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा भने सँगै थिए । 

देउवालाई जित्न  एकको समर्थन 

कांग्रेसको १४ औँ सभापति बन्न भने देउवालाई प्रकाशमान र विमलेन्द्रमध्ये एक जनाको समर्थन आवश्यक छ । समर्थनबारे टुंगो लागेको छैन । 
समर्थन गरेको खण्डमा देउवाको सहज जित हुने देखिएको छ । 

त्यसकै लागि समर्थन जुटाउन सूत्रधारको रूपमा देउवाले उनका विश्वास पात्र बालकृष्ण खाँणलाई सिंह निवास चाक्सीबारी पठाएका छन् । त्यहाँ सिंह र खाँणबीच के कुरा भयो भन्ने बाहिरिएको छैन ।  

  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ९:९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया