देउवाको सपना चकनाचुर, दोस्रो चरणमा पनि नदिन सक्छन् सिंह र निधिले साथ

कांग्रेस सभापति पदको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले थप ८२ मत ल्याएको भए सभापति हुन्थे । त्यति मत ल्याउन सकेको भए खसेको ४ हजार ६८१ मतमध्ये ५१ प्रतिशत पुग्थ्यो र पहिलो चरणबाटै सभापति बन्ने उनको सपना पूरा हुने थियो । तर, उनले सो संख्यामा मत ल्याउन सकेनन् । अब उनको सपना चकनाचुर भएको छ ।

विधानअनुसार मत ल्याउन नसकेपछि उनले सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ । प्रतिस्पर्धाको क्रममा तेस्रो भएका प्रकाशमान सिंह वा चौथो भएका विमलेन्द्र निधिमध्ये एकजनाको समर्थन लिँदा मात्रै सभापति हुने उनको सम्भावना देखिएको छ । होइन भने देउवाले पराजय बेहोर्नुपर्ने हुन सक्छ । 

हुन त देउवा १३ औँ महाधिवेशनमा पनि दोस्रो चरणबाटै सभापति भएका हुन् । त्यसबेला तेस्रो भएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन पाएका थिए । त्यसपछि तत्कालीन निकटतम प्रतिद्वन्द्वी रामचन्द्र पौडेल पराजित हुन पुगे । 

के देउवालाई यसपटक दोस्रो चरणमा तेस्रो भएका सिंह र चौथो भएका निधिले सहयोग गर्लान्? यो प्रश्नबारे यसै भन्न सकिने अवस्था छैन । किनभने, देउवासँगै राजनीतिक रूपमा तिक्तता बढेपछि उनीहरू अलग भएका हुन् । त्यसले गर्दा देउवाले समर्थन पाउने सम्भावना न्यून देखिन्छ । 

भएन सिटौलाको समर्थन निर्णायक 

१३ औँ महाधिवेशनमा जसरी पूर्वमहामन्त्री सिटौलाको समर्थन सभापति हुन देउवाका लागि निर्णायक बनेको थियो । यसपटक सुरुमै समर्थन गर्दा पनि भएन । र, संस्थापन पक्षभन्दा इतर पक्षका विभिन्न उम्मेदवारलाई खसेको मत धेरै देखियो ।



जबकि, यसअघि ६१ जिल्लामा भएको निर्वाचनमा ३२ जिल्लाको सभापति देउवा पक्ष र दुई जिल्लाको सभापति सिटौला पक्षले जितेको थियो । ६ प्रदेशमध्ये पनि तीन देउवा र एक सिटौला पक्षले जितेको थियो । 

२७ जिल्ला र दुई प्रदेशमा इतर पक्षको जित पनि पहिलो चरणबाटै देउवालाई सभापति हुनबाट सफल भएको छ । जुन इतर पक्षको चाहना थियो । तर, इतर पक्ष विभक्त छ ।



देउवा पराजित भए के होला?

सभापति पदमा देउवा पराजित भएको अवस्थामा उनी पार्टी संसदीय दलको नेताबाट हटाइन सक्छ । हटाइए उनी प्रधानमन्त्री हुँदैनन् ।

देउवाले पनि आइतबार प्रधानमन्त्री भइरहन र सत्तारूढ गठबन्धनलाई निरन्तरता दिइरहन आफूलाई जिताउन मतदाताहरूलाई आह्वान गरेका थिए ।

करिब एक घण्टापछि शेखरले काठमाडौंको बत्तीसपुतलीस्थित एक फुडल्याण्डमा पत्रकार सम्मेलन गरी भने, ‘भोट माग्ने क्रममा देशको प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाले म सभापतिमा पराजित भए प्रधानमन्त्रीबाट हटाउँछन् भन्नुभएछ । यसो भनेर खल्लो पारिदिनुभयो, निराश पारिदिनुभयो । तर, म प्रण गर्छु, नतिजाले सरकार परिवर्तन हुन्छ ।’

शेखर यदि सभापति पदमा निर्वाचित भए देउवालाई संसदीय दलको नेताबाट हटाउने देखिन्छ । त्यसो हुँदा धार्मिक नेता पनि भनिने देउवाको सातपटक प्रधानमन्त्री हुने ज्योतिषको भविष्यवाणी पूरा नहुन सक्छ ।   


  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ९:४५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया