देश बुझ्ने नेताको खाँचो छ : पूर्वराष्ट्रपति डा‍‍. यादव

काठमाडौं– पूर्वराष्ट्रपति डा‍. रामवरण यादवले नेपालमा देश बुझ्ने नेताको खाँचो रहेको बताएका छन् । पत्रकार जगत नेपालद्वारा लिखित बाह्रखरी बुक्सको पहिलो पुस्तक ‘बिपीको विद्रोह’को यहाँ लोकार्पण गर्दै उनले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गइसके पनि अझै देश बनाउने नेताको खाँचो रहेको आवश्यकता औँल्याए । 

पूर्वराष्ट्रपति डा. यादवले हिमाल, पहाड र तराईलाई जोड्ने कुनै पार्टीमा नेता नदेखिएकाले यसतर्फ गम्भीर बन्न राजनीतिक नेतृत्वलाई आग्रह गर्दै विभेदको राजनीति अन्त्य गर्नसमेत राजनीतिक नेतृत्वलाई सुझाब दिए । 

गुट–उपगुटको राजनीतिमा नेता डुबेको छ, उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको विकासका लागि नेतृत्व सकारात्मक हुनुपर्छ, आफ्नो छवि सुधार्न तथा हिमाल, पहाड र तराईलाई जोडेर समुन्नत नेपाल बनाउनमा सबै राजनीतिक दल लाग्नुपर्छ ।’ 

पूर्वराष्ट्रपति डा. यादवले बिपीको विद्रोह पुस्तकले विसं २००७ देखि २०३७ सम्मको विवरण प्रस्तुत गरेको उल्लेख गर्दै बिपीलाई प्रजातान्त्रिक योद्धा र बहुआयामिक व्यक्तित्वको संज्ञा दिए । 

एक प्रसङ्ग कोट्याउँदै उनले सेना जनताका प्रतिनिधिको मातहतमा रहनुपर्ने कुरा तथ्यपरक रहेको बताए ।     

नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बिपीको आदर्शबाट नै आफू विद्रोहमा लागेको बताउँदै नेपालको लोकतान्त्रिक आन्दोलनमा बिपीको प्रेरणा जोडिएको बताए । 



‘बिपीलाई सानो घेरामा राख्नु हुँदैन, उनले भने, ‘बिपीको चेतना एउटा युगको चेतना हो, नेपाली समाजलाई आधुनिक युगमा प्रवेश गराउने तथा समाज र परिस्थिति हेरेर नीति लिनसक्ने व्यक्ति बिपी हुनुहुन्थ्यो ।’ 

पूर्वप्रधानमन्त्रीसमेत रहेका संयोजक डा. भट्टराईले बिपीले अधुरो छाडेको काम संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर गिरिजाप्रसाद कोइरालाले पूरा गरेको बताए । 



पुस्तकबारे टिप्पणी गर्दै त्रिभुवन विश्व विद्यालयका पूर्वउपकूलपति केदारभक्त माथेमाले बिपी सामाजिक, राजनीतिक दर्शक, साहित्य, कला, शिक्षा क्षेत्रका बहुआयामिक व्यक्तित्व रहेको धारणा व्यक्त गरे । 

समालोचक डा. ज्ञानु पाण्डेले बिपीमा आफूप्रति इमानदार हुनुपर्छ भन्ने दर्शन रहेको उल्लेख गर्दै विद्रोहको दर्शनको मुख्य अभिव्यक्ति नै दायित्व बोध भएको बताए ।
 
विद्रोहका लागि विद्रोह नभई देश, जनता र समाजका लागि विद्रोह गर्ने व्यक्ति बिपी कोइराला भएको बताउँदै उनले बिपीको सार्थक क्रियाकलापको दृष्टान्तलाई पुस्तकमा सुन्दर ढंगले प्रस्तुत गरिएको बताए । ‘प्रजातान्त्रिक आन्दोलनको इतिहासको केन्द्रबिन्दुमा बिपीलाई राखेर विद्रोहको सन्दर्भ पुस्तकमा छ, यो इतिहासको किताब हो, तर साहित्यक छ,’ पाण्डेले भने ।  

राजनीतिक विष्लेषक हरि शर्माले बिपीका जीवन संघर्ष पुस्तकले उजागर गरेको उल्लेख गर्दै पुस्तकले बिपीलाई राजनीतिक रुपमा विद्रोही स्थापित गरेको भए पनि उनी सामाजिक रुपमा पनि विद्रोही भएको बताए । क्रान्तिलाई पारदर्शी बनाउने नेताको रुपमा बिपीलाई चित्रण गर्दै उनले तस्बिर दिमागमा आउने गरी संवादको शैलीमा किताब बगेको टिप्पणी गरे । 

पुस्तकका लेखक जगत् नेपालले विभिन्न व्यक्तिले दिएको महत्वपूर्ण सूचनालाई समेत पुस्तकमा समावेश गरेको बताउँदै बिपीको विद्रोही भागमा पुस्तक केन्द्रित भएको धारणा व्यक्त गरे ।
 
‘बाह्रखरी डटकम’का सम्पादक प्रतीक प्रधानले प्रकाशनमा पनि उपस्थिति जनाउने चाहनास्वरूप पुस्तकको प्रकाशन थालेको बताउँदै विशेष गरी पत्रकारितासँग सम्बन्धित खोजीका र बौद्धिक ज्ञानका पुस्तक प्रकाशन गर्दै जाने जानकारी दिए । 
 

  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार १९:२३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया