कांग्रेस महाधिवेशनः उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । पार्टी कार्यालयमा केहीबेर अघिमात्र सकिएको मतगणनामा खड्का  र गुरुङ विजयी भएका हुन् । 

उपसभापतिका लागि ७ जनाको उम्मेदवारी परेको थियो । सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको समूहबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उपसभापतिका लागि उम्मेदवार थिए । त्यस्तै, सभापतिमा पराजित शेखर कोइरालाको समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङको उम्मेदवारी परेको थियो । 

त्यस्तै, प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा सुजाता कोइराला, विमलेन्द्र निधिको समूहबाट दिब्या शाह र प्यानलबिनै महेश आचार्यले उपसभापति पदका लागि उम्मेदवारी दिएका थिए । २ जना केन्द्रीय उपसभापति पदका लागि भएको निर्वाचनबाट खड्का र गुरुङ विजयी भएका हुन् । 

देउवा प्यानलबाट उम्मेदवारी दिएका खड्का देउवाका विश्वासिला पात्र मानिन्छन् । उनी १३ औं महाधिवेशनपछि पार्टीको महामन्त्रीको जिम्मेवारी सम्हालेका थिए । कांग्रेसमा देउवाको बलियो खम्बाको रुपमा परिचय बनाएका खड्का विगतमा पाँच पटक निर्वाचित सांसद र पाँचै पटक मन्त्री पनि भइसकेका छन् ।

०३१ सालबाट राजनीति यात्रा सुरु गरेका खड्का सुर्खेत कांग्रेसको सभापति, वीरेन्द्रनगरको मेयर, ०४८, ०५१ र ०५६ मा प्रत्यक्ष सांसद बनेका थिए । उनी ०६४ सालमा समानुपातिक सांसद बनेका थिए । 

त्यस्तै, विजयकुमार गच्छदार पनि देउवा प्यानलबाटै चुनाव लडेका हुन् । यसअघि पनि उनी उपसभापति पदमै निर्वाचित भएका थिए । 



ललिता निवास जग्गा प्रकरणमा नाम मुछिएसँगै गच्छदारको राजनीतिक जीवनमा भने ‘धब्बा’ लागेको छ । उनलाई बालुवाटारको ११३ रोपनी जग्गालाई ब्यक्तिको नाममा बनाएर भ्रष्टाचार गरेको आरोप लागेको थियो । 

उनी १० लाख धरौटी बुझाएर विशेष अदालतबाट केही समयअघि मात्र छुटेका थिए ।



२०२६ सालदेखि नेपाली कांग्रेसबाट राजनीतिक यात्राको थालनी गरेका गच्छदार मधेशका चर्चित नेता हुन् । २०१० साल माघ १९ गते जन्मिएका उनी मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का संस्थापक अध्यक्ष हुन्। यिनी संविधान सभाका सभासद पनि हुन् । गच्छदार मोरङ क्षेत्र नम्बर ७ र सुनसरी क्षेत्र नम्बर ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमको सभासदको रूपमा निर्वाचित भएका थिए । उपप्रधान एवम् भौतिक योजना तथा निर्माण मन्त्री समेत भइसकेका गच्छदार फेरि नेपाली कांग्रेसमा फर्किएका हुन् । 

त्यस्तै, स्याङ्जाका चर्चित कांग्रेसी नेता धनराज गुरुङ शेखर कोइराला प्यानलबाट निर्वाचनमा भाग लिएका थिए । स्याङ्जाका उपसभापति भइसकेका उनी संविधानसभाका समानुपातिक सांसद पनि हुन् । 

२०३६ सालबाट राजनीतिमा प्रवेश गरेका गुरुङ २०५३ मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि कांग्रेस स्याङ्जा जिल्ला कार्यसमिति सदस्य रहिसकेका छन् । 

राजनीतिक संघर्षका क्रममा विभिन्न समयमा पक्राउ र हिरासत भोग्दै आएका गुरुङ युवाहरूलाई प्रजातान्त्रिक उद्देश्यका लागि गोलवद्ध गर्ने कुरामा विशेष रुचि राख्छन् । 

सैद्धान्तिक स्पष्टता, लगनशीलता र जुझारूपनले आफूलाई संविधानसभामा पु¥याएको उनले बताउने गरेका छन् । 


केन्द्रीय निर्वाचन समितिका अनुसार भोलिबाट महामन्त्री पदको मतगणना हुँदैछ ।  महामन्त्रीमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्कीबीच प्रतिस्पर्धा छ । 

दुई चरणमा भएको सभापति पदमा भने यसअघि सभापतिमा दोस्रो पटकका लागि शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् । 


  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार ०:४१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया