इतिहासमा पहिलोपटक कांग्रेस पदाधिकारी कोइराला परिवारविहिन

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा भएका निर्वाचनको नतिजा आउने क्रम जारी छ । कांग्रेसले १४ औं महाधिवेशनमा दोस्रो कार्यकालका लागि शेरबहादुर देउवालाई सभापतिमा निर्वाचित गरेको छ । 

उनीसँग सभापतिको प्रतिस्पर्धामा थिए, शेखर कोइराला । तर, कोइराला सभापति चुन्न भएको दोस्रो चरणको निर्वाचनमा पराजित भए । 

त्यस्तै, कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । कांग्रेस उपसभापतिमा कोइराला परिवारबाट सुजाता कोइरालाले उम्मेदवारी दिएकी थिइन् । उनी यसमा पराजित भएकी छिन् ।

अब कांग्रेसका अन्य पदाधिकारीमा कोइराला परिवारबाट कुनै पदमा उम्मेदवारी परेको छैन । कांग्रेस महामन्त्रीमा गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल, राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । यीमध्ये कोही पनि कांग्रेसमा लामो विरासत भएका कोइराला परिवारका सदस्य होइनन् ।

सभापतिमा शेखर कोइराला र उपसभापतिमा सुजाता कोइराला पराजित भएसँगै नेपाली कांग्रेसको इतिहासमा ६४ वर्षअघिको सन्दर्भ दोहोरिएको छ । ६४ वर्षअघि २०१३ सालमा सुवर्णशम्शेर राणा निर्वाचित हुँदा पनि कांग्रेस पदाधिकारीमा कोही पनि कोइराला परिवारका थिएनन् ।

त्यही इतिहास यसपटक कांग्रेसमा दोहोरिएको हो ।



यसका लागि कांग्रेस गठनको सन्दर्भ र त्यसपछि यसमा भएका सभापति तथा पदाधिकारीहरुबारे चर्चा गरौँ । 

२००७ सालमा कांग्रेस पार्टीको गठन हुँदा मातृका प्रसाद कोइराला यसका सभापति भएका थिए । उनले दुई वर्ष सभापतिका रुपमा पार्टीको संगठन विस्तार गरे । 



त्यसको दुई वर्षपछि चार वर्षका लागि विपी कोइराला कांग्रेस सभापति भए । २००९ सालमा पार्टी सभापति भएका विपीले कांग्रेसलाई लगातार चार वर्ष नेतृत्व गरे । त्यसको २०१४ सालमा पनि विपी पार्टी सभापतिमा नै कायम भए । उनले लगातार २५ वर्ष पार्टी सभापतिका रुपमा पार्टीको नेतृत्व गरे ।

त्यहीबीच २०१३ सालमा मेलमिलाप नीति भएपछि सुवर्णशम्शर राणा एक वर्षका लािग पार्टी सभापति भएका थिए । उनले एक वर्ष पार्टी सन्चालन गर्दा कोइराला परिवारबाट पदाधिकारीमा कसैको पनि सहभागिता थिएन । तर, बिर्सनु हुँदैन, यति बेला पनि विपी सभापतिकै जस्तो भूमिकामा थिए । उनले पार्टी सभापतिका रुपमा त्यो एक वर्षपछि फेरि पार्टीलाई नेतृत्व गर्न थाले ।

२०३९ सालमा सभापतिमा कृष्णप्रसाद भट्टराई निर्वाचित भए । १४ वर्ष उनले पार्टीको नेतृत्व गरे । उनी पार्टी सभापति हुँदा गिरिजाप्रसाद कोइराला महामन्त्री भएका थिए । गिरिजासँगै कांग्रेसमा महेन्द्रनारायण निधि पनि महामन्त्री भएका थिए । सभापतिमा कोइराला परिवार नहुँदा पनि कांग्रेस पदाधिकारीमा महामन्त्रीका रुपमा गिरिजाले कोइराला परिवारको विरासत जोगाएका थिए ।

त्यसपछि २०५३ सालमा का्रग्रेसको पार्टी सभापतिमा निर्वाचत भए, गिरिजाप्रसाद कोइराला । कोइराला पार्टी सभापतिमा निर्वाचत हुँदा महामन्त्रीमा विमलेन्द्र निधि र कृष्णप्रसाद सिटौला निर्वाचित भएका थिए । 

कांग्रेसको १२ औं महाधिवेशनमा पनि पदाधिकारीमा कोइराला परिवारको निरन्तरता नै रह्यो । १२ औं महाधिवेशनमा कांग्रेस सभापतिमा निर्वाचित भएका थिए, सुशिल कोइराला । उनका महामन्त्री भएका थिए, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह । 

१३ औं महाधिवेशनमा कोइराला परिवारबाट सभापतिमा कोही पनि उम्मेदवार भएन । सभापतिमा शेरबहादुर देउवाले जित निकालेको यो महाधिवेशनमा कोइराला परिवारको समर्थनमा रामचन्द्र पौडेल सभापतिका उम्मेदवार भएका थिए । तर, देउवासँग पौडेल पराजित भए ।

सभापतिमा नभए पनि कोइराला परिवारको कांग्रेस पदाधिकारीमा चाहिँ उपस्थिति थियो । त्यो महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा शशांक कोइराला निर्वाचित भए ।

अब लागौँ, कांग्रेसको १४ औं महाविधेशनको सन्दर्भमा । कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिएका थिए, शेखर कोइराला र सुजाता कोइरालाले । सभापतिमा शेखर कोइराला परािजत भए, सुजाता सहसभापतिमा । तर, यसमा पनि सुजाता शेखरको प्यानलबाट उठेकी थिइनन् ।

यसअघिको महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका शशांक कोइरालाले त यसपटक केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । 

योसँगै नेपाली कांग्रेसको ७ दशक लामो इतिहासमा पहिलो पटक कांग्रेस पदाधिकारी कोइराला परिवारविहिन भएको छ ।

  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार १२:३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया