कांग्रेस महाधिवेशनः महाधिवेशन प्रतिनिधिले दिएको मतको संश्लेषण
फाइल तस्वीर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा विभिन्न पदमा भएका निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । बिहीबार साँझ अबेरसम्म सहमहामन्त्री पदका उम्मेदवारहरुको पनि मत परिणाम आइरेको छ । 

यसअघि सभापति, उपसभापति र महामन्त्री पदको मतपरिणाम आइसकेको छ । सभापति चुन्नका लागि कांग्रेसको यो महाधिवेशनमा पनि यसअघिको जस्तै दुई पटक मतदान भयो । दोस्रो चरणमा सभापतिमा शेरबहादुर देउवाले ५९ प्रतिशत मत ल्याए । त्यसअघि उनले ५० प्रतिशत पुर्याउन सकेका थिएनन् । सभापतिकै उम्मेदवार रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधिले पनि सभापतिमा देउवालाई समर्थन गरेपछि दोस्रो चरणमा ५९ प्रतिशत महाधिवेशन प्रतिनिधिले उनलाई मत दिए ।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत पाएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका र दोस्रो भएका शेखर कोइरालाले १७२९ मत ल्याएका थिए । दोस्रो चरणको निर्वाचनमा चाहिँ शेखरले पनि १ सय ५३ मत बढाए । 

उपसभापतिका लागि भएको निर्वाचनमा सभापतिमा आएको मतको यो अवस्था चाहिँ उस्तै रहेन । उपसभापतिमा निर्वाचित भएका पूर्णबहादुर खड्का र धनराज गुरुङको सन्दर्भमा जसरी मतदाता सभापतिको अवस्थामा देखिएका थिए, त्यस्तो देखिएन ।

पूर्णबहादुर खड्काले २१२१ मत ल्याउँदा धनराज गुरुङले १९०८ मत ल्याए । उपसभापतिका लागि नै उम्मेदवारी दिएका विजयकुमार गच्छदारले १९०६ र चन्द्र भण्डारीले १५८० मत ल्याए । 

यीमध्ये खड्का र गच्छदार देउवा प्यानलबाट चुनावी प्रतिस्पर्धामा थिए भने गुरुङ र भण्डारी कोइराला प्यानलबाट उठेका थिए । उपसभापतिमा उम्मेदवारी दिएका सुजाता कोइराला र महेश आचार्यको मत पनि ६४४ र ५८९ रहेको छ । सुजाताले यो मत उनले उपसभापतिमा उम्मेदवारी दिएको प्यानल प्रकाशमान सिंहको भन्दा धेरै हो । सभापतिका लागि उम्मेदवारी दिएका प्रकाशमान सिंहले चाहिँ ३ सय ७१ मत मात्र ल्याएका थिए ।



यो अर्थमा हेर्ने हो भने कांग्रेसका महाधिवेशन प्रतिनिधिले प्यानललाई खासै वास्ता नगरेको देखिन्छ । अझ सभापतिमा देउवालाई मत हालेका सबै प्रतिनिधिले उपसभापतिमा उनको प्यानलका न खड्कालाई मत दिए न विजयकुमार गच्छदारलाई । खड्कालाई जति देउवाका पक्षका महाधिवेशन प्रतिनिधिले मत दिएका छन्, त्यतिले गच्छदारलाई चाहिँ दिएको देखिँदैन । बरु गुरुङले ल्याएको मत संख्या कोइरालाको भन्दा बढी छ । त्यसैले उपसभापतिमा महाधिवेशन प्रतिनिधिले बढी चर्चित उम्मेदवारलाई छानेको स्पष्ट देखिन्छ । गुरुङ पछिल्लो समय युवाहरुमाझ पनि बारम्बार चर्चामा आइरहेका हुन्छन् । उपसभापतिका अन्य उम्मेदवारभन्दा उनी बढी सामाजिक सन्जालमा सक्रिय छन्, ससाना विषयमा पनि टिप्पणी गरिरहेका हुन्छन् । यसले पनि युवा उमेरका धेरै महाधिवेशन प्रतिनिधि उनीप्रति आकर्षित भएको देखिन्छ । 

अब लागौँ, महामन्त्री पदका उम्मेदवार र उनीहरुले पाएको मतबारे ।



महामन्त्रीमा दुई युवा नेता निर्वाचित भएका छन्, गगन थापा र विश्वप्रकाश शर्मा । महामन्त्रीमा यी दुईसँग उनीहरुकै समकालीनका रुपमा राजनीतिको भर्याङ चढिरहेका अर्का उम्मेदवार थिए, प्रदीप पौडेल । अनि मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की पनि यही पदका उम्मेदवार थिए । महामन्त्रीमा निर्वाचित भएका गगन थापाले पदाधिकारीमा लोभलाग्दो मत ल्याएका छन्, उनी दुई तिहाइबाट निर्वाचित महामन्त्री भएका छन् । उनले ३०२३ मत ल्याउँदा दोस्रो भएका विश्वप्रकाश शर्माले १९८४ मत ल्याए । तेस्रो भएका प्रकाशशरण महतले १५५६ मत ल्याए । प्रदीप पौडेलको १३९३, मिनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ ।

यसमा पनि महाधिवेशनका प्रतिनिधिले प्यानललाई पूरै बेवास्ता गरेको देखिन्छ । यदि प्यानलका रुपमा मत गएको भए महामन्त्रीमा सबैभन्दा पहिलो हुने थिए, प्रकाशशरण महत । तर, जतिले देउवालाई सभापतिमा वा पूर्णबहादुर खड्कालाई उपसभापतिमा मत हालेका छन्, त्यतिले महामन्त्रीमा प्रकाशशरणलाई मत दिएका छैनन् । 

महामन्त्रीमा त अधिकांशले गगनलाई पहिलो रोजाइ बनाएका छन् । अनि गगन पहिलो रोजाइमा पर्नुमा पनि उनी कोइराला प्यानलबाट निर्वाचनमा उठेकाले मात्र हो भन्ने देखिँदैन । उनले कांग्रेसमा पारेको प्रभाव, सांसदका रुपमा गरेको प्रदर्शन र युवाहरुमा जगाएको आशाका कारण उनलाई सबैभन्दा बढी मत परेको देखिन्छ ।

महाधिवेशन प्रतिनिधिले महामन्त्री पदमा प्यानललाई पूरै बेवास्ता गरेको अर्को उदाहरण हो, विश्वप्रकाश शर्माको मत । उम्मेदवारी घोषणा गरिसकेपछि विश्वप्रकाश शर्माले बल्ल प्यानल रोजेका थिए, प्रकाशमान सिंहको प्यानल । सभापतिमा प्रकाशमानले जति मत ल्याए, त्योभन्दा निकै धेरै मत ल्याएर महामन्त्रीमा निर्वाचित भएका हुन्, शर्मा । उनलाई देउवा, कोइराला तथा अन्य समूह पक्षधर महाधिवेशन प्रतिनिधिले पनि मत दिएको स्पष्ट देखिन्छ । 

तर, देउवाको प्यानलबाट उठेका प्रदीप पौडेलले अपेक्षित मत ल्याउन सकेका छैनन् । त्यसो त देउवाका सदावाहर निकट प्रकाशशरणले पनि आफ्नै निकटहरुबाट मत नपाएको उनले पाएको मत संख्या हेर्दा स्पष्ट हुन सकिन्छ । एउटै प्यानलका प्रकाशशरण र प्रदीपको मतान्तर पनि निकै हुनुलाई चाहिँ प्रदीप पौडेललाई देउवा पक्षधरले मत नदिएको अनुमान गर्न सकिन्छ । हुन पनि उनलाई देउवाले महामन्त्री उम्मेदवारका लागि कृष्णप्रसाद सिटौलासँग सहमति गरेपछि त्यो समूहका ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण, एनपी सावदलगायतका नेताहरु प्रदीपसँग रुष्ट भएका थिए । यसले पनि प्रदीपलाई यो महाधिवेशनमा ठूलो घाटा भएको देखिन्छ । 

समग्रमा भन्नु पर्दा यो महाधिवेशनमा अहिलेसम्म चुनिएको नेतृत्व हेर्दा महाधिवेशन प्रतिनिधिले देउवाको विकल्प देखेनन् तर त्यसपछि नेतृत्वमा नयाँ अनुहारहरुलाई स्थान दिन खोजे । पदाधिकारीमा अहिलेसम्म निर्वाचित भएका देउवा र उपसभापतिबाहेक अरु अनुहार नयाँ आएका छन् । 

यसको अर्थ हो, कांग्रेस महाधिवेशन प्रतिनिधिले परिवर्तन चाहेको देखियो । यसले कांग्रेसलाई रुपान्तरणमा सहयोग गर्ला वा के होला भन्ने त अबका केही वर्षमा मूल्यांकन गर्न सकिनेछ ।


  • प्रकाशित मिति : पुस १, २०७८ बिहीबार २२:२३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया