मुलुकको अर्थतन्त्र संकटमा, कस्ताे छ पछिल्लो अवस्था ?

पछिल्लो समय नेपालको अर्थतन्त्र गिर्दो अवस्थामा देखिएको छ ।

चालु आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरू सकारात्मक नहुँदा अर्थतन्त्र संकटउन्मुख देखिएको हो । 

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तीय सूचकहरू सकारात्मक देखिएको छ । राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकले मुलुकको अर्थतन्त्रको स्थिति निकै नै डरलाग्दो अवस्थामा पुर्‍याएकाे देखाएको छ । 

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा सोधानान्तर घाटा अहिलेसम्मकै उच्च भएको छ । यस अवधिमा सोधानान्तर घाटा  १ खर्ब ५० अर्ब पुगेको छ । असोज मसान्तसम्म सोधानान्तर घाटा ७६ अर्ब १४ करोड रहेको थियो । यसरी पछिल्लो एक महिनामा नै सोधानान्तर घाटा दोब्बर भन्दा बढीले बढेको छ । चालु आर्थिक वर्ष लागेसँगै उच्च व्यापार घाटा, घट्दो रेमिटेन्सका कारण शोधनान्तर घाटा १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

गत असार महिनामा १ अर्ब २३ करोड सोधानान्तर बचत रहेको थियो । तर, असार महिनापछि निरन्तर रूपमा घाटामा गएको छ । साउनमा ३८ अर्ब ७५ करोड घाटा पुगेको थियो भने भदौमा ८३ अर्ब ४१ करोड र असोजमा ७६ अर्ब १४ करोड घाटामा रहेको थियो । पछिल्लो एक महिनामै सोधानान्तर घाटा ७४ अर्ब २४ करोड रुपैयाँले भएको छ ।

त्यस्तै, कात्तिक महिना रेमिटेन्स पनि ७.५ प्रतिशतले घटेको छ । चालु वर्षको सबैभन्दा कम रेमिटेन्स कात्तिकमा भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार रेमिटेन्स ७३ अर्ब १० करोड मात्र भित्रिएको छ । रेमिटेन्स ७.५ प्रतिशतले घटेर ३ खर्ब १२ अर्ब ४२ करोड कायम भएको छ ।



चालु आर्थिक वर्षकाे सुरुवातसँगै रेमिटेन्स पनि घट्न थालेको हो । गत आर्थिक वर्षको असार महिनामा ९० अर्ब ११ करोड रुपैयाँ भित्रिएको रेमिटेन्स चालु आर्थिक वर्ष लागेपछि निरन्तर घट्दै आएको छ ।

साउनमा ७५ अर्ब ९६ करोड, भदौमा ७९ अर्ब ४१ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको थियो । असोज महिनामा केही सुधार भएको थियो । यसरी सुधार भएर असोजमा  ८३ अर्ब ९५ करोड रुपैयाँ रेमिटेन्स आएको थियो । तर, कात्तिकमा पुनः घटेर ७३ अर्ब १० करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ । चालु वर्षको चार महिनामा ३ खर्ब १२ अर्ब ४२ करोड रेमिटेन्स भित्रिएको छ । गत कात्तिकमा ३ खर्ब ६२ अर्ब २९ करोड रुपैयाँ भित्रिएको थियो ।



त्यस्तै, राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति समेत घटेर दुई वर्ष यताकै न्यून अवस्थामा पुगेको छ । कात्तिक महिनामा विदेशी सञ्चिति १२ खर्ब ४४ अर्बमा रहेको छ । चालु आर्थिक वर्षको बीचमा आएर विदेशी सञ्चिति १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको थियो । सरकारले सञ्चितिमा रहेको पैसाले एक वर्षको लागि पुग्ने आँकलन गरेको थियो । 

तर, पछिल्लो महिनादिनमै सञ्चिति ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको राष्ट्रको वित्तीय विवरणले जनाएको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो समय भइरहेको उच्च आयात तथा घट्दो रेमिट्यान्सकाे कारण विदेशी सञ्चिति घट्दै गएको देखिएको छ ।

गत आर्थिक वर्षको अन्तिम महिनाको असार मसान्तमा अमेरिकी डलरको सञ्चिति ११ अर्ब ७५ करोड रहेको थियो । चार महिनाको अन्तरालमा अमेरिकी डलरको सञ्चितिमा १०.९ प्रतिशतले कमी आएको छ । यसरी १०.९ प्रतिशतले कमी आएर अहिले १० अर्ब ४७ करोड मात्रै अमेरिकी डलरको सञ्चिति कायम रहेको छ ।

त्यस्तै, चालु आर्थिक वर्षको चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.९ महिनाको वस्तु आयात र ७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले जनाएको छ । पछिल्लो एक महिनामा मात्रै ५१ करोड अमेरिकी डलरले विदेशी सञ्चिति घटेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । असोजमा सरकारसँग १० अर्ब ९८ करोड बराबरको डलर सञ्चिति थियो । राष्ट्र बैंकले अहिले भएको डलर सञ्चितिले ७ महिनाको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने लक्ष्य राखेको छ ।

त्यस्तै, नेपाली मुद्रामा डलर सञ्चिति असोजको तुलनामा कात्तिकमा ७४ अर्ब ४७ करोड रुपैयाँले घटेको छ । असोजमा १३ खर्ब १९ अर्ब ३२ करोड रहेको डलरको सञ्चिति कात्तिकमा १२ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँमा मात्रै रहेको छ । चालु खाताको घाटा पनि एक महिनाकै बीचमा साढे ७१ अर्बले बढेको छ । असोजमा १ खर्ब ५१ अर्ब ७० करोड घाटामा रहेको चालु खाता कात्तिकमा २ खर्ब २३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । पछिल्लो एक महिनामा नै आयात १ खर्ब ७१ अर्ब ७७ करोडले बढेर साढे ६ खर्ब नाघेको छ भने व्यापार घाटा १ महिनामै  १ खर्ब ५४ अर्ब ७० करोड रुपैयाँले बढेको छ ।

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १३:४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया