फाेहाेर नउठाएकाे भन्दै जनकपुरधाम उपमहानगरका वडाध्यक्ष आन्दाेलित

जनकपुरधाम उपमहानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन् । पटकपटक आग्रह गर्दा पनि नगरप्रमुख लालकिशोर साहले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । 

शुक्रबार आफूहरूलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि बोलाएको समयमा नगरप्रमुख साहको निर्देशनमा उल्टै घेरा हालेर कुटपिट गर्ने प्रपञ्च रचिएको उनीहरूले आरोपसमेत लगाएका छन् । 

वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गइरहेको अवस्थामा आफूहरूले पटकपटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको र उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरूमाथि जाइलागेको आरोप लगाए ।
 
आफूहरूको मागलाई सम्बोधन गर्न आग्रह गर्न आउँदा गुण्डा लगाएर हप्काएको उनले बताए । 

शुक्रबार बिहान ११ बजेको समय दिएपछि आफूहरू मेयर साहसँग भेटघाट गर्न गएको बेला बाहिरबाट लठैत मगाएर आफूहरूलाई धम्की दिएको वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहकाे भनाइ छ । 

यसअघि पनि सरसफाइसम्बन्धी कुरा गर्न उपमहानगरको कार्यालयमा जाँदा वडा नम्बर-४ का वडाध्यक्ष सुदर्शन सिंह र वडासदस्य पंकज मण्डललाई सरसफाइ कर्मचारीले दुर्व्यवहारसमेत गरेको उनले बताए ।

वडाध्यक्षहरूले आफूहरू आफ्नो कुरा राख्न खोज्दा मेयर साहले बाउन्सर लगाएर हप्कीदप्की दिइरहेको तथा उपमहानगरको हरेक कुनामा बाउन्सरहरू भरिभराउ रहेको जिकिरसमेत गरेका छन् । 



उपमहानगरसँग सरोकार नै नरहेका बाहिरका यूवाहरूलाई मगाएर आफूहरूलाई पिटपाट गर्न खोजेको वडा नम्बर-४ का वडाध्यक्ष सुदर्शन सिंहको आरोप छ । उनले मेयर साहले आफूहरूको वडाको योजना बिगारेकोले यस वर्ष कुनै काम नै गर्न नसकेको समेत बताए । 

मेयर साहको कार्यकक्षबाट वडाध्यक्षहरू बाहिर निस्केपछि केहीबेर नगर प्रहरी र उनीहरूबीच धक्कामुक्की समेत भएको थियो । 



वडाअध्यक्षहरूले यसअघि पनि फोहोर नउठाएको भन्दै मेयर लालकिशोर साहको घरअगाडि फोहोर थुपारेका थिए ।

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १५:२२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया