माओवादी प्रदेश कमिटी : गण्डकी र कर्णालीले महिला नेतृत्व पाउँदा अरू प्रदेशमा के छ अवस्था ?

गत २५ र २६ मंसिरमा भएको प्रदेश सम्मेलनपछि धमाधम माओवादी केन्द्रले कमिटीहरूलाई पूर्णता दिँदैछ । आगामी पुस ११ गतेदेखि राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी त्यसअघि नै प्रदेशका कमिटीहरूको पूर्णता दिने तयारीमा छ ।

प्रदेश कमिटी बनाउन लाग्दा आकांक्षीहरू बढ्दै गर्दा केही प्रदेशहरूमा अझै रस्साकस्सी जारी नै छ । 

माओवादी केन्द्रले ९ जना पदाधिकारीसहित प्रदेश कमिटी चयन गर्नेछ । जसमा प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुने बताइएको छ ।

प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुने र विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने माओवादी केन्द्रले जनाएको छ ।

अहिलेसम्म माओवादीको प्रदेश कमिटीमा दुईवटा प्रदेशले समितिको टुंगो लगाइसकेको छ । कर्णाली र गण्डकी प्रदेशमा नेतृत्व टुंगाइसकेको माओवादी केन्द्रले प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिममा नेतृत्व छान्‍न सकेको छैन । 

उता, प्रदेश २ मा भने अहिलेसम्म बन्दसत्र नै हुन सकेको छैन । 



कुन प्रदेशमा कस्तो अवस्था ? 

प्रदेश १ : ३ नेताको दाबी, सहमतिको प्रयास



मंसिर २५ र २६ मा भएको प्रदेश अधिवेशनबाट प्रदेश १ को कमिटी निर्माण भएको छ । केन्द्रको निर्णय अनुसार यहाँ २६९ सदस्यीय कमिटी पनि विस्तार भइसकेको छ । यद्यपि अहिलेसम्म पदाधिकारीको विषय भने टुंगिएको छैन । अध्यक्ष पदका आकांक्षीहरू चुनावमा जाने र केन्द्रको नेतृत्व भने सहमतिमै टुंग्याउने भन्ने दोहोरो अडानपछि यहाँ पदाधिकारी चयनको विषय पेचिलो बन्दै गएको छ । 

प्रदेश १ मा रहेर माओवादीमा आफूलाई सक्रिय बनाउँदै आएका नेताहरू सुरेश कुमार राई, हेमराज भण्डारी र इन्द्र आङ्बोले अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका छन् । तर, सहमतिमा यी ३ वटै नामबारे निर्णय हुन भने सकेको छैन । 

राई संघीय सांसद् हुन् भने भण्डारी माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । त्यस्तै, आङबो वर्तमान सरकारका मन्त्री हुन् । राईलाई अध्यक्ष प्रचण्डले प्रदेश १ को संयोजक बनाएर पठाएका थिए । सोहीकारण पनि उनको संभावना बढेको निकटस्थ नेताहरू बताउँछन् ।  तर, अरू दुई उम्मेदवार भने निर्वाचन प्रक्रियामार्फत् नै अध्यक्ष चुनिनपर्ने अडानमा छन् । 

प्रदेश २ : बन्दसत्र नै दोधारमा

प्रदेश २ को बन्दसत्र अहिलेसम्म भएको छैन । अध्यक्ष प्रचण्डले सातवटा भौगोलिक र तीनवटा गैरभौगोलिक गरी १० प्रदेशको उद्घाटन १५ मंसिरमै गरे पनि अहिलेसम्म प्रदेश २ को बन्दसत्र सकिएको छैन । 

प्रदेश २ का धेरै पालिकाहरूमा विवाद नमिलेपछि भोलि (पुस ३) गतेका लागि हुने भनिएको प्रदेश अधिवेशनको बन्दसत्र प्रभावित हुनसक्ने देखिएको छ ।

अहिलेसम्म प्रदेश अध्यक्ष र अन्य पदाधिकारीका लागि कुनै पनि नेताले पनि औपचारिक उम्मेदवारीको घोषणा गरेका त छैनन । अध्यक्षका आकांक्षी भने आधा दर्जनभन्दा बढी नेता छन्। 

प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साह, पूर्वमन्त्री रामकुमार शर्मा, वर्तमान प्रदेश अध्यक्ष प्रह्लाद बुढाथोकी, प्रदेश सचिव श्रवण बरबरिया र प्रदेश सांसद जगत यादव प्रदेश अध्यक्षको आकांक्षी रहेको बुझिएको छ ।

बागमती प्रदेश : सहमतिको प्रयास, निर्वाचनमा जान जोड

देशको राजधानी रहेको बागमती प्रदेशमा पनि माओवादी केन्द्रको प्रदेश कमिटीले पूर्णता पाएको छैन । यद्यपि यहाँ पनि विभिन्‍न नेताहरूको आकांक्षा भने प्रस्टै देखिएको छ ।

सिन्धुपाल्चोकबाट राजनीतिमा सक्रिय भएका सरल सहयात्री, भक्तपुरका डिपी ढकाल, काभ्रेका दिनानाथ गौतम र दोलखाका विशाल खड्काले अध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । भक्तपुरका ढकालले यसअघि भक्तपुरको अध्यक्षकाे रूपमा ३ कार्यकाल बिताइसकेका छन्।

सिन्धुपाल्चोकका युवा नेता सरल पनि आफूलाई बलियो दाबेदारीको रूपमा लिएर अघि बढेका छन् । सिन्धुपाल्चोक मात्र नभई उनले केन्द्रको राजनीतिसम्म पनि बलियो पकड बनाउँदै अघि बढेको नेताहरूले बताएका छन् । 

माओवादी नेतृत्वले पनि सहयात्रीलाई अध्यक्ष बनाउन सकारात्मक सन्देश पठाइसकेको स्रोतको दाबी छ । यद्यपि सकेसम्म सहमतिमै नेतृत्व टुंग्याउने तयारी भएको पूर्व सामाजिक विकासमन्त्री समेत रहेका युवराज दुलालले फरकधारलाई बताए । ‘हिजोसम्म नेताहरू फिल्डमै हुनुहुन्थ्यो । हामी आज र भोलिमा सहमतिमै नेतृत्व टुंग्याउने प्रयासमा छौं’, उनले भने । तर, ढकालसहित अन्य अध्यक्षका दाबेदारहरू गौतम र खड्का निर्वाचन प्रक्रियाबाटै नेतृत्व टुंगिनुपर्नेमा जोड दिइरहेका छन् ।

गण्डकीले पायो महिला नेतृत्व

माओवादी नेतृत्वमा को रहने ? भन्ने दुविधा रहिरहँदा गण्डकी प्रदेशले भने नेतृत्व छानिसकेको छ। यहाँ महिला नेतृ गायत्री गुरुङ सर्वसम्मति अध्यक्षको नेतृत्वमा पुगेकी छन् । उनी गण्डकी प्रदेशकी सांसद तथा माओवादी केन्द्रकी प्रमुख सचेतक समेत हुन् ।

प्रदेश अधिवेशन सुरु भएकै दिन उनलाई अध्यक्ष बनाउँदै २०१ कमिटी बिस्तार भइसकेको छ । गायत्री अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिव पनि हुन् । जनयुद्धमा होमिएकी नेतृ गुरुङ ०४८ सालदेखि राजनीतिमा सक्रिय छिन् । 

लुम्बिनी : कमिटी टुंगियाे, पदाधिकारी बाँकी 

लुम्बिनी प्रदेशमा २१७ सदस्यीय कमिटी बनिसकेको छ । प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटीको टुंगो लगाएको हो । यद्यपि यहाँ अध्यक्षसहितका पदाधिकारीको विषयमा भने कुरा मिल्न सकेको छैन । कुल २५३ सदस्यीय कमिटीमा बाँकी रहेका सदस्यहरू भने प्रदेश कमिटीले टुंगो लगाउने भनिएको छ । 

अध्यक्षमा गुल्मीका सुदर्शन बराल, दाङका होमराज शर्मा, रोल्पाका दिपेन्द्र पुन लगायतको दाबी छ । दाबी गरिएकामध्ये गुल्मीका बरालको नाम निश्चित हुने देखिए पनि अझै लिखित रूपमा सार्वजनिक भने भइसकेको छैन । 

प्रदेश कमिटीले यसअघि टुंगो लगाएको २१७ सदस्यीय टिममा शर्मा र पुनको नाम समावेश छैन । दुवै नेताको नाम प्रदेश कमिटीमा नपरेपछि त्यहाँ असन्तुष्टि बढिरहेको छ । उनीहरूको नाम कमिटीमा नपरेपछि बराल सहमतिमै अध्यक्ष बन्न सक्ने नेताहरूले बताएका छन् । 

कर्णालीले पायो महिला नेतृत्व

कर्णालीमा गत बुधबार बसेको कर्णाली प्रदेशको कार्यसमिति बैठकले बिमला केसीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ । यहाँ अध्यक्षका आकांक्षी झकबहादुर मल्ल, रामदीप आचार्य र राजकुमार शर्मा लगायतको नाम चर्चामा थियो । 

तर, प्रदेश कार्यसमिति बैठकले केसीलाई नेतृत्व दिएको हो । केसी यसअघि माओवादीको सरकार हुँदा कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा पशुपंक्षी मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाही थिए । 

सोही सरकारको प्रवक्ताको रूपमा पनि केसीले जिम्मेवारी सम्हालेकी थिइन् । ११ वर्षको उमेरदेखि नै राजनीतिमा होमिएकी उनी ०४६ सालमा माओवादी निकट विद्यार्थी संगठनको सदस्यता लिएर पूर्णकालीन राजनीतिमा लागेकी हुन् । 

उनी भूमिगतकालमै माओवादी गाउँ जनसरकारको प्रमुख बनेकी थिइन् भने ०६४ सालमा संविधानसभा सदस्य बनेकी थिइन् ।

सुदूरपश्चिममा आकांक्षी धेरै

सुदूरपश्चिम प्रदेशमा पदाधिकारीविहीन कमिटी चयन भएको छ । अध्यक्ष र अन्य पदमा आकांक्षी धेरै भएपछि सम्मेलनबाट टुंगो लाग्न नसकेको बुझिएको छ । नेताहरूका अनुसार शरदसिंह भण्डारी, वीरमान चौधरी, नेपबहादुर चौधरी नरेन्द्र कुँवर लगायतले अध्यक्षमा दाबी प्रस्तुत गरेका छन् ।

यद्यपि यहाँ पनि सहमतिकै आधारमा नेतृत्व छान्‍ने कसरत भइरहेको छ । २२३ जना प्रदेश कमिटी सदस्य निर्वाचित भए पनि अध्यक्षसहितका पदाधिकारीको भने टुंगो लागेको छैन । 
 

  • प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार १६:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया