नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्षमा पराजित नेता भीम रावलले पार्टीमा जिम्मेवारी लिन तत्परता नदेखाएको बताएका छन् । महासचिव पोखरेलले नेता रावलले तत्परता देखाउने बित्तिकै पार्टीले आवश्यक छलफल गरेर उनलाई जिम्मेवारी दिने पनि स्पष्ट पारे ।
शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा नेकपा एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले जिम्मेवारी लिनका लागि रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नसक्ने धारणासमेत राखे ।
हाललाई उनी नीतिगत रूपमा पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेकाे पनि महासचिव पोेखरेलले जानकारी दिए ।
उनले पार्टीका नेताहरूको कार्य विभाजनमा पार्टी नेतृत्वले विभेद गरेको भन्ने कुरा सत्य नभएको दावी समेत गरे ।
पत्रकार सम्मेलनमा पार्टीको कार्यविभाजनमा विभेद भयो नि ? भनी सञ्चारकर्मीहरूले प्रश्न गरेका थिए । त्यसको जवाफमा उनले आफ्नो पार्टीलाई नजिकबाट बुझ्नेहरूले यस्तो प्रश्न नै नगर्ने तर्कसमेत गरे ।
एकसेएक नेताहरू भएको पार्टीमा सबैले समान प्रकारको जिम्मेवारी पाउने कुरा अपेक्षाकृत भए पनि त्यसलाई नै लिएर विभेद भयो भन्न नमिल्ने महासचिव पोखरेलको भनाइ थियो ।
उनले भने, ‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनु भएन । त्यसकारण उहाँको कार्य विभाजन केन्द्रीय कमिटीमा रहेन । हामीले गरेको नीतिगत निर्णयको सन्दर्भमा हेर्ने हो भने केन्द्रीय सल्लाहकार परिषदको सदस्यको जिम्मेवारी दिइएको छ । त्योभन्दा बाहेकको जिम्मेवारीको सन्दर्भमा उहाँले पार्टी अध्यक्षसँग परामर्शमा थप जिम्मेवारी दिने कुरा रह्यो । उहाँले जिम्मेवारी बहन गर्न तत्परता देखाउनु भयो भने हामी छलफलका लागि तयार छौं । पार्टीको कार्य विभाजनमा विभेद गरेको भन्ने कुरा सत्य होइन । समग्रतामा हाम्रो पार्टीलाई बुझ्नेहरू यस्तो प्रश्न गर्दैनन् । किनभने हाम्रो पार्टी विशाल कार्यकर्ताहरूको सहभागिता भएको पार्टी हो ।’
महासचिव पोखरलले संसदको गतिरोध हटाउनका लागि सभामुख अग्निप्रसाद सापकोटाले राजीनामा दिनुपर्ने पनि बताए ।
उनले आफ्ना पार्टीले कारबाही गरेका सांसदहरूको सूचना जारी नगर्ने गल्ती सभामुखले गरेकाले त्यसलाई सच्याउने वा राजीनामा दिने काम भएमात्रै संसदको गतिरोध अन्त्य भएर जाने पनि स्पष्ट पारे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।