चिनियाँ राजदूत धोती लगाएर मन्दिर दर्शन गर्न पुगे

दक्षिण एसियामा चीनको उपस्थिति जबरजस्त बढिरहेको छ । आर्थिक, व्यापारिक र द्विपक्षीय सम्बन्धका साथै चीनले सांस्कृतिक रुपमा पनि सम्बन्धलाई प्राथमिकतामा राखेको छ । 

यसको उदाहरण हालै श्रीलंकामा देखिएको छ । श्रीलंकाका लागि चिनियाँ राजदूत क्वी झेनहोङले धोती लगाएर मन्दिर दर्शन गरेको तस्बिरले पुरै दक्षिण एसियामा चर्चा पाएको छ । यसबाट श्रीलंकामा चीनले सांस्कृतिक डिप्लोमेसी अपनाएको चर्चा भइरहेको छ ।

बहुसंख्यक तमिलको बसोबास रहेको उत्तरी श्रीलंकाको भ्रमणमा रहेका चिनियाँ राजदूत झेनहोङले जाफनाको ऐतिहासिक नल्लुर कंडास्वामी कोविल मन्दिरको दर्शन गरेका हुन् । एक हिन्दु श्रद्धालुको भेषभुषामा धोती लगाएर प्रसादको टोकरी बोकेको अवस्थामा मन्दिरमा राजदूत झेनहोङ देखिएका छन् । अर्कोतिर मन्दिरबाहिर उपस्थित भक्तजनलाई फलफुल बाँडिरहेको अवस्था चिनियाँ राजदूत देखिएका छन् ।

मन्दिरका अलावा चिनियाँ राजदूत उत्तरी श्रीलंकाका उच्च अधिकारीसँग भेटिरहेका छन् । तर चर्चा भने मन्दिरको दर्शन गरेकोमा भएको छ । यसबाट चीनले धेरै सन्देश दिएको विश्लेषकहरुले बताइरहेका छन् । 

मुख्य त उत्तरी श्रीलंकाको तमिल बहुल क्षेत्रमा चिनियाँ प्रभाव बढाउनु रहेको श्रीलंकाका विश्लेषक एस सतीसमोहनको बुझाई छ । हिन्दु मन्दिरमा हिन्दु भेषभुषामा जानु भारतका लागि चीन पनि उत्तरी श्रीलंकामा आएको सन्देश भएको उनी बताउँछन् । तमिलनाडुसँग विशेष सम्बन्ध भएको उत्तरी श्रीलंकामा भारतको राजनीतिक र सांस्कृतिक प्रभाव छ । 

पछिल्लो समय श्रीलंकामा चिनियाँ लगानी निरन्तर बढिरहेको छ । अब चीनले उत्तरी श्रीलंकामा आफूलाई केन्द्रीत गरेको र यसैअन्तर्गत सांस्कृतिक डिप्लोमेसी अपनाएको विश्लेषण हुन थालेको छ ।



खासगरी चीनको यो कदमलाई भारतमा चिन्ताका रुपमा हेरिएको छ । भारतीय राजनीतिमा चिनियाँ राजदूतको धार्मिक गतिविधिले चर्चा पाएको छ ।

तस्बिर : चिनियाँ राजदूतावास, कोलम्बो ।



  • प्रकाशित मिति : पुस ३, २०७८ शनिबार १४:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया