लामो समयदेखि राजनीतिक वृत्तमा चर्चाको विषय बन्दै आएको एमसिसी परियोजना पास गर्ने कि नगर्ने भन्नेमा सत्तारुढ जनता समाजवादीका नेताहरुबीच एकमत हुन सकेको छैन ।
जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले लामो समयदेखि एमसिसीको पक्षमा वकालत गर्दै आएका छन् । उनले एमसिसी देशको हितमा रहेको र यो कुनै पनि हालतमा गुमाउन नहुने भन्दै आएका छन् ।
उनकै पार्टीका अध्यक्ष उपेन्द्र यादव भने यो विषयमा मौन देखिएका छन् । उपेन्द्रलाई उनीनिकटका नेताहरुले एमसिसी यथास्थितिमा पास गर्न नहुने सुझाब दिँदै आएका छन् ।
सत्तागठबन्धनमा रहे पनि यादवले ‘कांग्रेससँग सहकार्य गर्न कठिन रहेको’ बताउँदै आएका छन् । त्यसो त गठबन्धन सरकारमा उपप्रधानमन्त्री बन्ने दाउमा रहेका यादव प्रधानमन्त्री देउवाको ‘उपप्रधानमन्त्री नराख्ने’ अडानका कारण ब्याक भएका थिए ।
त्यसैकारण पनि उनी देउवा सरकारसँग सन्तुष्ट छैनन् । यादव पक्ष एमसिसीको विपक्षमा देखिनु चुनावी रणनीति पनि भएको जानकारहरु बताउँछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।