सर्वाधिक मत ल्याएर गगन र शशांकभन्दा चर्चित बनेकी मुक्तालाई बधाईको ओइरो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले ल्याएको लोकप्रिय मतको राजनीतिक वृत्तमा अहिले पनि चर्चा भइरहेको छ । भरपर्दो टिममा नपरीकन पनि लोकप्रिय मतका साथ महामन्त्रीमै विजयी बनेका विश्वप्रकाश शर्माको पनि कम चर्चा छैन । 

त्यसरी नै अर्को चर्चाको शिखरमा रहे, केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमहामन्त्री शशांक कोइराला । सबै टिममा परेका कोइरालाले खुला केन्द्रीय सदस्यमा खसेको कुल ४७०५ मतको ८१.५४ प्रतिशत मत प्राप्त गरे । कोइरालाले खुला केनद्रीय सदस्यमा ३८३६ मत पाएका थिए । 

कोइरालाले भन्दा पनि बढी मत ल्याएर १४औँ महाधिवेशनमा सर्वाधिक मत प्राप्त गर्ने उम्मेदवार बनेकी छिन्, मुक्ताकुमारी यादव । यादव  ३९६९ मत प्राप्त गर्दै नेपाली कांग्रेसको मधेसी महिला केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । यो कोइरालाको भन्दा १३३ मतले बढी हो । 

संविधानसभा सदस्य र राष्ट्रिय सभा सदस्यसमेत भइसकेकी यादव धनुषाबाट महाधिवेशन प्रतिनिधि थिइन् । यादव संस्थापन देउवा पक्षबाट उम्मेदवार बनेकी थिइन् । 

मधेसी महिला कोटामा चारैजना देउवा प्यानलबाट निर्वाचित भएका छन् । राष्ट्रिय राजनीतिमा खासै चर्चामा नभईकन पनि महाधिवेशनकै सर्वाधिक लोकप्रिय मत ल्याएर निर्वाचित मुक्ताको अहिले सर्वत्र चर्चा छ । 

मुक्तालाई अहिले बधाईको ओइरो लागेको छ । युवानेता प्रदीप पौडेलले उनलाई बधाइ दिँदै लेखेका छन्, ‘मधेसमा हुर्किएकी एउटी चेलीलाई प्राप्त मतले जमिनबाट उठ्नेहरुलाई उत्साहित बनाएको छ । मत पाउने आधार आम बुझाइभन्दा फरक पनि हुन्छ भन्ने मान्यतालाई चिर्दै उदहारणीय बन्नुभएको छ । हार्दिक बधाई तथा शुभकामना ।



 



  • प्रकाशित मिति : पुस ६, २०७८ मंगलबार १८:२१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया