पढाइ छाडेर विद्यार्थी टिकटकको लतमा लागेपछि...

चार दशकअगाडि कैलाली बहुमुखी क्याम्पस (केएमसी)मा एकमात्र भवनमा पढाइ हुन्थ्यो । धनगढीस्थित २०३७ सालमा स्थापना भएको बहुमुखी क्याम्पस अहिले फेरिएको छ । 

आधा दर्जन भवन थपिएका छन् । अशोकका रुखहरू लहरै रोपिएका छन् । फरक-फरक भवनमा फरक-फरक जाने बाटो बनाइएकाे छ । 

क्याम्पसमा पुग्ने विद्यार्थीहरू टिकटकमा भिडियाे बनाउन थालेपछि प्रशासनले सूचना जारी गरेको छ । क्याम्पसले क्याम्पस हाताभित्र टिकटक बनाउन नपाइने सूचना जारी गरेको हो । सूचनाको अवज्ञा गरी टिकटक बनाइएको पाइएमा मोबाइल नियन्त्रणमा लिएर आचारसंहिता बमोजिम कारबाही गरिने समेत जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ ।

‘विद्यार्थीहरू पढाइ छोडेर टिकटकतर्फ बढी ध्यान केन्द्रित हुन थालेपछि क्याम्पस हाताभित्र बनाउन रोक लगाइएको हो’, क्याम्पस प्रमुख धर्मराज उपाध्यायले भने, ‘अर्को कुरा, नयाँ निर्माण भएको पुस्तकालयअगाडि त्यो पनि क्याम्पसको लोगो नै देखिने गरी बनाइने टिकटकले बाहिर पनि राम्रो सन्देश जाँदैन ।’ 

भ्युज र फलोअर बढाउनका लागि क्याम्पसको आकर्षक ठाउँमा अध्ययन चलिरहेकाे बेलामा पनि मानिसकाे भीड हुने प्रमुख उपाध्यायले बताए ।
 
‘टिकटकमा भ्युज र फलोअर बढाएमा पैसा पाउँदारहेछन्’, उनले भने,‘सामाजिक सञ्जालमा भाइरल नै हुने थालेपछि क्याम्पसका मात्र होइन, बाहिरका समेत आउन थालेका हुन् ।’

उनले टिकटक बनाउन निषेध गरेपछि पढाइमा कुनै बाधा नआएकाे बताए ।



‘सूचना जारी भएपछि पूर्णरूपमा बन्द भएको छ । पढाइमा पनि कुनै डिस्टब भएको छैन’, उनले भने । 

क्याम्पस हाताभित्र टिकटक बनाउन बन्द गरेपछि विद्यार्थीहरू समेत उत्साहित भएका छन् ।



‘पढाइ चलिरहेको बेला पनि टिकटक बनाउँदा पढाइमा बाधा हुने गरेकाे थियाे’, ब्याचलर फाेर्थ सेमिस्टरमा अध्ययनरत पवित्रा भण्डालीले भनिन्, ‘अहिले धेरै नै राम्रो भएको छ ।’ 

क्याम्पसले टिकटक बन्द गर्ने सूचना जारी गर्दा मजस्ता सयौं विद्यार्थीहरूलाई फाइदा पुगेको अर्का विद्यार्थी मनिराम रानाले बताए । 

‘पछिल्लो समय टिकटकमा धेरै मानिस सक्रिय छन् । अनेकन गरी भाइरल हुने हाेड सबैमा देखिन्छ । याे राम्राे कुरा हाेइन । सबैले बुझे हुने हाे’, रानाले भने ।

केएमसी सुदूरपश्चिमका सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने शैक्षिक संस्था हो । यहाँ प्लस टुदेखि मास्टर लेभलसम्म ७ हजार विद्यार्थीहरू अध्ययनरत छन् । क्याम्पसमा १३० जना प्राध्यापक र कर्मचारीहरू छन् । 

नेपालमा अहिले लाखौं मानिस टिकटक प्रयोग गर्छन् । धेरै फलोअर भएका केही प्रयोगकर्ताले यसलाई आयआर्जनको स्रोत समेत बनाइरहेका छन् । टिकटक प्रयोगकर्ताहरू आफ्ना फलोअर बढाउन नयाँनयाँ लोकेसनको खोजीमा हुन्छन् । 

टिकटिकमा निश्चित संख्यामा फलोअर भएका प्रयोगकर्तालाई टिकटकले लाइभ गर्ने र गेम खेल्ने सुविधा दिएको छ । अन्य प्रयोगकर्ताले लाइभका बेला गिफ्ट दिन पाउँछन् । टिकटकमा पाएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ ।

टिकटक लतले पारिवारिक, सामाजिक, शैक्षिक गतिविधिहरूमा असर पुर्‍याउनुका साथै मनोवैज्ञानिक वृत्ति विकास पनि प्रभावित हुने मनोविदहरूको भनाइ छ । 
 

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ११:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया