कांग्रेस महाधिवेशनले दिएकाे ६ सन्देश

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी नै छ । पदाधिकारी, खुला केन्द्रीय सदस्य, खुला महिला, अल्पसंख्यक, अपांगता, मधेसी र मुस्लिमको परिणाम आइसकेको छ । बाँकीको गणना भइरहेको छ । 

पदाधिकारी र केन्द्रीय सदस्यका लागि २७ गते मतदान भएको थियो । निर्वाचित हुने संख्या १३४ हो ।  यसबीचमा निर्वाचित भएका उम्मेदवार, निर्वाचनमा बनेको समीकरण, मतदान प्रक्रिया, मतदाता, पुस्तान्तरणदेखि समावेशीताको सवाल चर्चायोग्य भएको छ । यी विषयलाई समष्टिमा कांग्रेसको १४ औँ महाधिवेशनले दिएको ६ सन्देशको रूपमा लिन सकिन्छ । 

पहिलो सन्देश – धनाढ्यको हातमा पार्टी, समावेशीताको उपभोक्ता प्रभुत्वशाली वर्ग 

कांग्रेस महाधिवेशनअघि आर्थिक समितिलाई तीन धनाड्यले आर्थिक सहयोग गरेको खबर सनसनीपूर्ण बन्यो । सहयोगदाताहरू हुन्, विनोद चौधरी, जिपछिरिङ लामा र उमेश श्रेष्ठ । उनीहरूले समान २५ लाखका दरले कांग्रेसको आर्थिक समितिलाई सहयोग उपलब्ध गराए ।
 
त्यसमध्येका चौधरी मधेसी कोटाबाट मंगलबार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी नेपालको सर्वाधिक धनाढ्य व्यक्ति हुन् । २०६४ मा एमालेबाट सांसद भएका थिए । २०७४ मा कांग्रेस प्रवेश गरेका उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । चौधरी देउवानिकट मानिन्छन् ।

लामा भने यसअघि नै केन्द्रीय सदस्यमा निर्वाचित भइसकेका हुन् । खुलातर्फबाट सदस्यमा निर्वाचित भएका उनी पनि देउवानिकट मानिन्छन् । लामा ‘क’ वर्गका ठेकेदार हुन् । उनी माथि पैसा तिर्दै समानुपातिक सांसद भएको आरोप लाग्ने गरेको छ । 

अर्का सहयोगदाता श्रेष्ठ पनि धनाढ्य व्यक्ति हुन् । शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रका लगानीकर्ता उनी समानुपातिक सांसद हुँदै हाल राज्यमन्त्री छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी सम्हालेका छन् । यसअघि श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री थिए । 



उनी आदिवासी जनजातितर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार छन् । मत परिणाम भने आउन बाँकी छ । यद्यपि, देउवा पक्षको खुलादेखि महिला केन्द्रीय सदस्य र पदाधिकारीमा पनि अधिक उम्मेदवार निर्वाचित भएका कारण श्रेष्ठ निर्वाचित हुने सम्भावना बलियो मान्न सकिन्छ । 

यसरी कांग्रेस पार्टीको संगठन निर्माणमा योगदान नभएका तर पैसाको बलमा नेता हुने, सांसद हुने र मन्त्री हुनेहरू देखिएका छन् । जबकि, पार्टीको संगठनमा मरिमेटेर लाग्दा कपाल फुलाएकाहरूले भने अवसर नपाएको भन्दै पार्टीमा गुनासो गरेको सुनिँदै आएको छ । अर्कोतिर वर्चश्वशाली देखिएका नेताहरू समावेशी कोटाबाट नेता, सांसद र मन्त्री हुने प्रचलनले समावेशीता के उनीहरूकै लागि कार्यान्वयनमा ल्याइएको राजनीतिक प्रणाली हो? प्रश्न उठेको छ । 



हुन पनि पटकपटक समावेशी कोटाबाट यी नेताहरू मात्रै होइनन्, कयौंले अवसर पाएका छन् । जसकारण समावेशीतामाथि पुनर्विचार गर्नुपर्ने अवस्था आएको राजनीतिक विश्लेषक दुर्गा सुवेदीको बुझाइ छ ।  

दोस्रो सन्देश – चुच्चो ढुंगो उही टुंगो 

पूर्वमहामन्त्री प्रकाशमान सिंहले पटकपटक भनेका थिए, ‘कांग्रेस पार्टी वर्तमान नेतृत्वबाट चल्न सक्दैन ।’ यसो भन्दै उनी प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाका चर्का आलोचक बने । सिंहले नेतृत्वबाट देउवाको विस्थापनलाई पहिलो शर्त बनाए । सोहीअनुसार उनले २७ मंसिरमा सभापति पदमा मनोनयन दर्ता गर्दै निर्वाचन पनि लडे । उनले तेस्रो मत प्राप्त गरे । सभापति पदका कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न सकेनन् । अन्ततः सभापतिको निर्वाचन दोस्रो चरणमा गयो ।

जहाँ उनै आलोचक सिंहले हतारहतार देउवालाई सभापतिका लागि समर्थन गरे । पहिलो चरणमा मत दिएका कतिपय मतदाता उनैबाट खुसी थिएनन् । ‘अब सुध्रिने भनेपछि उहाँ (देउवा) लाई समर्थन गर्ने निर्णयमा पुगेँ’ भन्दै समर्थन गर्नुको प्रष्टिकरण दिए । तर, अझैसम्म उनको आलोचना एकथरी कांग्रेसकै नेताहरूले गर्दै आएका छन् । 

यसले चुच्चो ढुंगो उही टुंगो भन्ने उखानलाई चरितार्थ गरेको छ । सिंह मात्रै होइनन्, देउवाको नेतृत्वमा कांग्रेस ऊर्जाशील, गतिशील र विचारशील पार्टी हुँदैन भन्ने अर्का नेता हुन् विमलेन्द्र निधि । देउवालाई पार्टी नेतृत्वबाट बहिर्गमन गर्नुपर्नेमा उनको पनि जोड थियो । त्यही भएर देउवासँगै रहेका उनी विद्रोही बने । निधिले छुट्टै सम्पर्क कार्यालय खोलेर प्रचारप्रसार गरे । 

उनले सभापतिमा प्रतिस्पर्धा पनि गरे । तर, निधिले पनि दोस्रो चरणमा सिंहले जसरी देउवालाई समर्थन गर्ने बताए । अर्का, युवा नेता तथा सभापति पदमा पहिलो चरणमा प्रतिस्पर्धा गरेका कल्याणकुमार गुरुङले पनि देउवालाई नै समर्थन गरे । जबकि, मनोनयन दर्तापछि कांग्रेस पार्टी चलाउने र देश पनि चलाउने गरी सभापति पदमा उम्मेदवारी दिएको उनको दाबी थियो । 

उमेरका आधारमा ज्येष्ठ भइसकेका देउवालाई समर्थन गर्नुलाई स्वभाविक रूपमा कांग्रेसभित्रकै युवा नेताहरूले लिइरहेका छैनन् । यस आधारमा यो महाधिवेशनले दिएको अर्को सन्देश भनेको नेताहरूले चर्चामा आउन विरोध गर्ने मात्रै हुन् र परी आउँदा विरोध जसको गरिन्छ, उनलाई काँधमा बोक्नुपर्छ भन्ने हो । 

तेस्रो सन्देश – समावेशी कांग्रेस

कांग्रेसमा समावेशीताको मुद्दा उठाउनेमध्येका नेतामा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा पनि पर्छन् । ‘कदमजम’ उनको समावेशीतासँग जोडिएको राजनीतिक एजेण्डा हो । जसको पूरा रूप कर्णाली, दलित, महिला, जनजाति र मधेसी हो ।

उनीहरूलाई पार्टीमा मात्रै नभएर राज्यको हरेक निकायमा समावेशीता सिद्धान्तको आधारमा अगाडि बढाउँदै मूलधारमा जोड्नुपर्छ भन्ने उनको मान्यता हो । यो एजेण्डा बोकेका देउवाले केन्द्रीय समितिलाई तुलनात्मक रूपमा बढी समावेशी बनाएका छन् । उनका एजेण्डामा नसमेटिएका थारू, खस–आर्य र मुस्लिमलाई पनि नवौं संशोधित विधानअनुसार भएको यो महाधिवेशनले समेटेको छ । 

कर्णालीलाई समेट्ने गरी पिछडिएको क्षेत्र भनिएको छ । अपाङ्गता र अल्पसंख्यकलाई पनि केन्द्रीय समितिमा स्थान दिइएको छ । जसअन्तर्गत पदाधिकारीमा यी क्लस्टरबाट समान एक÷एक जना सहमहामन्त्री र केन्द्रीय सदस्य पनि भएका छन् । 

महिलाबाट ९ जना, दलितबाट ९ जना, खस–आर्यबाट १३ जना, आदिवासी जनजातिबाट १५ जना, मधेसबाट ९ जना, थारूबाट ४ जना, मुस्लिमबाट ३ जना, पिछडिएको क्षेत्रबाट १ जना, अल्पसंख्यकबाट १ जना र अपांगता भएकाबाट १ जना केन्द्रीय सदस्य हुने निश्चित छ । यसरी कांग्रेसमा पदाधिकारीसहित केन्द्रीय सदस्य गरी निर्वाचित हुने १३४ पदमा समावेशीअनुसार कम्तीमा ८० जना जना निर्वाचित हुने भएका छन् ।

यस आधारमा १४ औँ महाधिवेशनले दिएको अर्को सन्देश भनेको कांग्रेस समावेशी पार्टी हो । 

चौथो सन्देश – पुस्तान्तरणको अभ्यासमा कांग्रेस 

‘१२ भाइ’ युवा नेता हुन् वा अन्य युवा नेता, उनीहरूबाट उठ्दै आएको एजेण्डा पुस्तान्तरणको हो । पार्टी नेतृत्वमा युवा पुग्नुपर्छ र पुगिएको अवस्थामा पार्टी गतिशील हुन्छ भन्ने उनीहरूको ठम्याइ हो । 
नेतृत्वमै नपुगे पनि उपसभाति पदमा ‘१२ भाइ’ मध्येमा पर्ने धनराज गुरुङ निर्वाचित नै भए । महामन्त्रीमा सोही समूहमा रहेका गगनकुमार थापा निर्वाचित भए । उक्त समूहमा नरहेका प्रभावशाली युवा नेता विश्वप्रकाश शर्मा पनि महामन्त्रीमा निर्वाचित भए ।
 
सहमहामन्त्रीमा सोही समूहमा रहेका युवा नेताहरू जीवन परियार र बद्री पाण्डे निर्वाचित भएका छन् । समूहमा नभएका युवा नेता किशोरसिंह राठौर, महालक्ष्मी उपाध्याय ‘डिना’ पनि सहमहामन्त्री पदमा निर्वाचित भए । 

केन्द्रीय समितिमा पनि १३ औँ महाधिवेशनबाट भन्दा बढी युवा नेता निर्वाचित भएका छन् । यसले कांग्रेसमा पुस्तान्तरण सुरुवात भएको राजनीतिक विश्लेषक डा. विष्णु दाहाललाई लाग्छ । यसको कारण युवा उमेर समूहका क्रियाशील सदस्य संख्या बढी हुँदै जानु हो । कांग्रेसमा करिब आड लाखमध्ये यसपटक २ लाख ८२ हजार २२९ जना क्रियाशील सदस्य ४० वर्षभन्दा मुनिका छन् । जसको भूमिका कांग्रेसलाई पुस्तान्तरण गर्न रहेको डा. दाहालको विश्लेषण छ । 

पाँचौं सन्देश – देउवाले पत्याएनन् प्रविधि  

कांग्रेसले १४ औं महाधिवेशनमा पनि डिजिटल भोटिङ मेसिनप्रति विश्वास गर्न सकेन । कांग्रेसअघि महाधिवेशन गरेको राप्रपा र एमालेले भने यसको प्रयोग गरेको थियो । जसको सहायताबाट निर्वाचन प्रक्रिया छिटो टुंगियो । 

तर, देउवाले भने भोटिङ मेसिनप्रति विश्वास गरेनन् । २० मंसिरमा केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले भोटिङ मेसिन प्रयोग गर्न देउवासँग प्रस्ताव राखेका थिए ।

जवाफमा ‘सकारात्मक छु’ भनेका देउवाले अन्ततः उक्त मेसिन प्रयोगमा ल्याउन दिएनन् । जसले प्रविधिप्रति देउवाको विश्वास कम रहेको जनाउँछ । भोटिङ मेसिन प्रयोग नहुँदा कांग्रेसको मतगणना लम्बिएको हो ।

छैठौं सन्देश : अन्तर्घात गरेर नेता छनोट 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकटका तर देउवा पक्षबाट महामन्त्री पदका उम्मेदवार भएका प्रदीप पौडेलको पराजय अन्तर्घातका कारण भएको विश्लेषण भइरहेको छ । हुन पनि सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र आठमध्ये ६ सहमहामन्त्री पनि देउवा पक्षकै निर्वाचित हुनुले अन्तर्घात भएको अनुमान गर्न गाह्रो छैन । 

जुन देउवानिकटका महामन्त्री पदका उम्मेदवार डा. प्रकाशशरण महतको पराजयले पनि पुष्टि गरेको छ । उपसभापतिमा विजयकुमार गच्छदारको हारलाई पनि अन्तर्घातको भएको रूपमा कांग्रेसकै एकथरी नेताहरूले चर्चा गर्दै आएका छन् । यसले कांग्रेसका मतदाताले अन्तर्घात गरेरै नेता छान्छन् भन्ने सन्देश गएको छ । 

  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार ११:३३:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया