संसदको अवरोध नखोले एमालेलाई जनता दण्डित गर्ने छन् : बाबुराम भट्टराई

सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीले राखेका जिज्ञासामा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताएका हुन् ।

उनले एमालेले अब पनि संसद बैठक सुचारु नगरे जनता आफैँले दण्डित गर्ने दाबीसमेत गरे । अध्यक्ष भट्टराईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्कसमेत गरे ।

गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा छन् भन्ने प्रमाण नै संसद अवरुद्ध गरिरहेको उनको भनाइ थियो । उनले संसदमा असहमति राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीँभित्र तर्क-वितर्क गर्ने रहेको बताए ।

‘बैठक नै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो । संविधानलाई असफल पार्ने कुरा हो । यसले पनि केपी शर्मा ओली गत पुस ५ गतदेखि प्रतिगमनकारी दिशामा हुनुहुन्थ्यो । उहाँहरू अहिले पनि त्यसैमा हुनुहुन्छ । सरकारले अग्रसरता लिने भनेको त उहाँहरूलाई यस्तो अवरोध जुन गरिराख्नु भएको छ, त्यसलाई दण्डित गर्न मात्रै बाँकी छ' उनले भने ।

अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।





  • प्रकाशित मिति : पुस ७, २०७८ बुधबार १६:४६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया