मंगल ग्रहमा नयाँ यान अवतण, वर्षौदेखिको रहस्य पत्ता लाग्ने विश्वास

एजेन्सी– अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले मंगल ग्रहमा अन्तरिक्ष यान ‘इन्साइट ल्यान्डर’ मंगलबार राती अवतरण गरेको छ । मंगल ग्रहमा पठाइएको नयाँ यान सात मिनेट पछि निकै संघर्षका साथ ल्यान्डिङ गरिएको थियो । अवतरणका क्रममा पनि यानले नासामा सन्देश पठाइरहेको थियो । 

मंगल ग्रहको आन्तरिक भुभागको अध्ययन गर्न यो यान पठाएको नासाले जनाएको छ । मंगल ग्रह पृथ्वीपछि नासाले यसप्रकारको अनुसन्धान गरिरहेको एक मात्र ग्रह हो । 

इन्साइट मंगल ग्रहमा सुरक्षित अवतरण भएपछि क्यालिफोर्नियामा अवस्थित नासाको मिसन कन्ट्रोलमा खुशीको लहर छाएको थियो । वैज्ञानिकहरु यानको अवस्था एवं अन्तरिक्षको अन्य जानकारी र तस्विरहरुको प्रतीक्षामा छन् । इन्साइट ल्यान्डरले यी सबै जानकारी केही समयपछि पठाउने विश्वास वैज्ञानिकहरुको छ । 

यानको गति २० हजार किलोमिटर प्रतिघण्टा गर्नुपर्ने भएकाले मंगल ग्रहमा उत्रिन ७ मिनेटको समय निकै महत्वपूर्ण थियो । यो यान मंगल ग्रहको भुमध्य रेखा नजिक एलिसियम प्लानिसिया नामको सपाट मैदानमा अवतरण भएको थियो । 

मंगल ग्रहको बारेमा अरबौं वर्षदेखि वैज्ञानिकले पत्ता लगाउन नसकेका जानकारी इन्साइट ल्यान्डरले दिन सक्ने विश्वास वैज्ञानिकको छ । यानले एक साइज्मोमिटर राखेर मंगल ग्रहको जमिनभित्र रहेको हलचल रेकर्ड गर्नेछ । जसबाट यो ग्रहको सतहभित्र भुकम्प जस्तो कुनै हलचल भए वा नभएको पत्ता लाग्नेछ । 

मंगल ग्रहलाई खनेर त्यसभित्रको रहस्य पत्ता लगाउन पठाइएको यो पहिलो यान हो । इन्साइट ल्यान्डरसँगै एक जर्मन उपकरणले मंगल ग्रहको जमिनको पाँच मिटर तल गएर तापक्रम पत्ता लगाउने छ । यो तापक्रमबाट मंगल ग्रह कति सक्रिय छ भन्ने पत्ता लाग्ने छ । 



यो अन्तरिक्ष यानमा राखिएको रेडियो ट्रान्समिशनले मंगल ग्रह आफ्नो अक्षमा डगमगाउँदै कसरी घुम्छ भन्ने पनि पत्ता लगाउने छ । 

वैज्ञानिक सुजेन स्म्रेकर भन्छन् ‘हातमा एउटा काँचो र अर्को पाकेको अण्डा लिनुहोस् र दुवैलाई घुमाउनुहोस् । यी दुई अन्डा अलग अलग तरिकाले घुम्नेछन् । किनभने अन्डाभित्र तरल पदार्थ अलग अलग छ । यस्तै हामीलाई मंगल ग्रहमुनि तरल वा होस पदार्थ के छ भन्ने थाहा छैन, यसको भित्री भाग कति ठूलो छ वा त्यो भाग नै छैन भन्ने बारेमा पनि केही जानकारी छैन । इन्साइट ल्याण्डरले हामीलाई यो सबै विषयमा जानकारी दिने छ ।’ 



  • प्रकाशित मिति : मंसिर ११, २०७५ मंगलबार १०:१७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया