एएफसी कप छनोटको दाैडमा मनाङ र मछिन्द्र, छैटौँ चरणमै लाग्ला टुंगो?
तस्बिर : एन्फा

नेपालको सर्वाधिक चर्चित ‘ए’ डिभिजन फुटबल लिगको जारी सिजनमा रोचक दृश्य देख्न पाइएको छ । लगातार प्रतिस्पर्धात्मक खेल र खेलाडीको सुन्दर गोलले लिग रोचक बनेको हो ।

मैदानमा खेलाडीबीच तीव्र प्रतिस्पर्धा हुँदा प्याराफिटबाट दर्शकले पनि राम्रो साथ दिएका छन् । खेल हेर्न रंगशाला पुग्ने दर्शकको पनि कमी भएको छैन । छैटौँ चरणको खेल चलिरहँदा खेलाडी र टिमबीच थप कडा प्रतिस्पर्धा देख्न पाइने सम्भावना छ । यो चरणले नै एएफसी छनोटमा पुग्ने टोलीको टुंगो लगाउने सम्भावना रहेकाले लिगमा थप कडा प्रतिस्पर्धा देख्न पाइने भएको  हो ।  

जारी लिगमा पनि मनाङ मर्स्याङ्दी र मछिन्द्र फुटबल क्लबलाई उपाधि दावेदारको रूपमा हेरिएको छ । एएफसी दौडको शीर्ष स्थानमा पनि यी दुवै टोली छन् । एएफसी कप एसियाली फुटबल महासंघले आयोजना गर्ने लिग हो । हाल नेपालका चार क्लबले यो लिगमा छनोट हुन लाइसेन्स प्राप्त गरेका छन् । 

नेपालका मनाङ, मछिन्द्र, आर्मीसहित एपिएफ एएफसी लाइसेन्स प्राप्त क्लब हुन् । चारमध्ये एपिएफ क्लब एएफसी लिग छनोट दौडबाट बाहिरिइसकेको छ । विगतमा लिगको अन्तिममा एएफसी कपमा छनोट हुने टोलीको टुंगो लाग्ने गरेको थियो । तर, लिग सुरु हुन ढिला हुँदा यसपालि सो कपका लागि छनोट हुने टिमको टुंगो साताैँ चरणबाटै लाग्ने छ । 

कीर्तिमानी मनाङ र गत संस्करण विजेता मछिन्द्रबीचको खेललाई हाइभोल्टेजको रूपमा हेरिएको छ । उपाधि दावेदार मनाङ र मछिन्द्र शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एकअर्काको सामना गर्दैछन् ।

खेल अवलोकनका लागि रंगशालामा दर्शकको उपस्थिति बाक्लो रहने सम्भावना छ । जारी लिगमा सबैभन्दा बढी दर्शक मछिन्द्र र त्रिभुवन आर्मी क्लबको खेलमा भएका थिए । त्योभन्दा बढी दर्शक मनाङ र मछिन्द्रबीचको खेलमा हुने अनुमान गरिएको छ ।



मनाङ सामाजिक सञ्जालमा पनि सर्वाधिक चर्चित टोली हो । नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्यहरू जोडिएसँगै मछिन्द्रको समर्थक संख्या पनि दिनहुँ बढिरहेको छ । विद्यालय स्तरमासमेत फुटबल एकेडेमी चलाएको मछिन्द्रलाई साथ दिन विद्यार्थीहरू नै बाजागाजासहित रंगशालामै आउने गरेका छन् ।

२०६२ सालदेखि ‘ए’ डिभिजन लिग खेल्न थालेको मछिन्द्र क्लबले अहिलेसम्म एकपटक मात्र लिगको उपाधि उचालेको छ । यसपालि पनि उसको मुख्य लक्ष्य उपाधि रक्षा गर्नु नै रहेको छ । क्बलका प्रशिक्षक प्रवेश कटुवालले पनि पटकपटक यही कुरा दोहोर्‍याउँदै आएका छन् । 



यता कीर्तिमानी क्लब मनाङ कमब्याक गर्ने सोचमा छ । गत सिजनमा उपाधि जित्न नसकेर निराश भएको मनाङको लक्ष्य पनि च्याम्पियन बन्नेछ । क्लबका प्रमुख प्रशिक्षक फुजा टोपे र सहायक प्रशिक्षक राजेन्द्र तामाङ पनि मनाङको लक्ष्य च्याम्पियन बनाउनु नै रहको बताउँछन् ।  

मनाङले २०४३ सालदेखि ‘ए’ डिभिजन लिग खेल्न थालेको थियो । त्यसयता उसले २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२, २०७० र २०७५ सालमा लिगको उपाधि उचालेको थियो । उपाधिको लक्ष्य राखेका मनाङ र मछिन्द्रका लागि एएफसी कपमा छनोट हुनु पनि अर्को प्रतिष्ठाको कुरा छ । 

मछिन्द्रविरुद्ध जित हासिल गर्न सके मनाङ सातौं चरणको खेलअघि नै एएफसी कपका लागि छनोट हुनेछ । मछिन्द्रले जित निकालेमा भने एएफसी कपमा छनोट हुने टिमको टुंगो लाग्न सातौँ चरणको खेलको प्रतीक्षा गर्नुपर्नेछ । सातौं चरणमा पनि जित हात पारे मछिन्द्र एएफसी कपमा छनोट हुने छ।

मनाङ र मछिन्द्रबीचको खेल बराबरीमा सकिएको अवस्थामा भने आर्मीलाई राहत हुनेछ । त्यसैले एएफसी कपमा छनोट हुन शनिबारको खेल मनाङ र मछिन्द्र दुवै टोलीका लागि निकै महत्वपूर्ण छ ।

मनाङका सहायक प्रशिक्षक राजेन्द्र गुरुङ पनि एएफसी कपमा छनोट हुन मछिन्द्रविरुद्धको खेल निकै महत्वपूर्ण रहेको बताउँछन् । ‘हामी जित्ने लक्ष्यसहित मैदानमा जानेछौँ, एएफसी कप क्वालिफायरका लागि हाम्रो गन्तव्य यो खेलले निर्धारण गर्नेछ,’ उनले भने, ‘मछिन्द्रको टोली बलियो छ । त्यहाँ राष्ट्रिय टोलीबाट खेलेका धेरै खेलाडी रहेका छन् । तर, हाम्रो पनि टोली कम भने छैन । शनिबारको म्याच ५०/५० को खेल छ ।’ 

पछिल्लो खेलमा शानदार जित हासिल गरेको मनाङमा आत्मविश्वास भरिएको सहायक प्रशिक्षक गुरुङले बताए । उनले प्रमुख प्रशिक्षक फुजाको आगमनले टोलीमा नयाँ ऊर्जा थपिएको पनि बताए ।

मछिन्द्रविरुद्ध आफूहरू दबाबबिना साथ खेल्ने पनि गुरुङले बताए । आफूहरू शतप्रतिशत दिएर खेल्दै मछिन्द्रलाई हराउने योजनामा रहेको पनि उनले सुनाए ।

‘प्रेसर लिएर खेल्यो भने बिग्रन्छ, हामी कुनै प्रेसरबिना खेल खेल्नेछौँ । मछिन्द्रको टोलीमा पनि खेलाडी राम्रो छन् । हाम्रोमा पनि राम्रा छन् । त्यो भएर खेल कुनै प्रेसरमा नखेली ९० मिनेट नै मैदानमा शतप्रतिशत दिएर खेल्ने र जित्ने दाउमा रहेका छौं,’ गुरुङले फरकधारसँग भने ।

यता साविक विजेता मछिन्द्रका प्रमुख प्रशिक्षक प्रवेश कटुवालले पनि मनाङविरुद्ध आफूहरूको मुख्य लक्ष्य जित नै रहेको बताए । ‘हामी जसरी पनि जित निकाल्ने दाउमा मैदानमा उत्रने छौं । शनिबारको खेलले हामी एएफसी कपमा खेल्न पाउने/नपाउने भन्ने कुरा निर्धारण गर्नेछ, त्यसैले हाम्रो स्पष्ट नीति भनेको ३ अंक र खेल जित्नु नै हो,’ उनले भने ।

खेलाडी घाइतेको समस्यालाई लिएर भने प्रशिक्षक कटुवाल केही चिन्तित छन् । ‘मैदानमा उत्रने ११ खेलाडी सकेसम्म घाइते नहुन भन्ने नै हो तर भइहालेमा हामी राम्रो विकल्प तयार गरि रहनेछौँ,’ उनले भने ।                                                                                                                                                           

  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार ८:४७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया