शेखर कोइरालाको निष्कर्षः यी पाँच कारणले सभापतिमा हारेँ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन सकिएको धेरै दिन भएको छैन । १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यहरुले शनिबार मात्र पार्टी कार्यालय सानेपामा सपथ खाएका छन्, पहिलो बैठक बसेका छन् ।

कांग्रेसको यो महाधिवेशनबाट निस्किएको राजनीतिक राप र ताप सेलाउन केही समय लाग्न सक्ने अनुमान र आँकलन गर्न सकिन्छ । यस्तो किन पनि भने बल्ल महाधिवेशनमा निर्वाचित तथा पराजित उम्मेदवारहरुले आआफ्नो समूहका भेला बोलाउन थालेका छन्, महाधिवेशनमा आफ्नो प्रस्तुतिको समीक्षा गर्न थालेका छन् ।

यसको उदाहरण हो, शुक्रबार महामन्त्रीमा पराजित डा. प्रकाशशरण महतले राखेको एक भेला । गौशाला एक छलफल राख्दै उनले आफूलाई आफ्नै गुटका साथीहरुले सहयोग नगर्दा अनपेक्षित रुपमा हार व्यहोरेको निष्कर्ष निकालेका छन् ।

अर्कोतिर यही महाधिवेशनबाट पार्टीलाई नेतृत्व गर्ने चाह राखेका शेखर कोइरालाले पनि अब समीक्षा गरेर आफ्नो हारका पाँच कारण रहेको निष्कर्ष निकालेका छन् । १३ औं महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा पपुलर भोट ल्याएर जित निकालेका कोइरालाले यसपटक सभापतिमा चाहिँ जित निकाल्न सकेनन् ।

सभापतिमा पराजित भए पछि कोइरालाले २८ मंसिरमा पत्रकार सम्मेलन आयोजना गरेर अब आफू फेरि सभापतिमा उम्मेदवार नबन्ने पनि बताएका थिए । उनको सभापतिका लागि मत माग्ने नारा पनि थियो– एक पटक, यसै पटक । आफ्नो वाचामा अडिग रहे भने अब कोइराला कांग्रेस पार्टी सभापति कहिल्यै हुने छैनन् । तर, राजनीतिमा जे भनिएको थियो, त्यही मात्र गरिन्छ भन्ने हुँदैन । 

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी अन्तिम चरणमा पाँच जना भए, शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा अरु सबै देउवाको साथमा गए भने शेखर कोइराला एक्लै चुनावी प्रतिस्पर्धामा होमिए । पहिलो चरणको भन्दा केही मत बढी ल्याए पनि कोइरालाले सभापतिमा निर्वाचित हुनका लागि आवश्यक मत ल्याउन सकेनन् । दोस्रो चरणमा खसेको कूल मतको ४१ प्रतिशतमा उनले चित्त बुझाए ।



अब कोइराला यो महाधिवेशनमा आफूले हार्नुका कारणबारे समीक्षा गरिरहेका छन् । विभिन्न सार्वजनिक मन्च तथा सन्चारमाध्यममा पनि उनले आफूले हार्नुका कारणबारे आफ्ना निष्कर्ष सुनाउन थालेका छन् । 

१४ औं महाधिवेशनको सरगर्मी सुरु हुँदानहुँदै पार्टीमा देउवाको एकलौटी भएको र उनी विधानअनुसार पनि नचलेको भन्दै रामचन्द्र पौडेलले देउवाइतर पक्षलाई एक ठाउँमा ल्याउने प्रयास सुरु गरेका थिए । पौडेललाई साथ दिएका थिए, शेखर कोइराला, शशांक कोइराला र प्रकाशमान सिंहले । 



तर, १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा यी चार जना पनि एकीकृत देखिएनन् । उनीहरुले आआफ्नो दाबी अगाडि बढाइरहे । यी चारै जना सभापतिको आकांक्षीका रुपमा अगाडि बढे । गण्डकी प्रदेशमा भएको प्रदेश अधिवेशनमा नराम्रो हार व्यहोरेपछि रामचन्द्र पौडेल र शशांक कोइरालामा केही लचकता देखियो । त्यसपछि पनि सिंह र कोइराला चाहिँ एकअर्काको उम्मेदवारीको विषयमा अडिग रहे । त्यसैले पनि यो समूहबाट सभापतिमा उम्मेदवारी मनोनयनको दिनसम्म कोको उम्मेदवार हुने भन्ने टुंगो लागिसकेको थिएन । 

अन्तिममा यो समूहबाट प्रकाशमान सिंह र शेखर कोइराला उम्मेदवार भए । ‘मैले त सहमतिको सभापति हुनुहुन्छ भने रामचन्द्रजी उठ्नुहोस् भनेको थिएँ, उहाँ उठ्न मान्नु भएन, प्रकाशमानजीले पनि मान्नुभएन,’ कोइरालाले भनेका छन्, ‘त्यसो भए म पनि उठ्छु भनेँ, उम्मेदवारी दिन नै ढिला भयो ।’

शेखर कोइरालाले आफूले हार व्यहोर्नुको पहिलो कारकका रुपमा यसलाई नै मानेका छन्– सभापतिको आफ्नो ‘क्याम्पेन’ अत्यन्त ढिला सुरु हुनु ।

कोइरालाले सभापतिमा उठ्ने अडान कायम गरेपछि कांग्रेसका पूर्वउपसभापति, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई चित्त बुझेन । उनले बारम्बार शेखर कोइरालालाई आफूले नेता मान्न नसक्ने बताउँदै आएका थिए । 

‘म जुनियर हो भन्ने साथीहरुको भावना रह्यो,’ शेखर कोइरालाले एक टिभीलाई अन्तर्वार्ता दिँदै केही दिनअघि भनेका छन्, ‘यो कुरा एक डेढ वर्षअघि पनि उठेको थियो, मैले चिर्ने प्रयास पनि गरेँ । तर, भएन । नेताहरु द्विविधामा परे ।’ कोइरालाले आफ्नो पराजयको दोस्रो कारण यसलाई मानेका छन् ।

त्यस्तै, आफूले रामचन्द्र पौडेल र शशांक कोइरालाबाट सहयोग नपाएको निष्कर्षमा पनि उनी पुगेका छन् । सभापतिमा आफू उम्मेदवार हुने भइसकेपछि रामचन्द्र पौडेल र शशांक कोइराला दुवैले खुलेर आफ्ना लागि मत नमागेको कुरालाई पनि कोइरालाले आफू सभापतिमा हार्नुको कारणको रुपमा लिएका छन् ।

‘उहाँहरुले खुलेर मेरालागि भोट मागिदिनु पथ्र्यो,’ कोइरालाले भनेका छन्, ‘तर, उहाँहरुले गरिदिनु भएन, हामीले मात्र भन्दा कार्यकर्ताले पत्याएनन् ।’

कोइरालाले आफ्नो हारका चौथो र पाँचौ कारकका रुपमा आफ्नो कमजोरीलाई नै निष्कर्ष मानेका छन् । उनले दोस्रो चरणमा आफूले सिंह र निधिलाई मिलाउन नसकेको र भाइबहिनी शशांक कोइराला र सुजाता कोइरालालाई समेत मिलाउन नसकेकाले हार व्यहोरेको निष्कर्ष सुनाउन थालेका छन् ।

उनले सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा भन्दा दोस्रो चरणको निर्वाचनमा मत कम आउँछ कि भन्ने अनुमान गरेकाले पनि आफूले हार व्यहोरेको र यसको कारण प्रकाशमान सिंह र विमलेन्द्र निधिको सहयोग नहुनुलाई पनि मानेका छन् । 

महाधिवेशनको पूर्वसन्ध्यामा सभापति चुन्नका लागि भएको निर्वाचन दोस्रो चरणमा गएको खण्डमा देउवाइतर पक्षका नेताहरु एक ठाउँमा हुने भन्ने अनुमान गरिएको थियो । तर, अप्रत्याशित रुपमा सिंह र निधि दुवैले सभापतिमा देउवालाई समर्थन गरे ।

यसलाई पनि कोइरालाले आफ्नो हारको कारण मानेका छन् ।

  • प्रकाशित मिति : पुस १०, २०७८ शनिबार १५:२४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया