टुँडिखेलबाट उदाएको, प्रज्ञा प्रतिष्ठानमा खुम्चिएको माओवादी केन्द्र

राजधानीको मुटु मानिने रत्नपार्क क्षेत्र र त्यस वरपरका केही दृश्यले आइतबार बेग्लै सन्देश प्रवाह गरिरहेका थियो । जमल चोकबाट केही मिटरकै दूरीमा छ, नारायणहिटी दरबार । त्यसकै वरिपरि टुँडिखेल र प्रज्ञा प्रतिष्ठान छन् ।

प्रज्ञाको भवनबाट एकातिर टुँडिखेल छ, अर्कोतिर तत्कालिन राजाको दरबार । राजदरबार र टुँडिखेलसँग प्रचण्डको गहिरो सम्बन्ध छ । माओवादीले सशस्त्र विद्रोह सुरु गर्दैगर्दा यी क्षेत्रहरूमा राजसंस्थाकै हालीमुहाली थियो । राजतन्त्र अन्त्य गर्ने माओवादी र त्यसको प्रमुख कमाण्डर थिए, पुष्पकमल दाहाल प्रचण्ड । 

राजतन्त्रको विरुद्धमा बिगुल फुकिरहँदा प्रचण्डले आजको दिनको परिकल्पना गरेका थिए/थिएनन् थाहा छैन । तर, १० वर्षे जनयुद्ध सकेर शान्ति प्रक्रियामा सामेल भएर पहिलोपटक टुँडिखेलमा उभिँदा भने आजको ‘हबिगत’ भोग्नुपर्ला भनेर प्रचण्डले पक्कै सोचेका थिएनन् ।

किनभने, त्यतिबेला प्रचण्डको अघिपछि हजारौं नेता/कार्यकर्ताको लाइन थियो । लाखौं जनताको आशा र साथ प्रचण्डमाथि थियो । सोही कारणले पनि २०६४ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो निर्वाचनमा जनताको सबैभन्दा लोकप्रिय दल बनेको थियो ।

प्रचण्डकै नेतृत्वमा देशभरबाट फुकिएको क्रान्तिको बिगुलले राजतन्त्र ढल्यो । देश संघीय गणतान्त्रिक मुलुक बन्यो । पहिलोपटक सार्वजनिक हुँदैगर्दा देखेको भीडको सम्झना टुँडिखेल र दरबारको बीचमा बसेर आइतबार प्रचण्डले गरे कि गरेनन् होला? 

बालुवाटारदेखि टुँडिखेल हुँदै प्रज्ञासम्म



२ असार ०६३ मा तत्कालिन सरकारसँग सम्झौता गरेर शान्ति प्रक्रियामा आएको थियो माओवादी । ०६२/०६३ को जनआन्दोलनपछि अध्यक्ष प्रचण्ड सोही दिन सार्वजनिक भएका थिए । कार्यक्रम थियो, बालुवाटारस्थित प्रधानमन्त्री कार्यालयमा । प्रधानमन्त्री कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला थिए ।

रमाइलो त त्यतिबेला के भएको थियो भने प्रचण्ड सार्वजनिक हुँदै गर्दा बिजुली गएको थियो । सोही बेलामा प्रचण्डले देशको हालत यो छ भनेर कटाक्षसमेत गरेका थिए । पत्रकार सम्मेलनबाट सार्वजनिक भएपछि प्रचण्डको सबैभन्दा ठूलो जनतासँग भेट भएको सभा थियो, टुँडिखेलमा । जहाँ प्रचण्डले गरेको उत्तेजित भाषणको अहिले पनि कहिँकतै चर्चा हुने गरेको छ । 



एक महिनाअघि मात्र चितवनमा आयोजित एमालेको १० औं महाधिवेशनमा भेटिएका एक व्यक्तिले सुनाएका थिए, यति धेरै मान्छे त जनआन्दोलनको बेलामा काठमाडौंमा मात्रै देखिएको थियो । उनको आश्चर्य मिश्रित त्यो भनाइ आइतबार दिनभर रिपोर्टिङको क्रममा दिमागमा बसिरह्यो । 

सानो समूहलाई गाउँगाउँबाट बटुल्दै टुँडिखेलमा आश्चर्यचकित भीड जम्मा पार्न सफल भएका प्रचण्ड १५ वर्षको अवधिमा त्यहीँ छेउकै एउटा हलमा सीमित हुन पुगेका छन् । 

पार्टीको महाधिवेशन र भद्रगोल हल

माओवादीले शनिबार दिउँसोसम्म महाधिवेशनलाई राष्ट्रिय सम्मेलन भनिरहेको थियो । तर, साँझ एकाएक सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएको थियो । 

हतारहतारमा गरिएको यो निर्णयको प्रभाव दिनभर प्रज्ञा भवनमा देखियो । त्यसै पनि राजनीतिक दलको महाधिवेशनलाई कुम्भमेलाकै रूपमा लिन्छन्, पार्टीका नेता/कार्यकर्ता । राजनीतिकर्मीका लागि महाधिवेशन एउटा चाड नै हो । 

०६४ सालमा देशको सबैभन्दा ठूलो पार्टी बनेको माओवादी टुक्राटुक्रामा विभाजित भएर अहिले महाधिवेशन नै बन्द हलभित्र गर्न बाध्य भएको छ । 

यसका केही कारण छन् : पहिलो त, माओवादीले जुन उद्देश्य बोकेर जनयुद्धमा होमिएको थियो । त्यो उद्देश्य शान्ति सम्झौतापछि बिर्सियो । जनताले त विस्तारै साथ छाड्दै गए । आफूसँगै जनयुद्ध लडेका कमाण्डरहरूले नै प्रचण्ड र माओवादीको लाइन परिवर्तन गर्न थाले ।

मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द, सिपी गजुरेल, रामबहादुर थापा बादललगायतका भेट्रान नेताहरूले प्रचण्ड बिर्सिसकेका छन् । उच्च महत्वाकांक्षा र चाँडै विश्वासमा पर्ने प्रचण्ड स्वभावका कारण अहिले पार्टीको महाधिवेशन बन्द हलभित्र गर्नुपर्ने अवस्था आएको माओवादीका एक असन्तुष्ट नेताले सुनाए । 

दोस्रो, निर्वाचन आयोगले दिएको समयसिमालाई ध्यान नदिएर राष्ट्रिय सम्मेलनको कच्चा तयारी प्रचण्डले गराए । आगामी ९ महिनासम्म आउन सक्ने भयलाई चिर्नसक्ने तागत प्रचण्डले नदेखाएपछि अन्ततः यही सम्मेलनलाई महाधिवेशन मान्नेगरी सहमति गराइयो । 

यसको गहिरो राजनीतिक सन्देशको बहस विस्तारै हुँदै जाला, तर पार्टी संगठन निर्माण नहुँदै  गरिएको यो आठौं महाधिवेशन भने कर्मकाण्डी बन्न पुग्यो । केही समयअघि मात्र ८ लाख संगठित सदस्यताको विवरण भएको दाबी गरेको माओवादीले महाधिवेशन भने बन्द कोठाभित्र सम्पन्न गर्न बाध्य भएको छ ।

विगतको १५ वर्ष सत्तामा हुँदा माओवादी आन्दोलन र जनयुद्धको भावलाई नेताहरूले बिर्सिए । त्यही भएर प्रचण्डले बेलाबेला भन्ने गरेका छन्, हामी आफैंबाट सच्चिनुपर्ने बेला आएको छ । उनले गोप्य राखेको आफ्नो दस्तावेजमा पनि आफैंबाट सच्चिन सुरु गर्ने उल्लेख गरेका छन् । 

महाधिवेशनको बन्दसत्रमा पेस गर्ने प्रचण्डको उक्त दस्तावेजमा अहिलेसम्मका आफ्ना कमजोरीलाई केलाएको उनले स्वीकारेका छन् । प्रचण्डले फेरि एकपटक अरूलाई दोष नदिने र आफैंबाट सच्चिएर पुनः देशलाई समाजवादी यात्रामा हिँडाउने उद्घोष गरेका छन् । 

दरबारबमार्गको दरबार हटाउन टुँडिखेलबाट बिगुल फुकेका प्रचण्ड अहिले बीचमा परेका छन् । उनी कमलादीमा छन् । त्यहाँ न उनले राजतन्त्रकै खोल ओडेका राजावादी दलका नेतासँग मन्च सेयर गर्न पछि परे । न, टुँडिखेलमा गएर लाखौं जनताको हाइहाइ बटुल्ने मौका पाए । मात्र, प्रचण्डको उदय र पतनको यो अवधिको साक्षीमात्र बनेको छ, नारायणहिटी टू टुँडिखेल-प्रज्ञा डबली ।


  • प्रकाशित मिति : पुस १२, २०७८ साेमबार ७:१३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया