माओवादी महासचिवमा रस्साकस्सी : को बन्ला प्रचण्डको उत्तराधिकारी ?

नेकपा मा‌ओवादी केन्द्रको ८औँ महाधिवेशन चलिरहेको छ । काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार दिनभरको समय तय गरिएको थियो । 

२५ समूहमा विभाजित भएका प्रतिनिधिले प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बहस गरेका छन् । अब टोली नेताले आफ्नो समूहमा प्राप्त सुझाबलाई भोलि मध्याह्न १२ बजेपछि प्रस्तुत गर्नेछन् र त्यसको निचोडको आधारमा प्रतिवेदनलाई परिमार्जन गर्दै पास गरिनेछ । 

प्रतिवेदनको काम सकिएपछि अब अर्को महत्वपूर्ण विषयमा बन्दसत्र प्रवेश गर्छ । यसैपटकदेखि बहुपदीय अवधारणामा गएको माओवादी केन्द्रले १५ जना पदाधिकारी चयन गर्नुपर्नेछ भने केन्द्रीय समिति चयन गर्नुपर्नेछ । 

माओवादीको २९९ सदस्यीय केन्द्रीय समितिमा १५ प्रतिशत दलित, ३५ प्रतिशत महिला, ५ प्रतिशत मुस्लिम समुदाय, २० प्रतिशत ४० वर्ष मुनिका युवाहरु समावेश गर्ने भनिएको छ । त्यसको क्लस्टर अनुसार प्रतिनिधित्व हुने गरी अध्ययन गर्न देव गुरुङको नेतृत्वमा कार्यदल गठन गरिएको छ । 

माओवादीको शीर्ष नतृत्वले अन्य संसदवादी दलहरुजस्तो आफूहरुमा पदको भागबन्डा नहुने र त्यसका लागि नकुद्ने औपचारिक रुपमा बताउँदै आएका छन् । तर, आन्तरिक रुपमा भने पदाधिकारी र केन्द्रीय नेतृत्वमा पुग्न लबिङ गरिरहेका छन् । 

सबैभन्दा पेचिलो बन्दै महासचिव चयन



वामपन्थी पार्टीमा बहुपदीय प्रणाली हुँदा पनि महासचिवलाई शक्तिशाली मानिन्छ र आगामी समयका लागि पार्टी नेतृत्वको एक खालको उत्तराधिकारी । त्यसैले माओवादी केन्द्रमा अध्यक्ष प्रचण्डले कसलाई आफ्नो उत्तराधिकारी बनाउँछन् भन्ने विषय पनि महत्वपूर्ण रहेको छ । 

तीन दशकदेखि पार्टी नेतृत्वमा रहिरहेको भन्दै प्रचण्डको आलोचना भइरहँदा उनले अब पाँच वर्षपछि हुने महाधिवेशनमा फेरि दाबी नगर्न सक्ने सम्भावना पनि बलियो रहेको तर्क गरिएको छ । हुन त प्रचण्डले नै यसपछि आफूले नेतृत्व हस्तान्तरण गर्ने खालको अभिव्यक्ति दिइसकेकाले महासचिव को हुने भन्ने विषय नेता कार्यकर्तामाझ जति चासोको विषय बनेको छ त्यो भन्दा धरै पेचिलो प्रचण्डलाई रहेको छ । 



आफ्ना दुई खास सहयोगी र विश्वासपात्र जनार्दन शर्मा र वर्षमान पुनमध्ये कसलाई वा त्यसबाहेक पम्फा भुसाल वा अन्य कसैलाई भन्ने निर्णय प्रचण्डले गर्नुपर्ने भएको छ ।

दुवैलाई मिलाएर लैजाने चुनौतीको व्यवस्थापन प्रचण्डले कसरी गर्लान् भन्ने चासो व्याप्त रहँदा पुनले चीनबाटै प्रचण्डमाथि दबाब बढाएका छन् । उपचारका क्रममा रहेर महाधिवेशनमा सहभागी हुन नपाएका पुनले चीनका शक्तिशाली नेतालाई भेटेर प्रचण्डमाथि दबाब बढाएको कतिपयले अनुमान गरेका छन् । 

यता, जनार्दन प्रचण्डमाथि दबाब दिन सक्ने क्षमता राख्छन् । महासचिवमा कुरा मिलेन भने चुनावमै जानुपर्नेमा उनको जोड रहेको स्रोतको दाबी छ । 

प्रचण्डको चाहना हेटौँडा मोडल

तर, अध्यक्ष प्रचण्डले भने जारी महाधिवेशनबाट आफू अध्यक्ष र अन्य केन्द्रीय सदस्य मात्र चयन गर्ने तयारी गरेका छन् । 

पछि केन्द्रीय समितिबाट पोलिटब्युरो र स्थायी कमिटी र पदाधिकारी तोक्ने तयारी उनको छ । यसअघि हेटौँडामा सम्पन्न ७औँ महाधिवेशनमा पनि यस्तै गरिएको थियो । 

त्यसो गर्न सकिएको खण्डमा जनार्दनलाई मन्त्रीको जिम्मेवारी निरन्तर दिएर अन्यत्रै व्यवस्थापन गर्ने र पुनलाई महासचिवको जिम्मेवारी दिन सक्ने सम्भावना रहेको पुन पक्षका नेताहरुको तर्क छ । तर, जनार्दनलाई पनि टाढा पार्न प्रचण्डले चाहेका छैनन् । त्यसैले दुईमध्ये एक छान्नुभन्दा तेस्रो पक्षमा उनी जान सक्ने सम्भावना पनि बलियो रहेको माओवादीका एक स्थायी समिति सदस्यले बताए ।

  • प्रकाशित मिति : पुस १३, २०७८ मंगलबार २१:५७:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया