नेकपा माओवादी केन्द्रको जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज पनि जारी रहनेछ । माओवादीले समूह बनाएर वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गरिरहेको छ ।
अधिकांश समूहले छलफल सकाएका छन् । बाँकी समूहले आज दिउँसो १२ बजेभित्र छलफल सक्ने तयारी गरेका छन् । समूहगत छलफलका लागि १२ बजेसम्मको समय थप गरिएको थियो ।
मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामा दिनभर समूहगत छलफल भएको थियो ।
माओवादी केन्द्रका अनुसार समूहगत छलफल गरेका प्रतिनिधिले प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समर्थन जनाउँदै विभिन्न सुझाव राखेका छन् ।
आज अपरान्ह १ बजेदेखि महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।