प्रदेश २ का २० स्थानीय तहले चालू आर्थिक वर्षको बजेट पेस गरेनन्

धनुषाका ५ सहित प्रदेश २ का २० वटा स्थानीय तहले चालू आर्थिक वर्ष २०७८–७९ को बजेट हालसम्म पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तहमध्ये बागमतीका एक र प्रदेश २ का २० गरी कुल २१ वटा स्थानीय तहले बजेट पेस नगरेको जनाएको छ ।

प्रदेश २ मा १३६ स्थानीय तहमध्ये ११६ स्थानीय तहले मात्र बजेट पेस गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मन्त्रालयमा बजेट पेस नगर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका, हंसपुर नगरपालिका र धनौजी गाउँपालिका रहेका छन् । 

त्यस्तै, महोत्तरीको पिपरा गाउँपालिकाले समेत बजेट पेस गर्न सकेको छैन भने सर्लाहीको कौडेना गाउँपालिका र पर्सा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७८–७९ को बजेट ल्याएको छैनन् ।

उता, सप्तरीको छिन्नमस्ता गाउँपालिका, सिरहाको कल्याणपुर नगरपालिका, औरही गाउँपालिका, नरहा गाउँपालिका र रौतहटको गरुडा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, बौधीमाई नगरपालिका, वृन्दावन नगरपालिका तथा बाराको सिम्रौनगढ नगरपालिका र  विश्रामपुर गाउँपालिकाले हालसम्म बजेट पेस नगरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पर्साको पोखरिया नगरपालिका र धोबिनी गाउँपालिकालेसमेत हालसम्म बजेट पेस नगरेको जनाइएको छ । जनप्रतिनिधिबीचको आपसी विवादका कारण स्थानीय तहहरुले बजेट पेस गर्न नसकेको बताइएको छ । 

सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको बजेट समेत पेस गर्न सकेको छैन । 



प्रदेश नम्बर १ का १३७, बागमती प्रदेशका ११८, गण्डकी प्रदेशका ८५, लुम्बिनी प्रदेशका १०९, कर्णली प्रदेशका ७९ र सुदूरपश्चिम प्रदेशका ८८ लगायत देशभरका ७३२ स्थानीय तहहरुले चालू आर्थिक वर्ष २०७८–७९ को बजेट पेस गरिसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।



  • प्रकाशित मिति : पुस १४, २०७८ बुधबार १८:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया