कर्मचारी छनोट गरेर करार अवधि सकिने बेलासम्म आवेदकको सर्ट लिस्ट आएन

कैलालीको गोदावरी नगरपालिकाले गत साउनमा यही पुष मसान्तसम्ममा करार कर्मचारीका लागि सूचना प्रकाशन गर्‍याे ।  तर, नगरपालिकाले कर्मचारी छनोट गरी करार अवधि सकिने बेलासम्म सर्ट लिस्टमा समेत नाम प्रकाशित गर्न सकेको छैन । 

नगरपालिकाले ठूलो संख्यामा करारमा कर्मचारी आवश्यक परेको भन्दै सूचना प्रकाशित गरेको थियो । नगरपालिकाको लापरवाहीले गर्दा ६ महिनासम्म समेत आवेदकहरूले सर्ट लिस्ट हेर्न सकेका छैनन् ।

जिल्लाको घोडाघोडी नगरपालिका-५ का प्रेम चौधरीले गत साउनमा जागिर खाने आशमा सहायक कम्प्युटर अपरेटर पदका लागि आवेदन दिए । ४ सय रुपैयाँ तिरर आवेदन दिएका उनी पटकपटक सर्ट लिस्टमा नाम प्रकाशन भयो कि भनेर नगरपालिका धाइरहन्छन् । तर, निरास भएर घर फर्किन्छन् । 

‘३ पटकभन्दा बढी कार्यालयमा पुगे । पटकपटक फाेन गरेँ । तर, जवाफ आउनेजस्ताे भएको छैन’, उनले भने, ‘एक महिना भयो कार्यालयमा सम्पर्क नै गर्न छाडेँ ।’

अहिले उनी एक निजी संस्थामा जागिर गरिरहेका छन् ।

आवेदन दिएकाहरूको सर्ट लिस्टकै पर्खाइमा ६ महिना पुग्न लाग्यो । तर, पनि नगरपालिका वेवास्ता गर्दै आएको छ । सहायक कम्प्युटर अपरेटर पदमा आवेदन दिएका गोदावरी नगरपालिका-१ का लोग चयडाले आवेदन दिएपछि ४ पटक नगरपालिका गएको भए पनि छनोट प्रक्रिया नै नभएको सूचना ल्याएर घर फर्किए ।



‘कार्यालयमा बुझ्न जाँदा केही दिनमा हुन्छ । सम्पर्कमा बस्न मात्रै भन्छन् । जति पटक गए पनि प्रक्रिया अगाडि नबढेको नगरपालिकाका कर्मचारीले बताउँने गरेका छन्’, उनले भने, ‘कहिले कर्मचारी छनोट गरिन्छ । यस बारेमा कुनै जानकारी छैन ।’

नगरपालिकाले जारी गरेको सूचनाअनुसार आवेदकहरूमध्येबाट सुरुमा सर्ट लिस्ट निकाल्ने र त्यसपछि पद अनुसार प्रयोगात्मक परीक्षा र अन्तरवार्ता गर्ने जनाएको थियो । साउन १४ गते नगरपालिकाले ३५ जना कर्मचारी माग गरेको थियो ।



विज्ञापनका लागि नगरपालिकाले १५ दिन आवेदन दिने समय तोकेको थियो भने कर्मचारी छनोटका लागि नगरपालिकाले सुरुमा संक्षिप्त सूची (सर्ट लिस्ट) प्रकाशन गर्ने जनाएको थियो । उक्त पदका लागि १ हजार ३६९ जनाले आवेदन दिएका हुन् ।

नगरपालिकाले माग गरेकाे कर्मचारीको पहिलो करार अवधि पुस मसान्तसम्म कायम गरिएको थियो । नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले कार्यालय प्रमुख नहुँदा कर्मचारी छनोट प्रक्रिया अगाडि बढ्न नसकेको दावी गर्दै आएका छन् ।

उनले भने, ‘पुराना हाकिम जाने समय भएकाले उहाँले यस काममा हात हाल्न चाहनु भएन । कर्मचारी नियुक्तिमा धेरै प्रक्रिया पनि मिलाउन बाँकी थियो । अहिले नयाँ हाकिम आइसकेकाले कर्मचारी छनोटको काम अगाडि बढिसकेको छ ।’ 

उनले अब कर्मचारी छनोट गरिएपछि करार अवधि थपिने बताए । 

तत्कालीन समयमा कर्मचारी मागका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तकुमार खत्रीले विज्ञापन आह्वानको सूचना प्रकाशित गरेका थिए । 

कर्मचारी छनोटका लागि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीकै अनुमतिमा विज्ञापन आह्वान गरिएको खत्रीले बताए । पछि भने कर्मचारी छनोटको अनुमति नपाउँदा आफूले काम अगाडि बढाउन नसकेको उनकाे भनाइ छ ।

केही दिनअगाडि मात्रै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका खेमराज विष्टले भने कर्मचारी छनोट प्रक्रिया अगाडि बढिसकेकाे दावी गरे । आफू कार्यालय प्रमुख भएर आएपछि कर्मचारी छनोटको कामलाई प्राथमिकतामा राखेर अगाडि बढाएको उनकाे जिकिर छ । उनले केही दिनमै सर्ट लिस्ट प्रकाशित हुने बताए ।

नगरपालिकाले मागेका ३५ जना मध्ये ७ जना सहायक कम्युटर अपरेटरका लागि  ३९८ जना, कार्यालय सहयोगी ५ जनाका लागि ३१४ जना, १ जना फार्मेसी सहायकका लागि १५ जना, १ जना रिसेप्सनिस्टका लागि ८५ जना , ५ जना ल्याब असिस्टेन्टका लागि १६८ जना, ५ जना अहेबका लागि १९३ जना, ७ जना अनमीका लागि १५४ जना, १ जना भ्याकु लोडर सहचालकका लागि १३ जना र ३ जना स्विपरका लागि २९ जनाले आवेदन फाराम भरेका थिए ।

उक्त पदहरूका लागि २ सय देखि ५ सयसम्म आवेदन शुल्क तोकिएकाे थियो । नगरपालिकाले छनोट गरेका कर्मचारीलाई मालाखेती अस्पताल, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, नगरपालिका कार्यालय र वडा कार्यालयहरूमा खटाउने कर्मचारी माग गरिएको सूचनामा उल्लेख गरेको छ । 

  • प्रकाशित मिति : पुस १५, २०७८ बिहीबार १२:४९:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया